logo
२०८३ श्रावण ७, बिहिबार |
📰
🔍

काभ्रेको भुम्लुमा करेन्ट लागेर महिलाको मृत्यु

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ श्रावण ७, बिहिबार
काभ्रेको भुम्लुमा करेन्ट लागेर महिलाको मृत्यु

काभ्रे, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डाँडाथोक तल्लोटारमा विद्युतीय पोल अड्याउन प्रयोग गरिएको तार (स्टे वायर) मा करेन्ट प्रवाह हुँदा एक महिलाको ज्यान गएको छ।

मृत्यु हुनेमा भुम्लु गाउँपालिका–७ फलाँटे निवासी ४५ वर्षीया देवी उप्रेती, विनोदनाथ उप्रेतीकी श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान करिब ११ः३० बजे स्थानीय बजारमा दूध पुर्‍याउन पैदल हिँड्दै जाने क्रममा उनी विद्युतीय पोल अड्याउन प्रयोग गरिएको स्टे वायरको सम्पर्कमा पुगेकी थिइन्। उक्त तारमा करेन्ट प्रवाह भइरहेका कारण उनी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो। त्यसपछि घटनास्थल मुचुल्का, प्राविधिक परीक्षण तथा प्रमाण संकलनका लागि प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको नेतृत्वमा SOCO सहितको टोली खटिएको थियो।

प्रहरीले घटनास्थलको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। विद्युतीय पोल अड्याउन प्रयोग गरिएको तारमा कसरी करेन्ट प्रवाह भयो भन्ने विषयमा नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।