logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

सभामुख अर्यालद्वारा युएईलाई भिसा प्रक्रिया सहज बनाउन आग्रह, लगानी र हवाई सहकार्य विस्तारमा जोड

प्रभातफेरी अनलाइन३ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ४, बिहिबार(२ घण्टा अघि)
सभामुख अर्यालद्वारा युएईलाई भिसा प्रक्रिया सहज बनाउन आग्रह, लगानी र हवाई सहकार्य विस्तारमा जोड

काठमाडौं, सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा नेपाल–युएईबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका विषयमा छलफल भएको थियो।

सभामुख अर्यालले युएई नेपाली श्रमिक, व्यापार र लगानीका दृष्टिले नेपालको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले युएईको भिसा प्रक्रियामा नेपाली नागरिकबाट अनिवार्य रूपमा मागिने प्रहरी प्रतिवेदनको व्यवस्था पुनर्विचार गरी सहज बनाउन आग्रह गरे।

उनले नेपाल सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमार्फत सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी, डिजिटल तथा नागरिकमैत्री बनाउने दिशामा काम अघि बढाएको जानकारी दिँदै लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए। साथै, युएई भिजन २०३१ सँग तालमेल हुने गरी लगानी, पूर्वाधार, पर्यटन, ऊर्जा र प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गरे।

सभामुख अर्यालले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालनका लागि स्वीकृति प्राप्त भएकोमा खुसी व्यक्त गर्दै यसले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनको सम्भावनाबारे पनि विचार गर्न अनुरोध गरे।

प्रतिनिधिसभाले हालै संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै उनले यसबाट दुवै देशका संसद्बीच भ्रमण, अनुभव आदानप्रदान तथा संसदीय अभ्यासको साझेदारी थप सुदृढ हुने विश्वास व्यक्त गरे।

राजदूत अल शम्सीले नेपाल–युएई सम्बन्ध मैत्रीपूर्ण, सौहार्दपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै व्यापार, लगानी, पर्यटन, ऊर्जा, प्रविधि तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउन युएई सरकार सकारात्मक रहेको बताए। उनले नेपालसँगको सहकार्य विस्तार र पारस्परिक हितका नयाँ अवसरहरूको खोजी जारी रहने विश्वास व्यक्त गरे।