logo
२०८३ श्रावण ३०, शनिबार |
📰
🔍

यशोदाको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
यशोदाको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक

काठमाडौं / अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी गीतकार तथा रजिस्टर्ड नर्स यशोदा सापकोटा कार्कीको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक भएको छ। नेपाली संस्कृति, परम्परा तथा आमा–छोरीबीचको आत्मीय सम्बन्धलाई विषयवस्तु बनाइएको गीत आगामी तीज पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको हो।

‘ए मैना सुनन’मा गायिका निशा कँडेलको स्वर, यशोदा सापकोटा कार्कीको शब्द र टिका दहालको संगीत रहेको छ। गीतको एरेन्ज अल्मोडा राना उप्रेतीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ रङ्गीत बल्लभ उप्रेतीले गरेका हुन्।

करिब १२ वर्षदेखि सिड्नीको एक सार्वजनिक अस्पतालमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत कार्की तीन सन्तानकी आमा तथा व्यवसायीसमेत हुन्। प्रवासको व्यस्त जीवनका बाबजुद नेपाली भाषा, संस्कृति र परम्पराप्रतिको आफ्नो लगावलाई संगीतमार्फत जीवन्त राख्ने उद्देश्यले उनले पहिलोपटक तीज गीत सिर्जना गरेकी हुन्।

गीतको भिडियो गम्भीर विष्टको निर्देशनमा तयार भएको हो। भिडियोमा मोडल बिना राउतको शीर्ष अभिनय रहेको छ। पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा देवदोर्जे लामाको छायांकन, मणिक पाख्रिनको आर्ट डाइरेक्सन तथा प्रबिन भट्टको सम्पादन र कलर संयोजन रहेको छ।

भिडियोमा तीजको सांस्कृतिक पक्षसँगै आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। तीजका अवसरमा नेपाली महिलाले माइती, परिवार तथा प्रियजनसँग साट्ने आत्मीय भावनालाई गीतमार्फत समेटिएको निर्माण पक्षले जनाएको छ।

नियरबाइ क्याटरिङ र नीका टेक्नोलोजीको संयुक्त लगानीमा निर्माण भएको गीतको भिडियो ‘नेपाल क्युब’ (Nepal Cube) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रवासमा रहेर पनि आफ्नो माटो, मौलिकता र पारिवारिक सम्बन्धसँग जोडिइरहने नेपालीको भावनालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको गीतकार कार्कीले बताएकी छन्।

भिडियो लिंक: