प्रभातफेरी अनलाइन१ पटक पढिएको | २०८३ श्रावण २५, सोमबार
विराटनगर / सूचना प्रविधि क्षेत्रलाई काठमाडौंमा मात्र सीमित नराखी प्रादेशिक स्तरमा विस्तार गर्ने उद्देश्यले ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक गरिएको छ। कोशी प्रदेशलाई क्षेत्रीय आईटी हबका रूपमा विकास गर्ने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कोशी प्रदेशले रणनीतिक मार्गचित्र सार्वजनिक गरेको हो।

‘Kathmandu 2 Biratnagar Digital Corridor to Make Koshi Regional IT Hub’ नारासहित अघि बढाइएको अभियानको रणनीतिक खाका ‘Koshi Regional IT Hub’ दस्ताबेजमा समेटिएको छ।
क्यान महासंघ कोशी प्रदेशको आयोजनामा तथा मोरङ, सुनसरी र उदयपुर जिल्ला शाखाको सहकार्यमा ‘डिजिटल नेपाल विकेन्द्रीकरण संवाद’ सम्पन्न भएको हो। कार्यक्रम क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईको अध्यक्षतामा तथा क्यान महासंघका कार्यवाहक अध्यक्ष एवं सूचना प्रविधि क्षेत्रका नेता चिरञ्जीवी अधिकारीको प्रमुख उपस्थितिमा सम्पन्न भएको जनाइएको छ।
कार्यक्रममा क्यान महासंघका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठले चिरञ्जीवी अधिकारीले विकास गरेको अवधारणात्मक खाकाको प्रशंसा गर्दै कोशी प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा मार्गचित्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
क्यान महासंघ कोशी प्रदेशका अध्यक्ष सन्देश राईले कोशी क्षेत्रलाई क्षेत्रीय आईटी हबका रूपमा विकास गर्न प्रदेशका सबै सरोकारवालासँग समन्वय र सहकार्य गर्न आफूहरू तयार रहेको बताए।
क्यान महासंघ मोरङका अध्यक्ष सुमितकुमार शाहले स्थानीय प्रतिभा र प्रविधि स्टार्टअपलाई प्रवर्द्धन गर्न नीतिगत बहस तथा पैरवी आवश्यक रहेको बताए। सुनसरीका अध्यक्ष लोकेन्द्रप्रसाद ढकालले स्थानीय आईटी व्यवसायी तथा उद्यमीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, क्यान महासंघ उदयपुरका अध्यक्ष राजन आचार्यले डिजिटल नेपालको विकेन्द्रीकृत अवधारणालाई सफल बनाउन कोशी क्षेत्रमा बलियो आईसीटी फाउन्डेसन निर्माण गर्नुपर्ने बताए।
विराटनगर–इटहरी–धरानलाई प्रविधि कोरिडोर बनाउने लक्ष्य
रणनीतिक दस्ताबेजमा विराटनगर, इटहरी र धरानलाई एउटै बृहत् प्रविधि कोरिडोरका रूपमा विकास गर्ने सम्भावना औँल्याइएको छ। विराटनगरलाई प्रशासनिक केन्द्र, औद्योगिक आधार र सीमावर्ती व्यापारिक नाकाका कारण डिजिटल अर्थतन्त्रको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख छ।
औद्योगिक क्षेत्रमा ईआरपी, अटोमेसन र साइबर सुरक्षाको बढ्दो माग तथा सीमावर्ती व्यापारका कारण सप्लाई चेन, लजिस्टिक्स र डाटा एनालिटिक्समा नयाँ अवसर सिर्जना गर्न सकिने दस्ताबेजमा उल्लेख छ।
‘नेपाल मेड सफ्टवेयर’ उत्पादन र निर्यातमा जोड
अभियानको उद्देश्य तालिम र सेमिनारमा मात्र सीमित नराखी स्थानीय मागलाई सम्बोधन गर्ने प्रविधि उत्पादन विकास गर्दै ‘नेपाल मेड सफ्टवेयर’ विश्व बजारमा निर्यात गर्ने रहेको जनाइएको छ।
हेल्थ–टेक, एग्रि–टेक, साइबर सुरक्षा तथा एआईमा आधारित सार्वजनिक सेवालाई प्राथमिकताका क्षेत्रका रूपमा अघि सारिएको छ।
मार्गचित्र कार्यान्वयनका लागि बजेट २०८३/८४ पछिको समयलाई उपयुक्त अवसरका रूपमा लिइएको छ। प्रारम्भिक ०–१०० दिनको कार्ययोजनाअन्तर्गत विशेष कार्यदल गठन तथा स्थानीय आईटी कम्पनी र फ्रिलान्सरहरूको म्यापिङ गर्ने तयारी गरिएको जनाइएको छ।
क्यान महासंघ कोशी प्रदेशले विभिन्न सरोकारवालाबीचको सहकार्य र परामर्शमार्फत डिजिटल नेपालको अर्को चरणमा कोशी प्रदेशलाई महत्वपूर्ण आईटी केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।