
प्रभातफेरी अनलाइन १६१ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २०, आईतबार (३ हफ्ता अघि)
काठमाडौ /अमेरिकाको ट्रम्प प्रशासनले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि हालै गरेको सैन्य कारबाही तथा आक्रमणप्रति नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ – कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन हो । यस्ता कार्यहरूले सम्पूर्ण विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गरेको छ ।
संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलाका संवैधानिकरूपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसलाई अपहरणको शैलीमा कब्जामा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप हो । यस प्रकारका कार्यहरू लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य छन् । हामी राष्ट्रपति मादुरोलाई बिना सर्त रिहा गर्न जोडदार माग गर्दछौं ।
भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य आफै तय गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार छ ।
नेपाली कम्युनिष्ट पार्टी साम्राज्यवाद तथा सबैखाले नव–उपनिवेशवादी हस्तक्षेपको सधैँ विपक्षमा रहँदै आएको छ । हामी विश्वका सबै शान्तिप्रेमी शक्तिहरू, उत्पीडित राष्ट्र, वर्ग र समुदायका प्रगतिशील आन्दोलनहरू तथा सार्वभौमिकताको पक्षमा उभिने राष्ट्रहरूलाई भेनेजुएलाका जनताको समर्थनमा एकजुट हुन आह्वान गर्दछौँ ।
भेनेजुएलामाथि गरिएका सबै प्रकारका सैन्य कारबाही र हस्तक्षेप तत्काल रोक्न हामी संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी पहलकदमीका लागि बिश्व समुदायसङ्ग अपिल गर्दछौँ भनिएको छ ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |