प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ श्रावण ३०, शनिबार
नुवाकोट / नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस र ईभी भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान पौने ९ बजे टोखा–छहरे सडकखण्डमा काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा १ ख ००५२ नम्बरको बस सडक छेउमा रोकिराखेको अवस्थामा अचानक आफैं गुडेर दुर्घटनामा परेको हो।
चालक र यात्रुहरू खाजा खान गएका बेला गुडेको बसले सडक छेउमा रोकिराखेको बा ३ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई समेत ठक्कर दिएको थियो। दुवै सवारीसाधन सडकबाट करिब ३०–४० मिटर तल खसेका प्रहरीले जनाएको छ।
दुर्घटनामा काभ्रेको बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछाप ठाडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको छ।
घाइते हुनेमा सुजता पोखरेल, सर्मिला श्रेष्ठ र ज्ञानु श्रेष्ठ रहेका छन्। उनीहरूको काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस रोकेर यात्रुहरू खाजा खान गएकाले दुर्घटनाका बेला बसमा कति यात्रु थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले बस चालक काभ्रेको पाँचखाल–७ का ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।