
प्रभातफेरी अनलाइन ५११ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार (५ महिना अघि)
रातदिन मेलापात चुलोचौको पँधेरो
कस्तो मेरो फुटेको कर्म बरिलै ।
माइती घर जाम भनेनी आमाबुबा हुनुहुन्न
कसले बुझ्ने यो चेलीको मर्म बरिलै ।।
पौराणिक दृष्टिबाट हेर्दा नेपाली महिलाहरूको अत्यन्त महत्वपूर्ण साँस्कृतिक तथा सामाजिक पर्वका रुपमा तीज मानिदै आएको छ । यसको मर्ममा धार्मिक आस्था, सामाजिक एकता र व्यक्तिगत भावनाको अभिव्यक्ति पनि लुकेको छ । यसले परम्परागत धार्मिक आस्था, परिवारको एकता र दिदीबहिनीबीचको आत्मीयता झल्काउँछ । वर्षको एक दिन विशेषगरी हिन्दु धर्मावलम्बी महिलाहरूले शिव–पार्वतीको पूजाआजासँगै आफ्नो जीवनका सुख–दुःखलाई गीतमार्फत व्यक्त गर्ने परम्परा रही आएको छ । तर पछिल्ला वर्षहरूमा यसको स्वरूपमा आएको परिवर्तन छ, यसको मौलिकता र वास्तविक उद्देश्यबारे समेत प्रश्न उठेको छ ।
तीजसँग महिलाहरुको भावना र सुख पनि जोडिएको छ । हाम्रा हजुरआमाहरुको कुरा अनुसार उहिले वर्ष दिनसम्म छोरी माइत जान पाउँदैनथे । मिठो खान पनि माइतमा मात्र पाइने जस्तो थियो । घरमा दिनभरी गधाले झैँ काम गर्दा पनि बुहारीले खाने भनेको रहल पहल नै हुन्थ्यो । घरकाले वर्षमा एउटा मात्र फेर्ने कपडा दिन्थे । चेलीहरु माइत जाँदा वर्षदिन पुग्ने कपडा र खाना समेत दिएर पठाउनु पर्ने चलन थियो । चेलीहरू घरका हरेक काम सकेर माइती गएर आराम गर्थे तसर्थ त्यसको छुट्टै मूल्य–मान्यता थियो । कामैकामबाट मुक्त भएर माइतीको आँगनमा स्वतन्त्र भएर हाँस्न पाउने अवसर तीजले दिने हुँदा त्यो बेला तीजको रौनक छुट्टै हुन्थ्यो । चेलिहरुलाई माइतमा आफ्ना बुबाआमा तथा दाजुभाई सामु आफ्नो दुःखको भारी बिसाउने चौतारी थियो तीज ।
तर अहिले समय बदलिएको छ । अहिले तीज मनाउनु भनेको मनोरञ्जन बन्दै छ । हिजोको तीजले संस्कृति बोकेको थियो तर आज संस्कृतिमा विकृती बढ्दै गएको छ । हिजोको तीजले महिलाको पीडा, चाहना र संघर्षको स्वर बोल्थ्यो, तर आजको तीज देखावटी र भोगवादी प्रवृत्तिले ग्रसित हुँदैछ । धार्मिक विश्वास र सामूहिक भावनाको अलावा यो देखावटी र खर्चिलो ‘फेस्टिवल’ मा रूपान्तरण भइरहेको छ । यसले क्रमश मौलिकता र अधिकार बुलन्द गर्ने चेतनालाई कमजोर बनाएको छ । साथै यसले प्रतिस्पर्धा र आडम्बरलाई बढवा दिएको छ ।
पौराणिक र धार्मीक बुझाई
तीजको सन्दर्भ शिव–पार्वतीको विवाह कथासँग जोडिएको छ । कथाअनुसार, पार्वतीले शिवलाई पतिको रूपमा पाउन कठिन व्रत, तपस्या र भक्तिभावका साथ पूजा गरेकी थिइन् । त्यसकै सम्झनामा तीजमा महिलाहरूले व्रत बस्ने परम्परा सुरु भएको मानिन्छ । यस पर्वमा महिलाहरु अघिल्लो दिन दर खाएर भोलिपल्ट अर्थात् हरितालिकाको दिन निराहार पानी पनि नखाई व्रत बसी भगवान शिवको पूजा गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो असल, गुणी, राम्रो पति पाऊँ भन्दै व्रत बस्ने प्रचलन रही आएको छ ।
