प्रभातफेरी अनलाइन५९ पटक पढिएको | २०८३ अषाढ ३, बुधबार
अर्जेन्टिनाका प्रधानमन्त्री को हुन्, अहिलेका मन्त्री को हुन् वा पहिले को थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। तर लियोनेल मेस्सी को हुन् भन्ने कुरा विश्वभरका फुटबल समर्थक र फुटबलप्रेमीहरूलाई राम्ररी थाहा छ। मेस्सीलाई फुटबल प्रेमीहरूले जीवनभर मात्र होइन, मृत्यु पर्यन्त पनि सम्झिरहनेछन्। फुटबल इतिहासमा “मेस्सी युग” सदैव अविस्मरणीय युगका रूपमा स्मरण गरिनेछ।
एक दिन नेपालले पनि मेस्सी जस्तै महान् फुटबल खेलाडी जन्माउने विश्वास गर्न सकिन्छ।
फुटबलका महान् खेलाडी लियोनेल मेस्सीले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै ऐतिहासिक प्रदर्शन गर्दै कीर्तिमानहरूको वर्षा गरेका छन्।
समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्ध भएको खेलमा मेस्सीले ह्याट्रिक गर्दै साविक विजेता अर्जेन्टिनालाई ३–० को प्रभावशाली जित दिलाए। अमेरिकास्थित GEHA Field at Arrowhead Stadium मा बुधबार सम्पन्न खेलमा उनले १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
३८ वर्षको उमेरमा ह्याट्रिक गर्दै मेस्सी विश्वकप इतिहासमा सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बने। साथै, सन् २००६ देखि २०२६ सम्म लगातार छ वटा फरक विश्वकप खेल्ने विश्वकै पहिलो खेलाडीको कीर्तिमान पनि उनले आफ्नो नाममा लेखाएका छन्।
यस खेलअघि विश्वकपमा १३ गोल गरेका मेस्सीले ह्याट्रिकसँगै आफ्नो कुल गोल संख्या १६ पुर्याएका छन्। यससँगै उनले जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजेको सर्वाधिक विश्वकप गोलको कीर्तिमान बराबरी गरेका छन्।
अल्जेरियाविरुद्धको जितसँगै मेस्सीले विश्वकपमा सर्वाधिक १७ जितको कीर्तिमान पनि क्लोजेसँग बराबरी गरेका छन्। त्यस्तै, आफ्नो २७औँ विश्वकप खेल खेल्दै उनले प्रतियोगिताको इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानलाई अझ मजबुत बनाएका छन्।
खेलको ८०औँ मिनेटमा प्रतिस्थापन हुनुअघि मेस्सीले विश्वकपमा बिताएको कुल समय २ हजार ३९४ मिनेट पुगेको बताइएको छ, जुन इतिहासकै सर्वाधिक हो। साथै, विश्वकपमा उनको कुल गोल योगदान (गोल र असिस्ट) २४ पुगेको छ, जसमा १६ गोल र ८ असिस्ट समावेश छन्।
मेस्सीको नेतृत्वमा अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। सन् १९६२ पछि कुनै पनि टोलीले लगातार दुई विश्वकप जित्न नसकेको इतिहास तोड्ने अभियानमा रहेको अर्जेन्टिनाले प्रतियोगिताको सुरुआत उत्कृष्ट ढंगले गरेको छ।
मेस्सीको यो ऐतिहासिक प्रदर्शनले विश्वभरका फुटबल समर्थकहरूलाई उत्साहित बनाएको छ र उनको नामलाई विश्व फुटबल इतिहासमा अझ उज्यालो बनाएको छ।