प्रभातफेरी अनलाइन१४९ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ १३, सोमबार(४ महिना अघि)
काभ्रेपलाञ्चोक/ काभ्रे निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा वागमती प्रदेशका पूर्व कृषि मन्त्री बसुन्धरा हुमागाईले पाँचखाल नगरपालिकालाई कृषिको ‘हब’का रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आइतबार पाँचखालमा पार्टीको नगर कार्यालय उद्घाटन गर्दै उहाँले पाँचखालको उर्वर भूमि, भौगोलिक अवस्था र कृषिमा आधारित जीवनशैलीलाई ध्यानमा राखी आधुनिक, व्यावसायिक र उत्पादनमुखी कृषि विकासको योजना अघि सार्नुभएको हो।
उहाँले पाँचखाललाई खानेपानी अभावमुक्त बनाउन सुरु गरिएको सुनकोशी–पाँचखाल खानेपानी आयोजनामा आफ्नो योगदान रहेको उल्लेख गर्दै कृषकलाई उत्पादनका आधारमा अनुदान, पशु स्वास्थ्य क्लिनिक विस्तार तथा खाद्य भण्डारणका लागि गोदाम निर्माणजस्ता योजनालाई प्राथमिकता दिने बताउनुभयो।