यससँग जोडिएका केहि धार्मिक पक्षहरुमा महिलामाथिको शोषण नै बढि देखिन्छ । महिलाहरु आफनो लोग्ने जँड्याहा, व्यभिचारी र भ्रष्टाचारी नै किन नहोस, निराहार, पानीसमेत नखाई, रिगटा लागेर ढलुन्जेल ब्रत बसेको देखिन्छ । हिन्दू धर्म ग्रन्थमा भगवान शिवलाई पति पाउँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ । महिलाहरुले ब्रत बस्दैमा आफूले खोजेजस्तो पति पाउने भन्ने कुनै वैज्ञानिक होइन । न त मान्छे आफैमा सम्पूर्ण रुपमा पूर्ण हुन्छ न त पुजा गर्दैमा आफूले खोजेको जस्तो श्रीमान पाइन्छ नै । न त श्रीमती ब्रत बसेर श्रीमानको आयु बढ्ने पनि होइन । यद्यपी वैज्ञानिक दृष्टिले समयसमयमा ब्रत बस्दा स्वास्थका दृष्टिले शरीरलाई फाइदा पुग्छ । तर ब्रत बसेर कसैको आयु बढ्ने कुरा अन्धविश्वास मात्र हो । बरु श्रीमानश्रीमती एक रथका दुई पाङ्ग्रा हुन् भन्ने भावका साथ एकापसमा मिलेर सुखदुखमा साथ दिन सके दुवैको आयु पक्का बढ्छ र त्यसले घरपरिवारलाई सुन्दर बनाउँछ ।
यसको सामाजिक पक्ष पनि उत्तिकै गहिरो छ । विगतमा महिला प्राय पुरुष, परिवार र समाजका नियम–कानूनले बाँधिएका थिए । तीजको अवसरमा मात्र उनीहरू आफ्नो घर, परिवार छाडेर माइती जान पाउँथे, साथी–संगिनी भेट्थे, गीत गाउँथे र आफ्नो मनका कुरा सुनाउँथे । ती गीतहरू मनोरञ्जनका लागि भन्दा पनि सामाजिक अन्याय, घरेलु हिंसा, दाइजो प्रथा, महिला पुरुष असमानता र ज्यादती विरुद्धको मौखिक अभिलेख पनि थिए । अब अहिलेको समाजमा तीज केवल धार्मिक अनुष्ठान रहेन ।
आजको तीज र विकृति
पछिल्ला वर्षहरूमा तीजको स्वरूपमा निकै परिवर्तन देखिएको छ । रेष्टुरेन्ट र प्रतिस्पर्धा संस्कृति बढाएको छ । एक महिना अगाडिदेखि महँगो होटल, पार्टी प्यालेस र रेष्टुरेन्टमा पार्टी, डान्स, फोटोसेसन गर्ने प्रवृतिले महिलाहरुको चेतनालाई मनोरञ्जनमा मात्र सिमित बनाएको छ । महँगो लुगा, गरगहना, मेकअपमा खर्च बढाएको छ । कम खर्चमा जीवन धान्न बाध्य हुनेलेपनि नचाहेरै तडकभडक र बिलासीतामा हामहाल्नु परेको छ । मौलिक गीतको ह्रास हुँदै जाँदा अश्लील, भड्किला र प्रेमका बढि उत्ताउला गीतहरु बज्न थालेका छन् । संचारमाध्यम र बजारले तीजलाई उत्पादन बेच्ने अवसरका रूपमा प्रयोग गर्न थालेका छन् ।
यस्ता बिकृतिले तीजको मूल भावना र् संस्कति, महिला एकता, पीडा र समवेदनाको साझेदारी, सामाजिक परिवर्तनको आवश्यकता र चेतनालाई कमजोर पार्दै गएको स्पष्ट छ । साँच्चै भन्नुपर्दा तिजले आजको महिला पुस्तालाई उपभोक्तावादी बनाएको छ ।
क्रान्तिकारी दृष्टिकोणमा तीज
