प्रभातफेरी अनलाइन९ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
आज्ञा पालन त्यो गरेस् हुकुमको यो वा कतै त्यो भनी
छल्ने आँट गरे तयार रहनू लौ खान डन्डा पनि ।
खाएँ अच्छिउँ त्यो र बच्छिउँ तँ ता नाथे झुसे बारुलो
मेरो शासनको विरोध नगरेस् जङ्गे हुँ यो देशको ।।१
झन्नै भोट दुईतिहाइ नतिजा ल्याएर आ’को दल
गर्छौ चुँक्क विरोधका स्वर भने पारिन्छ त्यो निष्फल ।
मात्रै कागजमा प्रसस्त हक हो यथार्थमा के छ पो
मेरो शासनको विरोध नगरेस् जङ्गे हुँ यो देशको ।।२
सुद्दीहीन युवा त ढाल गरियो ऐले पदासीन छौँ
हामी यो सरकारमा जति त छौँ, छौँ स्वर्णले पूर्ण छौँ ।
तिम्रो दौलत जाँचिने छ सहसा बाहेक हाम्रो छ जो
मेरो शासनको विरोध नगरेस् जङ्गे हुँ यो देशको ।।३
जे-जे बाल्नु र ढाल्नु थ्यो सब भयो त्यो दाउमा देश नै
राख्दै,आज यहाँ बसीकन खुबै दाप्छौँ विपक्षी सबै ।
देख्यौ पाइन यो अझै मकन ता पूर्वाग्रही भन्छ को ?
मेरो शासनको विरोध नगरेस् जङ्गे हुँ यो देशको ।।४
मेट्ने हो दलको त नाउँ अब ता नाथे पुराना जति
पार्ने थर्थर हो सुशासन गरी रत्ती नराखेर ती ।
बोल्ने ढङ्ग ममा हुँदैन उतिको बोल्यो कि बिग्र्यो कुरो
मेरो शासनको विरोध नगरेस् जङ्गे हुँ यो देशको ।।५
जे-जे होस् बरु देश मालुम छ के ! छोडिन्न अड्डी कवै
जान्ने भै नसिकाउनू गुरु बनी जान्या छु मैले सबै ।
मिल्नाले वरदान प्राप्त यतिको साम्राज्य मिल्दो भयो
मेरो शासनको विरोध नगरेस् जङ्गे हुँ यो देशको ।।६
मार्छौँ मन्तरले छलाङ अब ता जो रोक्न सक्ला कुन !
गर्छौँ देश विकास लौ सहजमा यस्तो छ हाम्रो धुन ।
हाम्रो अर्जुनदृष्टि एक त सधैँ सत्ता र भत्ता छ जो
मेरो शासनको विरोध नगरेस् जङ्गे हुँ यो देशको ।।७
पेवा ती धृतराष्ट्र छन् बिहकमा ठोकेर ताली दिन
यस्तो औसर साथमा छ त भने बेकार सुर्ता किन ?।
त्यो गङ्गाजलझैँ पवित्र मन यो, कालो त पोसाक हो
मेरो शासनको विरोध नगरेस् जङ्गे हुँ यो देशको ।।८
थापी ती ढडिया बडा त मछली पार्ने छु निस्से खुबै
गर्छन् रक्षकले सुधो नियमको भुक्ने र टोक्ने दुबै ।
कौनै संशय त्यो नहोस् प्रिय सखा यो राज्य हाँक्ने म हो
मेरो शासनको विरोध नगरेस् जङ्गे हुँ यो देशको ।।९
मात्रै यो मधुमासमा जति भयो यस्तो त पैले कतै
कोही त्यो इतिहासमा पनि त खै ! भेटिन्न भन्छन् ल है ।
हाम्रा सांसद ती पवित्र सब छन् डङ्का यहाँ पिट्छ को ?
मेरो शासनको विरोध नगरेस् जङ्गे हुँ यो देशको ।।१०
‘अस्तु’
रचनाकार : मुरहरि रायमाझी ‘हरि’