प्रल्हाद शर्मा हुमागाईं
नेपालमा चलेको जनयुद्ध दिवस विश्व मानचित्रमै नमूनाको रुपमा स्थापित मात्र भएन कि विश्वका लागि एउटा प्रयोगशालाको रुपमा स्थापित भएको तथ्य नेपाली सामु छ । कम्युनिष्ट सिद्धान्त बोकेका कुनै पनि परिवर्तनगामी शक्तिका लागि जनयुद्ध एउटा संग्रहालय पनि हो । यस्तो संग्रहालयका बारे भावी पुस्ताहरुले अध्ययन गर्न चाहन्छन् भने उनीहरुका लागि खुल्ला गरिनुपर्छ । तथापि, जनयुद्धका क्रममा अप्रिय घटना घटे होलान्, विध्वंशपछि विकासको नमूना देख्न पाइन्छ, जुन नेपालमा बामे सर्दै गरेको अवस्थामा छ । यस्तो दिनलाई राष्ट्रिय पर्वका रुपमा लिँदा के फरक पर्छ ? हामीभित्र भएको संकीर्णता नफालेसम्म नयाँ पुस्ताले के सिक्ने ? यावत् अनुत्तरित प्रश्नहरुको जवाफ खोज्न जरुरी छ ।
आज प्रत्येक युवाहरु यो मुलुक छोड्नुको विकल्प खोजिरहेका छन् । त्यसका पछाडि जनयुद्धलाई दोष लगाएर उम्किन खोज्ने पुरातनवादी नेतृत्वबाट हामीले धेरै अपेक्षा राख्नु मुर्खता हुन्छ । यदि जनयुद्धका सकारात्मक पक्षहरुका बारेमा युवापंक्तिलाई सुसूचित गराउन सकेको भए मुलुकले आज यो परिस्थिति झेल्नुपर्ने थिएन । यो परिस्थितिमा जनयुद्धप्रतिको अपमान सीमित सामन्ती सोच भएका बाहेक अन्यलाई पाच्य हुने कुरै भएन । त्यसैले जनयुद्ध दिवस र विश्व कम्युनिष्ट आन्दोलनका बारेमा बहस चल्नु आवश्यक छ ।
विश्वका सर्वहाराहरुले गरिब किसान तथा उत्पीडित वर्ग समूदायसँग मिलेर सामन्ती पूँजीवादका विरुद्द बल प्रयोगमा आधारित वर्गसंघर्षबाट आफ्नो आजादी प्राप्त गर्न सक्छन् भन्ने माक्र्सवादको निचोड हो । पूँजीवादीहरु उत्पीडित वर्ग समूदायका मान्छेहरुलाइ कजाएर आफ्नो स्वर्गको राज्य सधैं चलाइराख्न चाहान्छन् ।
त्यसैले उनीहरु सर्वहारा र शोषित वर्गको हातमा सजिलै अधिकार दिन किमार्थ तयार हुँदैनन् । त्यसैले शोषित वर्गले सम्झौताहीन संघर्षबाट मात्र आफ्ना अधिकार प्राप्त गर्न सक्छन् ।
यसै सिद्धान्तमा टेकेर माक्र्सले पेरिस कम्युनको स्थापना गरे र थोरै समयका लागि मजदुर वर्गको हातमा अधिकार लिन सफल भए । भलै त्यसलाइ दीर्घकालीन रुपमा टिकाइराख्नमा भएका कमजोरी या तयारीको समीक्षा गरियो । माक्र्सवाद एक अकाट्य विज्ञान हो । तर राज्य व्यवस्था परिवर्तन या अधिकार प्राप्तिको सिद्दान्त जड हुँदैन भनिएको छ । अथवा देशकाल र परिस्थितिअनुसार क्रान्तिको नियम परिवर्तनशील हुन्छ ।
यसैमा टेकेर रुसमा लेनिनले मजदूर विद्रोहबाट जारशाहीलाइ परास्त गरे र समाजवादको दरिलो र भरिलो जग बसाले । यसले विश्व पूँजीवादको सातो गयो भने विश्व सर्वहारा र शोषित वर्गको मनोवल उच्च भयो । यसको प्रभाव विश्वभरी पर्ने क्रममा चीनमा माओले माक्र्सवाद र लेनिनवादलाई विकास गर्दै अर्ध औपनिवेशिक र अर्ध सामन्ती राज्यमा ग्रामीण किसान वर्गलाइ संगठित गरी गाउँबाट शहर घेर्ने सशस्त्र छापामार युद्ध रणनीतिमा आधारित वर्गसंघर्षबाट अधिकार या राज्य सत्ता प्राप्त गर्न सकिने सिद्धान्त प्रतिपादन गरे र आफ्नै जीवनकालमा सफलतापूर्वक लागू गरे ।
यसको प्रभाव छिमेकी भारत, फिलिपिन्स लगायत हाम्रो देश नेपालमा पनि पर्यो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । माक्र्सवाद परिवर्तनशिल छ भन्ने सिद्दान्तलाई आफूअनुकूल ब्याख्या गर्दै विभिन्न गुट उपगुटमा विभाजन हुने रोग नेपाली कम्युनिष्ट आन्दोलनको सुरुवातीको दुर्भाग्य भयो । एकले अर्कालाई आरोपित गर्ने र आफूलाईमात्र खाँटी कम्युनिष्ट भन्ने कम्युनिष्ट प्रवृत्ति बन्यो । जसले गर्दा अहिलेसम्म पनि सबै कम्युनिष्ट एक हुन नसकिरहेको अवस्था छ । यदी टुटफुट हुन्थेन भने नेपालमा कम्युनिष्ट राजनीति प्रतिको जनआकर्षण हेर्दा धेरै पहिले कम्युनिष्ट व्यवस्था प्राप्त हुन सक्ने सम्भावना बलियो थियो ।
यसै क्रममा २०२८ सालमा तत्कालीन नेकपा मालेले नेपालको पूर्वीभागबाट सशस्त्र विद्रोहको सुरुवात गर्यो । तर त्यतिबेला अन्य गुटले ‘अपरिपक्व निर्णय’ भनेर उसलाई आरोपित गरे । त्यतिबेला सशस्त्र विद्रोहको विपक्षमा त कुनै समूह थिएनन् तर समय परिस्थिति नबनेको भनेर उन्मुक्ति लिए ।
खासमा २०२८ सालमा नै सबै कम्युनिष्टहरु एकजुट भएर गरेको भए अहिलेसम्म परिस्थिति धेरै अघि पुगिसक्थ्यो । सानो समूहले सुरु गरेको भएर सामन्तवादी सत्ताले त्यसलाई सिध्यादिन सजिलो मान्यो र महान शहिदहरु रत्न बान्तवा, कृष्ण कुइकेल धिरेन राजबंशी लगायतका कयौं होनहार युवाहरुलाई हत्या गरिदियो ।
सुराकी सहयोगमा केपी ओली लगायतका कयौंं नेतालाइ हिरासतमा लिइयो । र, अन्त्यमा त्यो विद्रोह सिद्दिए जस्तै त भयो तर भित्रभित्र सहिदको रगत उम्लिरह्यो । फलस्वरुप २०४६ सालको जनआन्दोलनमा तत्कालिन वाममोर्चा सबभन्दा ठूलो कम्युनिष्ट पार्टी देखियो । ०४८ सालमा बिभिन्न समूहको एकताबाट नेकपा एमाले बन्यो । तर त्यसले माक्र्सवादको सिर्जनशीलता भन्दै राजासहितको संसदीय व्यवस्थाबाटै राज्य सत्ता प्राप्त गर्न सकिने तर्क अघि सार्यो । जो त्यतिबेलाको नेकपा एकताकेन्द्रपछिको माओवादीले अस्वीकार गर्यो ।
माओवादीले नेपालजस्तो अर्धसामान्ती र अर्धऔपनिवेशिक मुलुकमा चीनमा जस्तै माओको मोडेलमा क्रान्ति गन सकिन्छ भन्दै जनयुद्दमा जाने निर्णय गर्यो ।
त्यसबेलासम्म पनि मोहनबिक्रम सिंहको नेकपा मसाल परिस्थिति नभएको तर्क गर्दैथियो र उसले एमालेले अबलम्बन गरेको संसदीय व्यवस्थाबाटै सुधार गर्ने कार्यनिति पनि ठिक छैन भन्थ्यो । जनयुद्द सुरु गर्न पनि समय नभएको तर्क गथ्र्यो । यहाँ भन्न खोजेको के भने त्यसबेला पनि धेरै समूहमा विभाजित कम्युनिष्ट आन्दोलनको ब्याख्या सबैले आ–आफ्नै अनुकूलतामा गरे र एक हुन सकेनन् । जसले गर्दा न संसदिय व्यवस्थावालाले वर्चश्व बनाउन सके न सशस्त्र संघर्षवाला अथवा जनयुद्दवालाले सत्ता हत्याउन सके ।
यसरी टुटफुट र गुटको दलदलबाट अघि बढेको कम्युनिष्ट राजनीतिमा थोरै संख्याले पनि साहस साहसका साथ झापा विद्रोह तथा त्यसपछि योजना बद्द तरिकाले सुरु गरि राज्यको अधिकांश भूगोल र प्रशासन समेत कब्जा गर्न सफल भएको जनयुद्द बहुचर्चित र स्थापित रहे ।
अहिले आएर देशकै दुई ठूला कम्युनिष्ट पार्टीहरु तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रलाई देशकाल र परिस्थितिले एकताबद्द हुन प्रेरित गर्यो ।
वस्तुस्थितिको सही मुल्यांकन गर्दै नेताहरुले अवसर र चुनौतीका बीचबाट एकताको प्रारम्भ गरेर टुटफुट र गुटको राजनीतिबाट आजित तर कम्युनिष्ट राज्यव्यवस्था प्रेमी नेपाली जनताले एकतालाई दिलैदेखि अनुमोदन गरे र आम चुनानमा अत्यधिक मतले विजयी बनाए ।
यसक्रममा कसका कति कमजोरी रहे या सवल पक्ष रहे त्यो निस्वार्थ सर्वहारावादी दृष्टिबाट समालोचना गरिनु आवश्यक हुन्छ । तर जब हामी एकतालाई अपरिहार्य ठान्छौँ तब एक अर्काका कमजोर पक्षलाई बिर्सिन्छौ । सबल र असल पक्षलाइ आत्मसाथ गर्छौं । यो एकता प्रक्रियाको आमनियम नै हो । यदि त्यसो गर्न सकिएन भने एकता प्रक्रियाले भावनात्मक रुपमा पूर्णता पाउन सक्दैन ।
यहाँ चर्चा खोजेको सन्दर्भ केहो भने नेकपाले जनयुद्द दिवस मनाउने विषयमा हो । जब एकताको कुरा उठ्यो तब माओबादी पक्षका आम समर्थकदेखि नेतासम्मलाई जनयुद्ध, त्यसका सहिद र उपलब्धी के हुन्छ भन्ने थियो । जसलाइ पूर्ण निर्णय नगरी विस्वासका बलमा नेतृत्वले पेलेर लग्यो । कतिपय नेता कार्यकर्ता एकता प्रक्रियामा सहभागी पनि भएनन् । यदि सुरुमै जनयुद्धका कतिपय कमजोरीको समीक्षा गर्दै ०६२–०६३ को जनआन्दोलनको आधार जनयुद्द थियो र त्यसको उपलब्धिलाई नेकपाले आत्मसाथ गर्ने छ र सहिद, घाइते अपाङ्ग नेकपाका साझा हुने छन् भनेर दस्तावेजमा लेखिदिएको भए थप अरु माओवादी सायद वैद्य समूह पनि एकतामा आउने सम्भावना बलियो थियो । अहिले दुइतिहाईका लागि उपेन्द्र यादवको सहायता लिन पर्ने थिएन ।
हामीले एकता गरेर पदीए स्वार्थ मात्र हेर्ने, एकपटक सरकार बनाउने बाँडीचुँडी खाने र अर्को पटक देखाजाइगा भन्ने खालले काम गरियो भने न त यो एकता दीर्घकालीन हुन्छ न त देशविकास र समृद्धिमा जान्छ ।
हुन त के पर्छ भने निस्वार्थ भावले पार्टीलाइ एकताबद्ध गर्ने, सरकारमा हुनेहरुले सरकारलाई पूर्ण रुपमा जनमुखी बनाउने, विकास र समृद्धिलाई छिटो उठाउने, पार्टी संचालकहरुले जनतालाई कम्युनिष्ट बनाउने, कार्यकर्तालाइ निस्वार्थ क्रान्तिकारी बनाउने र पार्टीलाई सशक्त बनाउने तिर लाग्नुपर्छ ।
यदि यसो गरिएन भने अर्को चुनावमा काँग्रेस–कम्युनिष्ट बराबरी, सायद फेरि पनि सबैको अल्पमत र अस्थायी सरकार बन्ने अवस्था नआउला भन्न सकिन्न ।
त्यसैले सबभन्दा पहिले पार्टीलाई भावनात्मक रुपमा एकीकृत गर्नु मुख्य काम हो । त्यसो गर्न हिजोको कहाँ थियो, कसले के गर्यो भन्नु भन्दा पनि हिजोका एक पक्षले आत्मसाथ गरेका कुराहरुलाई सकरात्मक दृष्टिकोणले हेर्ने र साझा रुपमा ग्रहण गर्न संकोच नमान्ने गर्न निकै जरुरी हुन्छ ।
हिजोको झापा विद्रोह र पछिको जनयुद्ध यी चानचुने परिघटना थिएनन् यी परिघटना स्थापित हुनमा अहिलेका नेता कार्यकर्ता र जनताको पनि उत्तीकै हात थियो । तर प्रमुख भूमिका तिनीहरुको थियो, जसले हाँसीहाँसी जीवन दिए ।
जनयुद्ध दिवस मनाउनु भनेको अहिलेका कुनै नेतालाई मान्नु हुँदैहोइन ।
बाँचेकाहरु त आफ्नो प्राप्त उमेर अवधि पार नगरी जस पाउन लायक हुँदैनन् । आफ्नो उमेर अवधिसम्म नचुकेर राम्रो गर्न सके इतिहासले समेट्छ नसके हुत्याइदिन्छ ।
जनयुद्ध या कुनै पनि राजनैतिक परिघटना सम्झिनु या मनाउनु भनेको त्यस परिघटनामा जीवन उत्सर्ग गर्ने सहिदहरुलाई सम्मान गर्नु मुख्य कुरा हुन्छ । सहिदहरु तेरा मेरा हुँदैनन् । देश र जनताका लागि जीवन दिने व्यक्ति सबैका साझा हुन्छन् । जनयुद्दका सहिदहरु भनेका त अझ राज्यका सहिदको रुपमा बाह्रबुँदे सहमतिबाट स्थापित कुरा हो । त्यसबेलाको परिस्थितिमा ती सहिदको महत्व धेरै थियो र कम्युनिष्ट विरोधी काँग्रेस अथवा गिरिजाप्रसाद कोइरालाले पनि यो कुरा मानेर जनयुद्धमा ज्यान गुमाउने सबैलाई सहिद घोषणा गरिएको थियो ।
