काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खबरदारी सभालाई सम्बोधन गर्दै यो गठबन्धन सरकारलाई धन्यवाद दिनुपर्छ । जसले माओवादीलाई जनताका माझ जान प्रेरित गरेको बताउनुभएको छ ।
एमाले–कांग्रेसको गठबन्धन सरकारले माओवादीलाई जनताका माझ फर्काउने काम गरेकोमा धन्यवाद दिँदै भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्नेसँग सहकार्य गर्नु छैन । ढुक्क भएर सरकार चलाए हुन्छ । जनताका मागहरुलाई सम्बोधन नगरेमा सदन, सडकबाट खबरदारी मात्र गर्दैनौं समयले माग गरेअनुसार घिसारेर सडकमा पछार्न पनि पछि नपर्ने उद्घोष गर्दै सत्ताको लालचमा माओवादी नभएको जिकिर गर्नुभएको छ ।
सत्तामा अल्मलिँदा जनताका अपेक्षाहरु कुण्ठित हुन पुगेकोतर्फ इंकित गर्दै अध्यक्ष प्रचण्डको थप कथन थियो– राज्य सत्ता जोगाउनका लागि गलत नियत राखेर आफ्नालाई काखा र विपक्षीलाई पाखा पार्ने गतिविधि भएका छन् । यो गतिविधि रोकिएन भने विपक्षी चुप लागेर नबस्ने चेतावनी दिँदै यो सरकार आफै कुहिएर झर्ने समेत सम्बोधनका क्रममा बताउनुभएको छ ।
माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा शनिबार आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यो गठबन्धन सरकारको भ्रष्ट गतिविधिमाथि खबरदारी नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ । संविधान र गणतन्त्रको रक्षाका लागि खबरदारीमा जान आवश्यक रहेको उल्लेख गर्दै सडकबाट सरकार फाल्न नलागेको पनि टिप्पणी अध्यक्ष प्रचण्डले गर्नुभएको छ । उहाँले कांग्रेस र एमालेसँग समीकरण गरेर माओवादीले गल्ती गरेको महसुस गर्दै अब सत्ताका लागि मन्त्री प्रधानमन्त्री बनाइदिनुस् भनेर नआउने बताउनुभएको छ । भ्रष्ट पार्टी र तिनका नेताको सङ्गतले माओवादी बिग्रँदै गएकोले सच्चिएर अघि बढ्ने बताउँदै सत्ता पक्षलाई ढुक्कले सरकार चलाउन आग्रह समेत अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा गर्नुभएको छ ।
आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उहाँले आफूलाई सच्याउन सत्ता पक्षलाई आग्रह गर्नुभएको छ । नत्र संसद् र सडकमा तपाईँहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना पनि गर्नुभएको छैन, अध्यक्ष प्रचण्डले भन्नुभयो । सम्बोधनकै क्रममा ‘बाढी पहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउन र सरकारी स्वामितवमा रहेका उद्योगहरुलाई निजीकरण गर्न उदृत रहेको देखिन्छ, यो हर्कत सरकारका लागि महँगो पर्ने छ ।’
अध्यक्ष ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुगे भनेर सरकारलाई प्रश्न गर्नुभयो । उहाँले नक्कली भुटानी शरणार्थी, बाँसबारी छाला जुत्ता कारखाना, गिरिबन्धु टि स्टेट, बाल मन्दिरले भोगचलन गरेको लैनचौर जग्गा लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो भन्नुभयो । उहाँले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सैह्य नहुने बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने जिकिर पनि गर्नुहुँदै उहाँले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड भएको बताउनुभएको छ ।
अहिले देशका दलाल, भ्रष्ट र बिचौलियाहरूलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठुलो त्रासको रूपमा देखिन थालेको र जनतालाई फेरि एक पटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको हक अधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याएकोमा आपत्ति प्रकट गर्दै अध्यक्ष प्रचण्डले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्राहीको उपज भएको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासन र समृद्धिलाई तीव्रता दिएको बताउनुभएको छ । हामी दावाका साथ भन्न सक्छौँ यो देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि कुनै सरकारले नगरेको काम माओवादी सरकारले ग¥यो । भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा ल्यायो । त्यतिखेर भनियो, यो प्रधानमन्त्री र गृहमन्त्री रहँदासम्म सुत्न नपाइने भो, नीद हराम भो भनियो । भ्रष्टाचारीहरू, ठगहरू, राज्य लुट्नेहरू त्यसो भन्थे उपाध्यक्ष श्रेष्ठले सम्बोधनका क्रममा प्रष्ट्याउनुभएको छ ।
प्रधानमन्त्री बनेका बेला प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायलाई अघि बढाएको बताउँदै भ्रष्टाचारविरुद्ध, राज्यलाई लुट्नेहरू, ठगीका विरुद्ध ठुलो अभियान सुरु गरेको उहाँले बताउनुभएको छ । माओवादी सरकारले लोडसेडिङले आक्रान्त बनाएको अवस्थामा त्यसको अन्त्य गर्न, मिटरब्याजीहरू विरुद्ध कानुन बनाएर पाँच छ हजार पीडितलाई मुक्त गराउन भूमिका खेलेको उल्लेख गर्दै नेता श्रेष्ठले भ्रष्टाचारीहरूलाई जोगाउन, भ्रष्टाचार गर्नका लागि माओवादी नेतृत्वको सरकार ढालेर अहिलेको सरकार बनेको जिकिर गर्नुभएको छ ।
कार्यक्रम नेकपा माओवादी केन्द्र बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाको सभापतित्वमा भएको थियो । सभा शुरु हुनुअघि काठमाडौंको विभिन्न स्थानबाट हजारौं–हजारको ¥याली कार्यक्रम स्थलमा पुगेको थियो । कार्यक्रममा विभिन्न मोर्चाका प्रतिनिधिहरुले अहिलेको सरकारले जनताविरुद्ध गरेका गतिविधिको सम्बोधनका क्रममा पर्दाफास गरेका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |