प्रभातफेरी अनलाइन४९५ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण २२, मंगलबार(१ साल अघि)
मोहन दुवाल, वरिष्ठ साहित्यकार
काठमाडौंबाट नजिक भएर पनि टोखामा पुग्न नपाएको म । चपलीको गणेश नि.मा.वि.मा केही समय शिक्षक भई सेवा गर्दा पनि टोखामा पुग्ने चाँजोपाँजो मिलाउन सकिएन । नेवारहरुको पुरानो वस्ती टोखा चाकुको लागि पनि प्रख्यात ठाउँको रुपमा चिनिन्छ । सरस्वती र चण्डेश्वरीको नाममा छुट्टाछट्टै भूगोलमा विभाजित रहेको टोखाले संयुक्त भएर मेरो अभिनन्दन गर्ने चाहना गरेको खबर प्राप्त भएको हो । प्रभात सापकोटा, सजीव श्रेष्ठ, हरिदास श्रेष्ठ र सरस्वती गा.वि.स.का अध्यक्ष बाबुलाल डंगोल र चण्डेश्वरी गा.वि.स.का अध्यक्ष काशीनारायण श्रेष्ठले कार्यक्रमका लागि सदासयता र सकृयता देखाएको देखिन्छ । २०५६ चैत १९ गते टोखामा मेरो अभिनन्दन भएको हो । त्यस दिन काठमाडौंबाट पनि थुप्रै आदरयोग्य मित्र साहित्यकारहरु डा. मोहनहिमाशु थापा, भवानी घिमिरे, कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाईं, अर्जुन पराजुली, तेजप्रकाश श्रेष्ठ, अमरकुमार प्रधान, रामप्रसाद ज्ञवाली, डा. ओमवीरसिंह बस्न्यात, कन्हैया नासननि, रामेश्वर राउत मातृदास र भारती श्रेष्ठलगायतका साहित्यकारहरु टोखा पुग्नुभएको थियो । राष्ट्रिय सभागृह अगाडिबाट एउटा मिनीबसमा साहित्यिक मित्रहरु टोखा पुग्नुभएको सम्झना आजपर्यन्त आइरहन्छ ।

जनस्तरबाट पहिलोचोटी टोखामा सम्मान भएको बिर्सिपठाउन गाह्रो छ । अझ भनौं, टोखाले २०५६ सालमा नै सकृय साहित्यकारका रुपमा मलाई अनुमोदन गरिदिएको हो। त्यसबेला म गदगद् भएको थिएँ । सगुनको थाली बोकेर लस्करै उभिएका टोखावासीहरुका साथ पञ्चकन्यासँग टोखा नै उर्लिरहेकोजस्तो लाग्थ्यो त्यसताका । रातो किनारायुक्त कालो साडी, घरबुना चोली, ढाकाका खास्टोमा सजिएका कन्याहरुले प्रदान गरिदिएको सगुन र फूलको मालाबाट सजित थिएँ म । बेहुलाझैं म अघिअघि; जन्तीझैं साहित्यकारहरुको भीड पछिपछि लगाएर टोखा घुम्दाका क्षण बताइसाध्य छैन । आज मेरो अभिनन्दन गर्ने भनेको थियो टोखाले । त्यसैले भारतीसँग आज टोखा पुग्न पाएका छौं । एक चक्कर टोखा घुमाइदियो । हामी सबै रमाउँदै घुम्यौं । सरस्वती मा.वि.को प्राङ्गणमा मेचहरु सजाइएका छन् । काठमाडौंबाट टोखा पुगेका साहित्यकारहरु मेरो सम्मानमा टोखा सकृय भएर लागेको देखेर दङ्ग छन् ।

कार्यक्रमका संयोजक रहनुभएको थियो शिक्षक तथा साहित्यकार प्रभात सापकोटा । राजधानीभित्रकै एउटा वस्ती टोखाले आज मेरो सम्मानमा टोखालाई लामवद्ध गरेर उता¥यो । काभ्रेली सेवा समाज, अठोट प्रकाशन, सुनकोसी साहित्य प्रतिष्ठान र जनमतलगायत अन्य थुप्रै सङ्घ–संस्थामा सकृय रहेर साहित्यसाधना, सिर्जना र प्रकाशन गरेर अभियान चलाइराखेको कारणले मेरो अभिनन्दन गरेको उद्घोष टोखाले सुनाएका थिए । धन्य हो ! आज मलाई बोलाएर सम्मान गर्ने चाँजोपाँजो मिलाइदिएकोमा म नतमस्तक भएको थिएँ त्यस क्षण । प्राचीन नगरी टोखा दुई भागमा विभाजित रहेछ – टोखा सरस्वती गा.वि.स. र टोखा चण्डेश्वरी गा.वि.स.मा प्रशासनिक विभाजन भएको देखिए पनि धर्मसंस्कृति, रहनसहन, बोलीवचन र अवस्थामा एकैखालको स्वर दिएर आजको ऐतिहासिक अभिनन्दनमा उनीहरुले आफ्नो एकताको स्वर सुनाएको देखिन्छ । भौगोलिक, प्रशासनिक, राजनीतिक कारणले दुई छुट्टिएकोजस्तो देखाइएपनि भूगोलभित्र चिन्तन र भावना एउटै भएजस्तो देखाएर मेरो जनअभिनन्दन गरे टोखाले ।
करिव २००० वर्षभन्दा अघिको पुरानो इतिहास बोकेको टोखाले आफ्नो संस्कृति र संस्कार जोगाइराख्न अरुको सम्मान गर्न सिक्दा आफ्नै सम्मान पो हुँदोरहेछ भन्ने ज्ञान बाँड्न खोज्यो । साहित्यमा मैले पु¥याएको योगदान, मैले गरिरहेको सङ्घर्ष र मेरो समग्र सिर्जनालाई मन पराएर सरस्वतीका वरद् पुत्रका रुपमा टोखाले मेरो अनुमोदन गरे र मेरो सम्मानमा मन खन्याइदियो । उनीहरुको मनभित्रको मायाले मलाई रङ्ग्याइदियो । टोखा साहित्यिक समाज र टोखाका भद्रजन मिलेर मेरो सङ्घर्ष, सिर्जना र अभियानलाई मन पराएर मलाई अभिनन्दन ग¥यो । जुन घटना मेरो जीवनको अविस्मरणीय क्षण बन्यो । मोतीलाल श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा सजीव श्रेष्ठ, प्रभात सापकोटा, रमेश डंगोल र हरिदास श्रेष्ठहरुले मप्रति सदासयता पोख्नुभएर मेरो यात्रामा आत्मियता देखाउनुभयो ।

कार्यक्रममा प्रा.डा. मोहन हिंमाशु थापाले दोसल्ला ओडाइदिए, कृष्णप्रसाद पराजुलीले प्रमाणपत्र थम्याइदियो र वरिष्ठ साहित्यिक पत्रकार भवानी घिमिरेले रातो टिका लगाइदिए । उपस्थित साहित्यकारले आ–आफ्नो ढङ्गले मप्रति सद्भावना पोखे । कसैले साहित्यिक पत्रकारिताका संवाहक भने, कसैले मोतीरामको संज्ञा दिए, टुक्रा–टुक्रा कविता बनाएर रोचकढङ्गले मप्रति शुभेच्छा प्रकट गरे रमेश खकुरेलले । पहिलोचोटी जनस्तरबाट भएको अभिनन्दन देख्न र भोग्न पायौं । आफ्नै सीप साहित्यिक सिर्जना बोकेर राष्ट्रमा हिंडिरहने साहित्यिक यात्रीका रुपमा मलाई टोखाले अभिनन्दन कार्यक्रम राखेर झन् मलाई बल थपिदियो । तीनघण्टासम्म भएको साहित्यिक कार्यक्रम मेरो निम्ति पट्यार लागेन । सरस्वती मा.वि.का छात्राहरुले गाएका गीतहरुले आनन्द दिन सफल रह्यो । त्यसैगरि काठमाडौंबाट टोखा पुग्नुभएका साहित्यकारहरुले कविता वाचन गरेर त्यसदिन सबैमा आनन्द वितरण गरे ।
संयोजक प्रभात सापकोटाले मेरो साहित्यिक यात्रा, सिर्जना र मैले पु¥याइरहेको सामाजिक जागरणका कुराहरु सर्सती राख्नुभयो । टोखाले किन मोहन दुवालकै अभिनन्दन गर्ने जाँगर चलायो, सो सन्दर्भमा विस्तृत चर्चा गर्नुभयो । कार्यक्रममा टोखा अपहेलित र तिरस्कृत रहेको गुनासो सुनाए । कसै–कसैले टोखाको इतिहास आफूले जानेअनुसारको बताए । उखुको खेती हुने ठाउँ भएकैले यहाँ चाकुको व्यापार हुने चाकुको नगरको रुपमा परिभाषित गरे । नेवारी बोलीमा ‘टु’ को अर्थ उखु र ‘ख्यः’ को अर्थ चौर हो । पहिले यस ठाउँमा उखुको खेती राम्रो हुने भएको टुख्यः (उखुको चौर) नाम भएको रहेछ भनी टोखालाई इतिहासमा बताए ।
आँखाभरि टोखा राखेर, मनमा टोखाले गरेको गौरवको कार्य सम्झेर साहित्यकार थुप्रै मित्रहरुको रोहवरमा अभिनन्दन हुन पाउनु निकै महत्वपूर्ण कार्य हो भनेर मनलाई प्रफुल्लित बनाइयो । सरस्वती विद्यालयको प्राङ्गणमा भएको उक्त अभिनन्दन कार्यक्रममा मैले पनि कविता वाचन गरेर संक्षिप्तमा मन्तव्य प्रकट गरेको त्यस कार्यक्रमको सम्झना आइरहन्छ । मैले कार्यक्रममा आफ्नो संक्षिप्त विचार राखेको जुन यस्तै थियो – “टोखाले मेरो साहित्यिक