प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ श्रावण ९, शनिबार
टोरण्टो, क्यानडाको ब्राम्पटन शहरमा आज शनिबार ‘तेश्रो नेपाल फेस्टिवल–२०२६’ आयोजना हुँदैछ। लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा हुने महोत्सव नेपाली भाषा, कला, संस्कृति, भेषभूषा, संगीत, परिकार, हस्तकला तथा नेपाली उत्पादनको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

आयोजकका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ। ब्राम्पटन सिटीको सपर वर्ल्ड कम्प्लेक्स परिसरमा दिउँसो १ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा ३० भन्दा बढी व्यावसायिक तथा सामाजिक स्टल रहनेछन्। नेपाली परिकारका स्टलसँगै विभिन्न जातजातिका सांस्कृतिक झाँकी, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, मधेसी समुदायका नृत्य तथा लाखेनाच पनि प्रस्तुत गरिनेछ।

कार्यक्रममा प्रवेश र पार्किङ निःशुल्क रहनेछ भने करिब १० हजारभन्दा बढी दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ।
महोत्सवको उद्घाटन क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले गर्ने कार्यक्रम छ। कार्यक्रममा क्यानडाका सिटिजन्स तथा मल्टिकल्चरल मन्त्री ग्राहाम म्याकग्रेगोर, संघीय सांसद सोनिया सिधु, अमन दीप, एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटालगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।
खेम सेन्चुरीसहित चर्चित कलाकारको विशेष प्रस्तुति
महोत्सवको मुख्य आकर्षणका रूपमा लोकप्रिय लोकगायक तथा संगीतकार खेम सेन्चुरीको विशेष सांगीतिक प्रस्तुति रहनेछ। उनले ‘म त ढलेँ ढलेँ’, ‘मायालाई पानको पात’, ‘सोचेझैँ जिन्दगी रैनछ’, ‘झ्यालमा पर्दा छ’, ‘लरिलरिलै’, ‘उखु गुलियो’, ‘अरेली काँडैले’, ‘जाम साइँली’ लगायत आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन्।

त्यसैगरी गायक चेतन सापकोटा, लोकगायिका देवीका केसी, गायक मानसिंह खड्का, अर्जुन कुमार, बिन्दा परियार, आशीर्वाद सुवेदी लगायत दर्जनभन्दा बढी कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ। यस अघि पनि लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा ब्राम्पटनमा पहिलो र दोस्रो नेपाल फेस्टिवल सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यस वर्षको तेस्रो संस्करणले पनि क्यानडामा रहेका नेपाली समुदायबीच भाषा, कला, संस्कृति र पहिचानलाई अझ सशक्त रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।