
प्रभातफेरी अनलाइन ३६४ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १५, मंगलबार (१ महिना अघि)
नवलपरासी/ सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुरातत्व विभागको टोलीले आफ्नो १ महिने उत्खनन कार्य सम्पन्न गरि फर्केको छ । उत्खननमा भेटिएको प्राचीन बस्तिका भग्नावशेषलाई खुल्ला नै राख्ने गरि स्थानिय प्रशासन तथा स्थानिय सरकारको आग्रहमा खुल्ला नै राखेर फर्केको हो ।

प्रमुख जिल्ला अधिकारी सहितको स्थानिय अधिकारीहरुसँग छलफल गरि भेटिएका भग्नावशेषलाई आउने पर्यटकले देख्ने गरि अवस्थामा राख्न सबैले निर्णय गरेका थिए । उतm स्थान प्राप्ती गर्नका लागि अधिग्रहणका आवश्यक प्रकृया पुरा गरि अधिग्रहण गर्ने र घामपानीले जोगाउन नगरपालिकाले ट्रस हाल्ने सहमति अनुसार उत्खनन टोलीले फेला पारेको भग्नावेश खुल्ला छाडेर गएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताए । विगत तिन दशक देखि सो क्षेत्रमा भुभौतिक सर्वेक्षण,उत्खनन अन्वेशष गर्ने र पछि ति स्थानलाई पुनः पुरेर पुरात्व विभागका उत्खननकर्ता जाने गरेका थिए । यस पटक करिब ५ कट्ठा क्षेत्रफलमा फैलिएको इनार सहितको कुशाणकालिन बस्ति तथा भवनको भग्नावेश भेटिएको छ, उनले भने, स्थानियले पनि पटक पटक उत्खनन गर्ने र पुर्ने कार्यले एक प्रचार हुने गरेको र प्रचार प्रसारले यो क्षेत्रमा पर्यटक,बौद्धतिर्थयात्री,अनुसंधानकर्ता आउने तर केही नभेटाएर फर्कने गरेका छन् ।
यो गुनासो सम्बोधन गर्नका लागि स्थानिय सरकार र स्थानिय प्रशासन मिलेर संरक्षण गर्नेगरि उक्त नम्बरी जग्गा खरिद वा अधिग्रहण गरेर भेटिएका भग्नावशेष खुल्ला नै राख्ने सहमतिको निर्णय समेत लिएर विभागको टोली फिर्ता गएको छ । जग्गा अधिग्रण पछि विभागको टोली पुनः संरक्षण कार्यका लागि प्राविधिक टोली आउने उनको भनाई थियो । पुरातत्व विद भास्कर ज्ञवालीको नेतृत्वमा कातिक २४ गते पुगेर२५ गते देखी उत्खनन कार्य शुरु गरेको थियो । उत्खननले भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्विक बस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको पुरातत्व अधिकृत ज्ञवालीले देखाएका थिए ।
मंसिर १ गते देखी त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा पुरातत्व विषयमा अध्ययन गर्ने र ब्यवहारिक तालिम लिन ३५ जनाविद्यार्थीहरु समेत उत्खनन कार्यमा सहभागि भएका थिए । उनीहरु मंसिर १६ गते नै फर्केका थिए । रामग्राम नगरपालिकाले चाह्यो र लगानी गर्न तयार रह्यो भन्ने यो इनार सहितको पुरातात्विक पहिचानका क्षेत्रका स्थान सुरक्षा ब्यवस्थापन गरि खुल्ला राख्न सकिने पुरातत्वविद ज्ञवालीले बताएका थिए । सोही अनुसार नै जिल्ला प्रशासन कार्यालय र नगरपालिका उतm स्थान खुल्ला राख्नका लागि आवश्यक प्रकृया अगाडी बढाउने प्रतिवद्धता अनुसार विभागले भेटिएको भग्नावशेष स्थल खुल्ला राखेर फर्केको बताउदै यादवले भने,खुल्ला राखिने भए पछि आउने पर्यटकलाई अवलोकन गर्न सहज हुने देखिएको छ ।
विगत बर्षमा पनि पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले विगत बर्षमा नै भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो । सो स्थान कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपुर्ण स्थान हो । कोलिय गणराज्यको महत्व बौद्धमार्गीका लागि ठूलो छ । कोलिय राजाहरुकै स्थापना गरिएको रामग्राम स्तुप अहिले संसारकै लागि एक मात्र मौलिक स्तुप रहेको छ ।
सो स्तुप अहिलेसम्म मौलिक रुपमा बचाई राख्नका लागि कोलियहरुको ठूलो योगदान हुनु पर्छ । तत्कालिन मगध सम्राट अशोकले अन्य ७ वटा स्तुपको उत्खनन गर्न सक्नु र कोलियले स्थापना गरेको रामग्राम स्तुप उत्खनन नगरि मौलिक रुपमा छाडि दिइनुको पनि कुनै अध्यात्मिक रहस्य नै भएको हुनु पर्छ । यस क्षेत्रको खोज हुदै जादा अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ ।
बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरुले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, । राजधानी क्षेत्रका अन्तोनगर र बाह्रय नगर गरि विभिन्न बस्तीहरु ६० विघा क्षेत्रफलमा फैलिएको अनुमान पुरात्व टोलीले गरेको छ । गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरुमा उल्लेखित छ ।
रोहिणी नदी पश्चिममा रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |