प्रभातफेरी अनलाइन ५५ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र १७, मंगलबार (३ घण्टा अघि)

यकिना अगाध
वि.सं. २०५९ बैशाखदेखि अविच्छिन्न रूपमा विशुद्ध तामाङ भाषामा प्रकाशित हुँदै आएको तामाङ डाजाङ मासिक पत्रिका आज तामाङ भाषिक समुदायको एकमात्र सुसंगठित, निरन्तर र संस्थागत प्रकाशन माध्यमका रूपमा स्थापित भएको छ । भाषिक विविधता र सांस्कृतिक बहुलताको सन्दर्भमा नेपालजस्तो बहुभाषिक राष्ट्रमा कुनै पनि मातृभाषाको दीर्घकालीन संरक्षण र विकासका लागि निरन्तर प्रकाशन माध्यमको उपस्थिति अनिवार्य हुन्छ । यही सन्दर्भमा ‘तामाङ डाजाङ’ ले निर्वाह गरेको भूमिका केवल साहित्यिक अभ्यासमा सीमित छैन; यसले भाषिक अस्तित्व, सांस्कृतिक पुनस्र्मरण र बौद्धिक उत्पादनको समग्र प्रक्रियालाई संस्थागत आधार प्रदान गरेको छ ।
इतिहासतः हेर्दा तामाङ भाषामा केही पत्रपत्रिकाहरू प्रकाशनमा आएका थिए तर ती दीर्घकालीन स्थायित्व हासिल गर्न असफल भए । यस्तो अवस्थामा ‘तामाङ डाजाङ’ को निरन्तरता आफैंमा एक प्रकारको भाषिक प्रतिरोधको अभ्यास हो, जसले भाषिक उपेक्षा र सांस्कृतिक सीमान्तीकरणका विरुद्ध आफ्नो अस्तित्व कायम राख्दै आएको छ । अतः यसलाई केवल एक पत्रिका नभई तामाङ समुदायको भाषिक–सांस्कृतिक चेतनाको अभिलेखीय दस्तावेजका रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ ।
यस पत्रिकाले तामाङ भाषाको मानकीकरण, शब्दसम्पदाको संरचनात्मक विकास, व्याकरणिक अनुशासनको व्यवहारिक प्रयोग तथा देवनागरी लिपिमा लेखन परम्पराको संस्थागत अभ्यासलाई सुदृढ बनाउँदै आएको छ । भाषाविद् अमृत योन्जनद्वारा प्रतिपादित भाषिक ढाँचालाई व्यावहारिक तहमा रूपान्तरण गर्ने कार्यमा ‘तामाङ डाजाङ’ को योगदान अत्यन्त महत्वपूर्ण छ । यसले भाषालाई केवल मौखिक सम्प्रेषणको माध्यमबाट माथि उठाउँदै लिखित परम्परामा स्थापित गर्न मद्दत गरेको छ, जुन कुनै पनि भाषाको दीर्घकालीन अस्तित्वका लागि अनिवार्य सर्त हो ।
यससँगै, ‘तामाङ डाजाङ’ ले साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्दै कवितादेखि कथा, निबन्ध, समालोचना र अनुसन्धानसम्मका विधाहरूमा तामाङ भाषाको प्रयोगलाई विस्तार गरेको छ । यसले भाषिक अभिव्यक्तिलाई बहुआयामिक बनाउँदै नयाँ पुस्ताका स्रष्टाहरूलाई सिर्जनात्मक अभ्यासतर्फ आकर्षित गरेको छ । अझ महत्वपूर्ण कुरा, यस पत्रिकाले भाषिक विमर्शलाई केवल साहित्यिक क्षेत्रमै सीमित नराखी तामाङ पहिचान, इतिहास, सांस्कृतिक स्मृति र सामाजिक यथार्थलाई समेत गम्भीरतापूर्वक उठाउँदै आएको छ । यसले तामाङ समुदायको ऐतिहासिक उपस्थिति र सांस्कृतिक योगदानलाई पुनःस्थापित गर्ने बौद्धिक प्रयत्नलाई निरन्तरता दिएको छ ।
समकालीन विश्वव्यवस्थामा आप्रवासन, शहरीकरण र विश्वव्यापीकरणका कारण साना भाषाहरू लोप हुने जोखिममा रहेका छन् । तामाङ भाषा पनि यसबाट अछुतो छैन । विशेषतः युवा पुस्ता रोजगार, शिक्षा र अवसरका कारण देश–विदेशमा फैलिँदै जाँदा मातृभाषासँगको सम्बन्ध कमजोर हुने सम्भावना बढ्दै गएको छ । यस्तो परिस्थितिमा ‘तामाङ डाजाङ’ ले भाषिक एकताको माध्यमका रूपमा कार्य गर्दै विश्वभर रहेका तामाङ भाषीहरूबीच एक प्रकारको बौद्धिक र सांस्कृतिक सेतु निर्माण गरेको छ ।
डिजिटल युगको विस्तारसँगै ‘तामाङ डाजाङ’ को अनलाइन संस्करणले भाषिक पहुँचलाई नयाँ आयाम दिएको छ । भौगोलिक दूरीलाई अप्रासंगिक बनाउँदै यसले विश्वका विभिन्न भागमा रहेका तामाङ युवाहरू, लेखकहरू र पाठकहरूलाई एउटै प्लेटफर्ममा जोड्ने कार्य गरिरहेको छ । डिजिटल माध्यममार्फत् प्राप्त हुने लेख–रचनाहरूले तामाङ भाषाको समकालीन स्वरूपलाई अझ जीवन्त र गतिशील बनाएका छन् । यसले भाषिक वाङ्मयलाई मात्र विस्तार गरेको छैन, नयाँ पुस्तामा भाषाप्रतिको आकर्षण र जिम्मेवारीबोध पनि विकास गरिरहेको छ ।
संस्थागत पृष्ठभूमिको कुरा गर्ने हो भने, ‘तामाङ डाजाङ’ पत्रिकाको उदय तामाङ डाजाङ संस्थाको गठन र सक्रियतासँग जोडिएको छ । तामाङ डाजाङ संस्थाको गठनपछि नै प्रत्येक महिनाको अन्तिम शनिबार ‘ग्योइकाइ गेताङ’ र यो पत्रिका प्रकाशन गरी नियमित साहित्यिक कार्यक्रममार्फत् भाषिक अभ्यासलाई निरन्तरता दिएको छ । यस प्रक्रियामा संस्थापक यकिना अगाध, पूर्वअध्यक्ष तथा प्रकाशक अर्जुनबहादुर तामाङ, पूर्वअध्यक्ष तथा सम्पादक ईन्द्रकुमार तामाङ र पूर्वअध्यक्ष तथा कार्यकारी सम्पादक बुद्ध योन्जनजस्ता व्यक्तित्वहरूको योगदान उल्लेखनीय रहेको छ । यस्ता व्यक्तित्वहरूको समर्पणले नै संस्थागत संरचनालाई जीवन्त राख्न सम्भव भएको हो । तामाङ डाजाङ संस्थाका पूर्वअध्यक्ष सन्चु ब्लोन तामाङ र वर्तमान अध्यक्ष फूलकुमार बम्जनको भूमिका पनि निकै सह्रानिय रहिआएको छ ।
भाषाको विकासको लागि अहिले तामाङ डाजाङले अर्को परियोजनाको कामलाई अगाडि बढाईरहेको छ । अहिले राष्ट्रिय तामाङ पुस्तकालयको पहलमा ‘तामाङ डाजाङ’को नेतृत्वमा काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोगमा गुगलमा तामाङ–नेपाली–अंग्रेजी भाषा अनुवाद प्रणाली निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यो परियोजनाले तामाङ भाषालाई डिजिटल प्रविधिसँग जोड्दै अन्तर्राष्ट्रिय स्तरमा पहुँच विस्तार गर्ने सम्भावना बोकेको छ । यसले भाषालाई आधुनिक ज्ञान–प्रविधिको संरचनामा समावेश गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।
यद्यपि, यति व्यापक र दीर्घकालीन योगदान हुँदाहुँदै पनि ‘तामाङ डाजाङ’ले राज्य, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका प्राज्ञिक निकाय तथा तामाङ संघसंस्थाहरूबाट अपेक्षित स्तरको संस्थागत सहयोग प्राप्त गर्न सकेको छैन । यस अवस्थाले भाषिक संरक्षणप्रति हाम्रो नीतिगत प्रतिबद्धता र व्यवहारिक कार्यान्वयनबीचको गम्भीर अन्तरलाई उजागर गर्दछ । फलतः, यसको निरन्तरता संकटमा पर्नु स्वाभाविक देखिन्छ ।
भाषिक संरक्षणलाई केवल सांस्कृतिक नारामा सीमित नराखी संस्थागत, आर्थिक र बौद्धिक स्तरमा सुदृढ बनाउने काममा सबैबाट पहल हुनु पर्दछ । तामाङ संघसंस्थाहरूले आफ्नो प्राथमिकतामा भाषिक परियोजनाहरूलाई समावेश गर्नुपर्छ; राज्यले मातृभाषा संरक्षणका लागि विनियोजित स्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ; र समुदायले सक्रिय सहभागिता, सदस्यता र सिर्जनात्मक योगदानमार्फत् यसको दिगोपन सुनिश्चित गर्नुपर्छ ।
‘तामाङ डाजाङ’को संरक्षण र प्रवद्र्धन गर्नु भनेको बहुआयामिक उत्तरदायित्वको विषय हो । यो केवल एउटा प्रकाशन जोगाउने प्रश्न होइन; यो तामाङ भाषिक अस्तित्व, सांस्कृतिक निरन्तरता र बौद्धिक भविष्यको रक्षा गर्ने प्रश्न हो । भाषा जोगिनु भनेको इतिहास जोगिनु हो, र इतिहास जोगिनु भनेको भविष्य सुरक्षित हुनु हो।
यसर्थ, यदि वर्तमान पुस्ताले ‘तामाङ डाजाङ’ जस्तो संस्थागत धरोहरलाई जोगाउन असफल भयो भने, त्यो केवल एक पत्रिकाको अन्त्य मात्र हुनेछैन; त्यो तामाङ भाषाको लिखित परम्परा र बौद्धिक उत्पादनको आधार कमजोर हुने ऐतिहासिक क्षति हुनेछ । त्यसैले समयमै सचेत भई यसको संरक्षणमा सामूहिक प्रतिबद्धता जनाउनु आजको अपरिहार्य आवश्यकता हो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |