logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

हे ज्ञानुवाकर

प्रभातफेरी अनलाइन३५१ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २१, बुधबार(१ साल अघि)
हे ज्ञानुवाकर

मुरहरि रायमाझी

सुतेका बेला गजल हाम्रो पुनरुत्थापन
गरेका तिम्ले हे ज्ञानुवाकर गरियो मापन ।

साहित्य हैन भनेका बेला नेपाली गजल
दिएर टेको उठायौ अनि हुन गो पजल ।

नवीन शैली आरम्भ गर्यौ विषय विविध
यो भएपछि चर्चामा पुग्यो यो विधा के विध।

खर्चियौ गुरु जिन्दगी पूरै साहित्य क्षेत्रमा
हाँसेर बस सबैको तिमी मन र नेत्रमा ।

“गजल माली“ उपमा पायौ धेरै छन् पाठक
बढेर गए गजल प्रेमी बढ्दैछ फाटक ।

पहिलो मोती गजल लेख्ने ती मोतीराम हुन्
आकाशविच उदाई रहुन् भएर ताराजुन ।

ती शम्भुप्रसाद ती भीमनिधि उपेन्द्र जिगर
गजल विधा हेरेमा देख्छौँ तिनकै फिगर ।

ती रवी, मनु, र बूँद, लली ती देवी नेपाल
गजल मीठा लेखेर दिए फूलझैँ कोमल ।

ती कृष्णहरि बराल पनि सम्झने नाउँ हो
गजल उनको नसुनी बस्ने सायदै होला जो ।

सयौँ छन् स्रष्टा गजल लेख्ने कोही छन् गायक
पाठक सामु बनेका देख्छौँ सम्झन लायक ।

सकिँन लेख्न सबैको नाउँ सम्झन्छु तर म
गजल विधा छोडेर चट्टै जादिँन पर म ।

गजल लेख्ने जाँगर हाम्रो नमरोस् कहिल्यै
साहित्यरुपी आकाशबाट नझरोस् कहिल्यै ।

गजल स्रष्टा गजल प्रेमी सबैमा नमन
संस्तुति गायो व्यक्तिको भनी मलाई नभन ।
“इति”