प्रभातफेरी अनलाइन१६ पटक पढिएको प्रकाशित मिति: ५ घण्टा अघि (५ घण्टा अघि)
काभ्रे / नमोबुद्ध नगरपालिका अन्तरगत दाप्चा स्वास्थ्य चौकीमा विषादी न्यूनीकरण तथा पोषण प्रवर्द्धनसम्बन्धी एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको सहजीकरण तथा प्राविधिक प्रस्तुतीकरण गर्नुहुदै जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले सम्पूर्ण जनस्वास्थ्य कार्यालय परिवारप्रति विशेष आभार व्यक्त गर्दै पछिल्लो समय बिषाक्त युक्त बस्तुको प्रयोग व्यापक भएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अगुवा किसान तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूलाई कृषि उत्पादनमा रासायनिक विषादीको जथाभावी प्रयोगबाट मानव स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असर, विषादीको सुरक्षित तथा विवेकपूर्ण प्रयोग, स्थानीय स्तरमा स्वस्थ र पोषणयुक्त खाद्य उत्पादन तथा सन्तुलित आहारको महत्वबारे जानकारी प्रदान गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमले सुरक्षित खाद्य उत्पादनलाई प्रवर्द्धन गर्दै समुदायमा पोषणको अवस्था सुधार गर्न, विषादीको प्रयोग न्यूनीकरण गर्न तथा जनस्वास्थ्यप्रति सबै सरोकारवालालाई थप जिम्मेवार र सचेत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा सहभागीहरूले पनि आफ्नो दैनिक जीवन र कृषि अभ्यासमा सिकेका विषयहरूलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अगुवा किसान, जनप्रतिनिधि तथा अन्य सहभागीहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
स्वास्थ चौकीका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले स्वस्थ समुदाय निर्माण, सुरक्षित खाद्य प्रणालीको विकास तथा पोषणमैत्री समाज निर्माणमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको बताएको छ ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना तथा नमोबुद्ध नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आइतबार नमोबुद्ध नगरपालिका–२ स्थित दाप्चा स्वास्थ्य चौकीमा विषादी न्यूनीकरण तथा पोषण प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।