प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ श्रावण ९, शनिबार
काठमाडौं, गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा गौर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझीलाई जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। उनी जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कारागारमा कैद भुक्तान गरिरहेका थिए।
प्रहरीका अनुसार, माझी गत भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। गाउँघरमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा उनलाई रौतहटको कटहरिया नगरपालिका–७ बगहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।
पक्राउ परेका माझीलाई बाँकी कैद भुक्तानका लागि गौर कारागारमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सर्वोच्च अदालतले विसं २०६८ फागुन २५ गते रौतहटको कटहरिया नगरपालिका–७ मा पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा माझीलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाएको थियो।