प्रभातफेरी अनलाइन४५ पटक पढिएको | २०८३ अषाढ ३, बुधबार
काठमाडाैं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–बङ्गलादेश सम्बन्ध, क्षेत्रीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।
सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको मित्रवत् सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताए। उनले बङ्गलादेशमा जनादेशका आधारमा गठित सरकारलाई शुभकामना व्यक्त गर्दै देशको प्रगति र समृद्धिका लागि सफल कार्यकालको कामना गरे।
अर्यालले नेपालमा पनि निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै दुवै देशबीचको सहकार्य थप सुदृढ हुने र द्विपक्षीय सम्बन्धले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे। उनले बङ्गलादेशको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै त्यसका सकारात्मक अभ्यासहरू नेपालको विकास यात्राका लागि उपयोगी हुन सक्ने धारणा राखे।
उनले खेलकुद, पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरीय सम्पर्कले दुई देशका नागरिकबीचको सम्बन्ध अझ घनिष्ठ बनाएको उल्लेख गरे। फुटबल, क्रिकेट र भलिबलजस्ता खेलमार्फत युवा पुस्ताबीच मित्रता र आपसी समझदारी बढेको उनको भनाइ थियो।
भेटका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन र क्षेत्रीय सहकार्यका विषयमा समेत विचार आदानप्रदान भएको थियो। सभामुख अर्यालले विशेषगरी बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको योगदानको प्रशंसा गरे।
राजदूत रहमानले नेपाल र बङ्गलादेशले जलवायु परिवर्तन, प्राकृतिक विपद् तथा आर्थिक रूपान्तरणजस्ता साझा चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि आपसी सहकार्य, अनुभव आदानप्रदान र साझेदारीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।