प्रभातफेरी अनलाइन२६ पटक पढिएको प्रकाशित मिति: ५ घण्टा अघि (५ घण्टा अघि)
काठमाडौँ , सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजहरूको गुणस्तर सुधार, प्रभावकारी नियमन तथा उच्च शिक्षाको विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। नियमावलीले नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि नयाँ मापदण्ड लागू गरेको छ।
नियमावलीअनुसार सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्नेछ। यसअघि शिक्षा मन्त्रालयले प्रस्ताव गरेको व्यवस्थाअनुसार विश्वविद्यालय विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय र्याङ्किङमा निरन्तर समावेश भएको र कम्तीमा एक पटक उत्कृष्ट १,००० भित्र परेको हुनुपर्ने प्रावधान राखिएको थियो।
त्यस्तै, सम्बन्धित कलेजले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन (QAA) प्रक्रिया पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता तथा उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गरिनेछ।
सरकारले नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजहरूमा पनि लागू गर्ने जनाएको छ। तोकिएका मापदण्ड पूरा गर्न नसक्ने कलेजलाई सुधारका लागि निश्चित समय दिइनेछ। त्यस अवधिमा पनि आवश्यक मापदण्ड पूरा नभए सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानुनी कारबाही अघि बढाइने व्यवस्था गरिएको छ।