क्रान्तिकारी महिलाहरूको दृष्टिकोणमा तीज पूजाआजा गरेर धर्म कमाउने र ब्रत बसेर श्रीमानको आयु बढ्छ भन्ने पटक्कै हुँदै होइन । यदि श्रीमतीको ब्रत लाग्ने भए कोही पनि महिला एकल बन्नु पर्ने अवस्था शायद आउँदैनथ्यो । हिजोको जस्तो श्रीमती भनेको पाउका जुत्ता हुन् भन्ने अवस्था आज छैन । शिक्षाका हिसाबले पनि आजका महिलाहरुले ब्रत बसेर श्रीमानको आयु बढ्छ, श्रीमानको खुट्टाको पानी खाएर धर्म कमाइन्छ भन्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । हाम्रो अबको दृृष्टिकोण विज्ञानसम्मत हुनुपर्दछ । यद्यपी चाडपर्व हाम्रो सांस्कृतिक धरोहर हुन् तर समय अनुसार यसको सन्दर्भलाई मान्ने कुरामा भने आजका महिला सचेत बन्नै पर्दछ ।
यसको साँस्कृतिक अवसरलाई महिलाको हक, समानता, र सामाजिक न्यायका लागि सशक्त अभिव्यक्तिको माध्यम बनाउन भने सकिन्छ । पंचायतकालमा पंचायति ब्यबस्था र पंचहरुको बिकृति उदाङ्गो पारेर त्यसका बिरुद्ध जनमत तयार गर्ने काम भएको हो । २०४६ पछिको खुला अवस्थाको उपयोग गर्दै वर्गसंघर्ष बढाउने र जनयुद्धको आवश्यकतालाई स्थापित गर्ने क्रान्तिकारी बिचार गीतबाट संप्रेषण भएका थिए । जनयुद्धको दौरानमा पनि महिलाहरूले यसलाई आफ्नो हकको मञ्चका रूपमा उपयोग गर्ने प्रयास भएकै हो । जनयुद्धमा महिला सहभागिताको अद्धितिय विरासत यहाँ स्मरणिय छ ।
गीतमार्फत घरायसी हिंसा, सामाजिक अन्याय, राजनीतिक भ्रष्टाचार विरुद्ध सन्देश प्रवाह गर्न सकिन्छ । घरभित्रको भेदभावदेखि राष्ट्रिय नीतिसम्मको मुद्दामा छलफल गर्ने अवसरको रुपमा पनि तीजलाई मनाउन सकिन्छ । अहिलेका सन्दर्भमा समाजवादको नेपाली बाटो कसरी बिकास गर्ने भन्ने सम्बन्धमा तीज जस्ता अवसरमा पनि छलफल गर्न सकिन्छ ।
क्रान्तिकारी दृष्टिकोणबाट हेर्दा, यसलाई संघर्ष र आन्दोलनको अभिव्यक्ति संप्रेषण गर्ने दिन मान्न सकिन्छ । महिलाले आफ्नो हक–अधिकार, समानता र स्वतन्त्रताको मुद्दा उठाउने अद्वितीय अवसर त हुदै हो त्यसबाहेक राजनैतिक आन्दोलनको बाकी पाटोमा महिला सहभागिता जुटाउन बहश बढाउने अवसर पनि हो । तीजको दिनलाई महिला मुद्दा, अधिकार र समानताको मञ्चका रूपमा प्रयोग गर्नुपर्छ । महिला हिंसा, दाइजो, लैङ्गिक भेदभाव, तलब असमानता जस्ता मुद्दामा सामूहिक आवाज उठाउन सकिन्छ । गीतमार्फत घरायसी हिंसा, सामाजिक अन्याय, राजनीतिक भ्रष्टाचार विरुद्ध सन्देश प्रवाह गर्न सकिन्छ । घरभित्रको भेदभावदेखि राष्ट्रिय नीतिसम्मको मुद्दामा छलफल गर्ने अवसरको रुपमा पनि तीजलाई मनाउन सकिन्छ । अहिलेका सन्दर्भमा समाजवादको नेपाली बाटो कसरी बिकास गर्ने भन्ने सम्बन्धमा तीज जस्ता अवसरमा पनि छलफल गर्न सकिन्छ । महँगो पार्टी र रेष्टुरेन्टको सट्टा खुला चोक, टोल, सामुदायिक भवनमा कार्यक्रम गर्ने हो भने त्यसले धेरै महिलाहरुमा सामाजिक चेतनास्तर बढाउन सक्छ ।
परिवर्तनमा महिलाको भूमिका
