प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण ७, बिहिबार
काठमाडौं, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिकूल नीति अवलम्बन गरेको आरोप लगाउँदै साउन ९ गते काठमाडौंको माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
बिहीबार जारी संयुक्त विज्ञप्तिमा वर्तमान सरकारले प्रेस स्वतन्त्रताको संवैधानिक मर्मअनुसार सञ्चार क्षेत्रमैत्री नीति ल्याउने अपेक्षा गरिए पनि व्यवहारमा सञ्चारमाथि दबाब, अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन र सञ्चारगृह लक्षित गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ। महासंघले यसले नेपाली सञ्चार क्षेत्रलाई स्वनियन्त्रण (Self-censorship) को डरलाग्दो अवस्थातर्फ धकेलेको दाबी गरेको छ।
महासंघले समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगार सञ्चार माध्यमको संरक्षण, लोककल्याणकारी विज्ञापन व्यवस्थाको सुधार, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चार क्षेत्रसँग सम्बन्धित संरचनाको गठन तथा पत्रकारको बीमा र सामाजिक सुरक्षालगायतका मागप्रति सरकारले अपेक्षित चासो नदेखाएको जनाएको छ।
विज्ञप्तिमा निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतको आदेशबाट हटाइएको स्वागत गरिए पनि उक्त आदेशको प्रभावकारी कार्यान्वयनप्रति आशंका व्यक्त गरिएको छ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारगृहको सुरक्षा र नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारले प्रतिकूल नीतिहरू तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ। साथै, संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय मान्यता र लोकतान्त्रिक अभ्यासको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ।
उक्त मागलाई थप सशक्त बनाउन साउन ९ गते शनिबार दिउँसो ३ बजे माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन गरिने जनाउँदै महासंघले सञ्चारकर्मी, नागरिक अधिकारका पक्षधर र सरोकारवालालाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
संयुक्त विज्ञप्तिमा उपत्यका प्रदेश समितिकी कार्यवाहक अध्यक्ष रोजिना थापा (कार्की), काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की तथा भक्तपुर शाखाका अध्यक्ष सुन्दर सिल्पकारको हस्ताक्षर रहेको छ।