‘ललितपुरको पत्रकारिता इतिहास’ सार्वजनिक
प्रभातफेरी अनलाइन१५१ पटक पढिएको | २०८३ जेष्ठ २३, शनिबार
ललितपुर/ नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तक शनिबार विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५ औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तकको विमोचन गर्नुभएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश राउतले पुस्तकलाई ललितपुरको पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण दस्तावेजको रूपमा व्याख्या गर्दै यसको प्रकाशनका लागि शाखालाई धन्यवाद दिनुभयो ।
लोकतान्त्रिक व्यवस्थामा पत्रकारले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । सम्बोधनका क्रममा उहाँले पञ्चायत कालमा पत्रकारिताको अवस्थाका बारे चित्रण गर्दै आज जुन स्वतन्त्रता पाएका छौं यसको संरक्षण गर्नु सम्पूर्ण वाकस्वतन्त्रताप्रेमिहरुको जिम्मेवारी दायित्व र कर्तव्य भएको बताउनुभएको छ । पञ्चायत कालमा जुन किसिमको ज्यादति र कालो रात्री भोग्नेहरुलाई मात्रै थाहा हुन्छ । त्यसैले आजका युवाहरुलाई त्यो डरलाग्दो कालरात्रीको बारेमा जानकारी गराउन नसक्दाको परिणाम वाकस्वतन्त्रताको दुरुपयो हुन पुगेको छ । त्यसैले तपाईं पत्रकार महोदयहरुले अतितका ति पिडादायि दिनहरुका बारेमा आजका युवाहरुलाई बुझाउन जरुरी छ । आजका युवाहरुले यो मुलुकमा कुन कुन व्यवस्था आए, के के गतिविधि गरे यावत पक्षमा बुझाउन नसक्दाको परिणाम गणतन्त्रवादीहरुले भोगिरहेका छन् भन्नुहुँदै पूर्वप्रधानन्यायाधिश राउतले लोकतन्त्रको सकारात्मक पक्ष भनेकै स्तन्त्रता भएको बताउनुभयो ।
पूर्वप्रधानन्यायाधिश राउत सम्बोधनका क्रममा थप्नु हुन्छ,– “त्यतिबेला दमननाथ ढुंगाला, भैरव रिसाल लगायतका बौद्धिक व्यक्तित्वले आफुलाईपनि पत्रकारिताका बारेमा केही अनुभव लिने अबसर भएको चर्चा गर्नुहुँदै सामान्य विषयवस्तुका बारेमा लेख्दाखेरि अञ्चलाधिस कार्यालयमा धाउनु परेको कथा स्मरणयोग्य रहेको खुलासा गर्नुभयो । आज जतिपनि स्वतन्त्रतापूर्वक लेख्न बोल्न आलोचना गर्न पाएका छौं, यो त्यति सहजै प्राप्त गरेको अधिकार होइन । यसका लागि हजारौं योद्धाहरुको बलिदानी छ । त्यसैले यसतर्फ प्रत्येक चेतनशिल नेपाली नागरिकले चासो दिन जरुरी छ । जसरी नेपाल पत्रकार महासंघ ललितपुरले जिल्लाका कुना कन्दराका बस्तीहरुमा पुगेर पत्रकारिता र वाकस्वतन्त्रताका बारेमा जिल्लाबासीहरुलाई सू–सूचित गराउन महत्वपूर्ण भूमिका खेलेको जानकारी पाएको छु, यस किसिमको क्रियाकलाप कलम चलाउनेहरु सबैको साथ र सहयोग रह्यो भने मात्र लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशका प्रमुख रेवती प्रसाद सापकोटाले पछिल्लो समय पत्रकारिता र छापामाध्यमप्रतिको चासो घट्दै गएको सन्दर्भमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले जुन किसिमको अनुकरणिय कार्यको थालनी गरेर प्रेरणाको स्रोत बन्न पुगेको छ, यसलाई जीवन्त दिने दायित्व कलममा जीवन खोज्नेहरुकै भएको बताउनुभयो । ललितपुर शाखाले पत्रकारिताको क्षेत्रमा जुन गतिविधि गरेको त्यो सिङ्गो मुलुकको लागि प्रेरणादायि साधनका रुपमा प्रदेश सरकारले समेत लिएको जानकारी दिनुहुँदै आज प्रत्येक नागरिकले सूचनालाई आफ्नो ढंगबाट सम्प्रेसण गरिरहेको परिवेशमा कलममा जीवन खोज्नेहरुले खोजपत्रकारिता र सत्यतथ्य निष्पक्ष समाचारप्रति सम्झौता गर्न नहुने बताउनुभएको छ । सम्बोधनकै क्रममा सञ्चार रजिष्ट्रार सापकोटाले आज एआइको युगमा सञ्चारले प्रतिस्पर्धा गरिरहेको छ । यो परिस्थितिमा प्रत्येक सञ्चारकर्मीहरुले आफुलाई समयानुकुल परिमार्जित गरेर परिवर्तनको पक्षमा आफुलाई ढाल्न सकिएन भने आगामी यात्राहरु अझै चूनौतिपूर्ण हुनसक्ने बताउनुभएको छ ।
२५ औं वार्षिक साधारणसभाको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका सात जना पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरिएको थियो । राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । उनीहरूलाई लामो समयदेखि पत्रकारितामार्फत समाज परिवर्तनका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । त्यस्तै, नयाँसडक दैनिकका ज्ञानप्रसाद पौडेललाई धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार तथा नेपालखबरका जनार्दन पोखरेललाई राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । दियोपोष्टकी रीता बुढाथोकीलाई क्यान्सर रोगसम्बन्धी सचेतनामूलक पत्रकारितामा योगदान पु¥याएको भन्दै सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी, नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडियासञ्चारडटकमका केदारनाथ दाहाललाई ललितपुरका विषयवस्तु उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ललितपुर पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले शाखाले विगत डेढ वर्षको अवधिमा पत्रकारहरूको वृत्ति विकासका लागि विभिन्न तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । अध्यक्ष कार्कीले आगामी वर्षदेखि ललितपुरको पत्रकारितासम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले एक जना महिला र एक जना पुरुष पत्रकारलाई शोधपत्र लेखनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत गर्नुभयो । त्यसैगरी कार्यक्रममा ललितपुर जिल्लामा लोपोन्मुख अवस्थामा रहेको खैजडी भजनको उत्थानका लागि आव्हान गर्दै खैजडी भजन समूहले आफ्नो कला प्रस्तुत गरिएको थियो । साधारण सभाको बन्द सत्रमा शाखाका सचिव दीपक अर्यालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको शाखाले जनाएको छ ।