महिला सहभागिता विना कुनै पनि क्रान्ति अथवा आन्दोलन सफल भएका छैनन् । २००७ साल देखिकै आन्दोलनहरुमा महिलाको भूमिका घरमा लुकेर बस्न बाध्य नेतृत्वहरुलाई पकाएर खुवाउनेमा मात्र सिमित रहेको छैन, आन्दोलनमै सक्रिय सहभागी भएका छन् । आन्दोलनहरुमा अग्रदस्तामा र युद्धमा पुरुषहरुसँग सँगसँगै काँध मिलाएर महिलाहरुले मोर्चाको नेतृत्वसम्म गरेका छन् । महिलाको काम घरभित्र मात्र हो भन्ने भाष्यलाई तत्कालिन माओवादीले गरेको १० वर्षे जनयुद्धमा भएको महिला सहभागिताले उल्टाएको छ । जनयुद्धमा ४० प्रतिशत महिला सहभागि थिए । महिलाहरुले पड्काएको बन्दुक पड्कँदैन भन्ने भनाईलाई गलत सावित गरिदिए । माओवादीले आफ्नो युद्ध सफल हुनुमा महिला सहभागितालाई प्रमुखता मान्दै आएको छ । यद्यपी हिजो अप्ठ्यारो अवस्थामा परिवर्तन र मुक्तिका लागि लडेका महिलाहरु राजनीतिबाट भागिरहेका पनि छन् ।
निष्कर्ष
विश्वका विभिन्न मुलुकका महिलाहरूले युवा उमेरमै पनि देशको नेतृत्व सम्हालिसकेका छन् । प्रविधि, विज्ञान, खेलकुद, साहित्य, व्यवसाय लगायत हरेक क्षेत्रमा महिलाहरूले महत्वपूर्ण उपलब्धि हासिल गरिरहेका छन । उनीहरूले आफ्नो समय, ऊर्जा र क्षमतालाई राष्ट्र निर्माणमा लगाइरहेका छन् । तर हामी भने चाडपर्व मनाउने नाममा त्यसैभित्र रुमलिरहेका छौं । खानु, राम्रो लगाउनु र नाचगान गरेर प्रतिस्पर्धामा हिड्न पाउनु नै महिला अधिकार हो भन्ने ठान्ने प्रवृत्ति हावी हुँदै गैरहेको छ । महिलाको समय र ऊर्जा व्यक्तिगत देखावटी रमाइलोमा खर्च भइरहेको छ । बढदै गएको विकृतिको पाराले न त हाम्रो संस्कृतिको संरक्षण गर्न सक्छ न त महिलाले देशको समृद्धिमा कुनै भूमिका खेल्न सक्छिन् । साथीहरुसँग भेटघाट गर्नु र रमाइलो गर्नु गलत त होइन, तर त्यत्तिलाई मात्र महिला अधिकार ठान्नु हाम्रो भूल हो ।
हामीले मनन गर्नै पर्दछ की अरु मुलुकका महिलाले राष्ट्रको नेतृत्व गर्दै विश्वमञ्चमा अन्वेषण, अनुसन्धान र निर्माणलगायतका क्षेत्रमा पहिचान बनाइरहेका छन् भने हामी पनि त्यो बाटोमा अघि बढ्न किन नसक्ने ? तीजलाई उपलब्धि, मनोरञ्जन र चेतना सम्प्रेषणको त्रिवेणीका रूपमा पुनः परिभाषित गर्न अबको पुस्ताले पहल लिन किन अग्रसर नहुने ?
तीजप्रतिको क्रान्तिकारी दृष्टिकोण भनेको संस्कृति र मौलिकतामाथि प्रहार नगर्ने, विकृतिहरुबाट आएका समस्या बताइदिने र आधुनिक चेतना अर्थात् बिज्ञानसम्मत दृष्टिकोण भर्ने हो । यसरी मात्र तीजले आफ्नो साँस्कृतिक, सामाजिक र राजनीतिक महत्व कायम गर्न सक्छ । यदि हामीले यसलाई बजारको चकचकीबाट बचाउन मात्र सक्यौं भने, तीजलाई पुस्तौपुस्ता सम्म पनि हाम्रो पहिचान, हाम्रो संघर्ष र हाम्रो विजयको उत्सव बन्न सक्नेछ ।
तीज हाम्रो मौलिक संस्कृति हो, तर यसलाई विकृति र फजुलखर्चको रूपमा मनाउनु गलत हो । संस्कृति आत्मचिन्तन, परिवारिक सद्भाव र धार्मिक आस्थासँग जोडिएको हुन्छ, प्रदर्शन र भड्किलो प्रतिस्पर्धासँग होइन । तीजलाई मौलिकता जोगाउँदै सादगीपूर्वक मनाउँदा मात्र यसको वास्तविक अर्थ जीवित रहन्छ । संस्कृतिले पहिचान बनाउँछ, तर विकृतिले पहिचान गुमाउँछ, त्यसैले तीजलाई संस्कृतिको रूपमा जोगाऔँ, विकृतिको रूपमा होइन ।
अस्तु









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |