logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

“प्रियतम”

प्रभातफेरी अनलाइन२३३ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ४, मंगलबार(१ साल अघि)
“प्रियतम”

कवि रोशन परियार “धनकुटा”

मेरो चुल्होमा आगो बल्नुको मुख्य कारण
तिमी जल्नु हौ

मेरो नाङ्गो ढाकिनुको कारण पनि
तिम्रो रहर च्यातिनाले हो

नडग्मगाएर पाइला
म स्वतन्त्र हिँड्न सक्नु पनि
तिमीले दह्रो खुट्टा टेकिदिनाले हो

मेरो सबैभन्दा महङ्गो गहना भन्नु नै
तिम्रो इमान्दारिता हो प्रियतम

मेरो बोलीमा अरुले सहमती जनाइदिनु पनि
तिम्रो सहनशीलताले हो

मैले आफैँलाई सुरक्षित ठान्नुको एउटै कारण
तिम्रो बलियो उपस्थितिले हो

म लड्दा
मलाई साहरा दिनेहरूको घुँइचो लाग्नु
तिम्रो सहयोगीपनले हो

हात फैलाएर कतै केही मागेँ भने
अञ्जुली भरिने गरी पाउनुको मुख्य कारण
तिम्रो उदारताले हो भन्न मलाई कुनै असहज हुँदैन

मलाई कसैले केही कुराको आरोप लाउन नसक्नुको
बलियो आधार
तिम्रो विश्वासको प्रत्याभूतिले हो प्रियतम

मेरो खुशीको उत्पत्ति स्थल
तिम्रो उच्च चेतनाको गर्भ हो

ममाथि गिद्धे नजर नपर्नुको मुख्य कारण
तिमीले गिद्धहरूलाई पनि प्रेम सिकाइदिनाले हो

मैले पाउने इज्जतको प्रमुख श्रेय
तिम्रो प्रेमिल व्यवहारलाई दिन सक्छु
म कसैको आँखामा नबिझाउनुको कारण पनि
तिम्रो शालिन दृष्टिकोणले गर्दा हो भन्न सक्छु

म उठ्नुको एउटै कारण
तिमी झुकिदिनाले हो।
मेरो नाम पहिले आउनुको एउटै कारण
तिमीले आफ्नो नाम पछि राखिदिनाले हो

म तिम्रो हुनुको कारण, तिमी हौ प्रियतम
तिमी मेरो हुनुको कारण, तिमी हौ प्रियतम