अब त झन् दुई ठूला कम्युनिष्ट पार्टी एकै भइसकेपछि सम्पूर्ण शक्ति उत्साहका साथ लाग्नु छ । हिजोका तिता र अमिला कुरा सबै बिर्सिनु छ । आन्दोलन हा । सत्ता पक्षा र विद्रोहीबीचको संघर्ष हुँदै गर्दा कतिपय अप्रिय घटनाजरु त्यतिबेला सत्तामा रहेको पक्षबाट पनि भए । विद्रोहीबाट पनि भए ।
ती सबैलाइ बिर्सेर हामी धेरै अघि बढिसकेका छौं । भावनात्मक एकताको प्रक्रियामा छौं । त्यसका लागि जनयुद्धलाईसबैले उपलब्धिको पाटोबाट हेरेर उत्साहपूर्ण दिवसको रुपमा मनाउँदा कुनै पनि घाटा हुँदैन बरु आम कार्यकर्तामा उत्साह आउने छ । कम्युनिष्ट पार्टी सशक्त बन्ने छ । सहिद घाइते अपाङ्गका सम्पूर्ण परिवार कम्युनिष्ट पार्टीप्रति विस्वस्त हुनेछन् । ती भनेका कम्युनिष्टका स्थायी शक्ति हुन्, जबकी हिजो ठूलो पार्टी देखेर मन्त्री पाउने आशमा करोडां चन्दा बुझाइ सांसद बनेका कोही सांसदहरु भोलि परिस्थितिसँगै बदलिन पनि बेर लाउँदैनन् ।
धेरै भन्दा धेरै जनता समेट्ने, धेरै भन्दा धेरै निस्वार्थ कार्यकर्ता तयार गर्ने र समाजवादका अवयवहरु स्थापित गर्दै अघि बढियो भनेमात्र समाजवादको नाराले सार्थकता पाउन सक्छ ।
एकले अर्कालाई विस्थापित गर्ने, जनयुद्द दिवस मनाए एक पक्ष उफ्रिने नमनाए अर्को पक्ष उफ्रिने गर्न थालियो भने न त जनता आकर्षित हुन्छन् न त कार्यकर्ता उत्साहित हुन्छन् । हिजो जनयुद्धमा नगएका साथीहरुले जनयुद्ध दिवससँगै मनाए हिजोसँगै लडेको साथी भन्दा पनि प्रिय देखिन्छ । झन् घनिष्ट भैदिन्छ । तब त्यस्तो भावनात्मक एकतालाई कसैले तोड्न सक्दैन । हैन भने खडेरी परेको परालमा आगो झोस्नेहरुले मज्जाको अवसर पाउने छन् र समृद्धि, विकास र समाजवादको नारा पनि एकादेशको कथा हुन सक्छ । त्यसैले सबै मिलेर पुष्पलाल स्मृति दिवस, मनमोहन, मदन आश्रित स्मृती, झापा विद्रोह दिवस, सुखानीका सहिदको सम्झना, जनयुद्ध दिवस लगायतका कयौं यस्ता दिवसलाई एकसाथ मनाइनु पर्छ ।
आमजनतामा भावनात्मक एकताको सन्देश प्रवाह गरिनुपर्छ । यसो गरिए पार्टीलाई सशक्त र सरकारलाई पनि प्रभावकारी बनाउन सहयोग पुग्न सक्छ भन्ने नै हो । यस परिस्थितिमा जनयुद्धका बारेमा युवापिढि र भुईंमान्छेसम्म यथार्थ जानकारी भयो भने हाम्रो अस्तित्व मेटिन्छ भन्ने दूषित मानसिकता बोक्नेहरुका लागि जनयुद्ध दिवस अभिशाप सावित हुन पुगेको तितो यथार्थ हामीमाझ दिनको घामजस्तै छर्लङ्ग छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |