logo
२०८३ अषाढ ६, शनिबार |
📰
🔍

पत्रकार देवराम यादवमाथि भएको आक्रमणको विरोध, दोषीलाई तत्काल कारबाही गर्न माग

प्रभातफेरी अनलाइन१  पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ ६, शनिबार(१५ सेकेण्ड अघि)
पत्रकार देवराम यादवमाथि भएको आक्रमणको विरोध, दोषीलाई तत्काल कारबाही गर्न माग

काभ्रे / पत्रकार देवराम यादवमाथि भएको आक्रमणको घटनाप्रति विभिन्न पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल र संघीय प्रेस यूनियन एकता पक्षधरले संयुक्त विज्ञप्ति जारी गर्दै प्रेस सेन्टर नेपालका पूर्वउपाध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी पत्रकार देवराम यादवमाथि भएको आक्रमणको घोर निन्दा गरेका हुन् ।

विज्ञप्तिअनुसार सप्तरीको महादेवा गाउँपालिकामा सडकको गुणस्तरसम्बन्धी समाचार प्रकाशन गरेको विषयलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवको निर्देशनमा पत्रकार यादवमाथि आक्रमण भएको आरोप लगाइएको छ ।

आक्रमणबाट घाइते भएका गोरखापत्रका संवाददाता यादव हाल राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत छन् । घटनाका क्रममा आक्रमण रोक्न खोज्दा भोलीदेवी यादव र महेशकुमार यादवसमेत घाइते भएको र उनीहरूको पनि उपचार भइरहेको जनाइएको छ ।

पत्रकार संगठनहरूले उक्त घटनालाई फौजदारी अपराध तथा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहारको रूपमा व्याख्या गरेका छन् । साथै, यस घटनाले पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न गराएको उल्लेख गरेका छन् ।

संयुक्त विज्ञप्तिमार्फत सुरेन्द्र यादवसहित घटनामा संलग्न सबै व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न प्रशासनसँग माग गरिएको छ । दोषीमाथि शीघ्र कारबाही नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

पत्रकार संगठनहरूले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता, पत्रकारहरूको सुरक्षा तथा यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । साथै, पत्रकार देवराम यादवसहित सबै घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

संयुक्त विज्ञप्तिमा प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगर, समाजवादी प्रेस संगठन नेपालका महासचिव रोहित दाहाल तथा संघीय प्रेस यूनियन एकता पक्षधर का महासचिव दुर्गामणि सुबेदीले हस्ताक्षर गरेका छन् ।