सिर्जना, गतिविधि र जनमत मासिकको प्रकाशनलगायत मेरा सिर्जनशील कार्यका लागि साथ दिंदै मलाई अभिनन्दन गरेकोमा आफू कृतघ्न भई अभिवादन भनिरहेछु । साहित्य मन प¥यो त्यसैले जीवनलाई साहित्यमय बनाउने प्रयत्न गरिरहेछु । मेरो प्रयत्न र यात्रालाई टोखाले साथ दिनुभई साहस भरिदिएकोले टोखालाई मेरो मनभरिको सलाम टक्र्याइरहेछु ।” मेरो मन्तव्य र स्थानीय साहित्यसेवीहरुको धन्यवादपछि कार्यक्रम समाप्त भयो । चियापानसँगै साथीभाइहरुसँग मलाकुसारी सिध्याएर काठमाडौंबाट टोखा पुगेका मित्रहरुसँग मिनीबसमा भरिएर हामी सबै टोखाबाट फक्र्यौं ।
००
मनमा टोखाको माया नाचिरहने भो । टोखामा साट्न पाएको माया भावमय थियो, गरिमामय थियो । प्राचीन नगरी टोखा ओझेलमा परेकोजस्तो देखिंदा चित्त काडियो । टोखाले आफूमाथि दृष्टि नपरेको चित्त दुखाएर बोल्दा हाम्रो मनलाई रुवायो । एक्काइसौं सताव्दीको मिर्मिरेमा पनि अठारौ सताव्दीभन्दा अघि बाँचेजस्तो छ टोखा । कसैले वास्ता नगरेकोले विकास नछिरेको टोखाजस्तो पो देखियो । त्यसक्षण हामीले अनुभूत ग¥यौं । त्यहाँ पुग्ने सबै साहित्यकारहरुले आ–आफ्नै प्रतिकृया दिंदै टोखा हेरेर मन दुखाए ।
टोखासँग विदाइका हात हल्लायौं । करिव चारघण्टाजति टोखामा घुमेर, कार्यक्रममा रमाएर बितायौं । झल्को पनि लागेन, पट्यार पनि लागेन । टोखाले साहित्य मात्र नभई साहित्यलाई फिँजाउँदै हिंड्ने स्रष्टाका रुपमा मेरो अभिनन्दन गरेर साहित्यकारलाई पनि मन पराइदियो । टोखाको अभिनन्दन मेरो लागि अविस्मरणीय रहिरहने भो । टोखाले मप्रति देखाएको जाँगरका लागि अभिवादन ।
यसै सन्दर्भमा मेरो अभिनन्दन टोखामा भएको परिदृष्य हेरेर आ–आफ्नो अनुभूति पत्र–पत्रिकामा पोखेको देखिन्छ । त्यसमध्ये साहित्यकार तेजप्रकाश श्रेष्ठले मेरो अभिनन्दनलाई सन्दर्र्भमा राखेर दिलैदेखि मनका अनुभूति पोखेर गोरखापत्र दैनिकको २०५७ वैशाख ३१ लेख्नुभएको थियो – “दुवालजी रातो टिका र पुष्पहारबाट शुशोभित भए बेहुलो पर्सिएझैं, हामी जन्ती हौं दुवालजीका, आजका साहित्यिक बेहुला हुन् मोहन दुवाल । अभिनन्दन ! मोहन दुवाल टोखा स्वागत गर्छ मन फुलाएर सरस्वतीका वरद्पुत्र मोहन दुवालको अभिनन्दन सरस्वती मा.वि.को फराकिलो आंगनमा । हामी हाँकिन्छौ पञ्चकन्याबाट नगर परिक्रमामा ।” यसैगरी साहित्यकार रामेश्वर राउत मातृदासले खबरकागज साप्ताहिकमा उनले लेखेअनुसार प्रमुख अतिथिको आसनबाट बोल्दै स्रष्टा, वक्ता र कुशल संगठक कवि दुवालले आफूमात्र होइन अरुलाई समेत साहित्यमा लगाएर समाजको सेवा गर्न ठूलो प्रेरणा दिनुभएको कुरा डा. मोहन हिमांशु थापाले बताउनुभयो । र उपयुक्त पात्रलाई छानेर सम्मानित गरिएकोमा आफूलाई खुसी लागेको कुरा उहाँले भन्नुभयो । उक्त कार्यक्रममा कवि एवं समालोचक रामप्रसाद ज्ञवालीले “कवि मोहन दुवालले धेरै अप्रकाशित युवाहरुलाई अगाडि ल्याउन सघाउनु भएको बताउनुभयो । यहाँसम्म मलाई पुग्न पनि कवि दुवालको भूमिका रहेको छ” भन्नुभयो । साहित्यकार हेमराज अधिकारीले कार्यक्रमको औचित्यताको प्रशंसा गर्दै टोखाबाट प्रकाशित सरस्वती स्मारिकामा यसरी आफ्नो विचार लेख्नुभएको थियो – “…मोहन दुवालले संस्थाकै काम गरेका छन् । …साहित्यिक क्षेत्रमा राज्यले गर्न नसकेको उनी गर्दैछन् ।”
०००