प्रभातफेरी अनलाइन५७ पटक पढिएको | २०८३ भाद्र १३, शनिबार
त्रिशुली -बट्टार / त्रिशूली नदी तथा यसका सहायक नदीहरूमा आएको असाधारण बाढीका कारण रसुवादेखि चितवनसम्म ठूलो मात्रामा धनजनको क्षति भएको छ । बाढीले विभिन्न स्थानका पक्की पुलसमेत बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ।
बाढीबाट त्रिशूली नदी पारिका क्षेत्रमा धेरै मानिस प्रभावित भए पनि उनीहरूको उद्धार तथा राहतका लागि तत्काल प्रभावकारी योजना आवश्यक देखिएको लायन्स क्लब्स इन्टरनेशनलले जनाएको छ। राहत तथा उद्धारका सेवा कार्यहरू नदीवारिका तुलनात्मक रूपमा सुगम स्थानमा मात्रै केन्द्रित भइरहेकाले नदीपारिका प्रभावितसम्म तत्काल पुग्नुपर्नेमा क्लबले जोड दिएको छ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई, नेपालका क्याबिनेट सेक्रेटरी अनुज कुमार श्रेष्ठले सुरक्षा निकाय, प्रशासन तथा सामाजिक संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। उनका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुर्याउन नदीपारि जाने तत्कालीन कार्ययोजना बनाउनुपर्ने अवस्था छ।
जलसतह तीव्र रूपमा बढिरहेका कारण त्रिशूली नदीका तटीय क्षेत्र थप जोखिममा परेका छन्। अविरल वर्षाका कारण नदीको बहाव उच्च हुँदा किनारका बस्तीहरूमा बाढी र कटानको जोखिम बढेको छ।
यसैबीच, लायन्स क्लब्स इन्टरनेशनलले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा सचेतनाका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। क्लबका स्वयंसेवकहरू जोखिमयुक्त बस्तीमा पूर्वसूचना प्रवाह, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय, राहत वितरण र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोगमा खटिएका छन्।
बाढी प्रभावितहरूका लागि खाना खुवाउने कार्यसमेत भइरहेको र स्वयंसेवकहरू समूह बनाएर प्रभावित क्षेत्रमा परिचालन गरिएको क्लबले जनाएको छ। साथै, बाढीपछि फैलिन सक्ने सरुवा रोगबाट बच्न तथा सुरक्षित खानेपानी प्रयोगबारे सचेतना फैलाउन स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू परिचालन गरिएको छ।
लायन्स क्लबले त्रिशूली तथा आसपासका नदीमा पानीको बहाव सामान्य नभएसम्म नदी किनारमा नजान, माछा मार्ने तथा बालुवा निकाल्नेजस्ता गतिविधि नगर्न आग्रह गरेको छ। उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित र उच्च स्थानमा स्थानान्तरण गर्न तथा बाढी–पहिरोका कारण जोखिम बढेका सडकमा अत्यावश्यकबाहेकका यात्रा स्थगित गर्न पनि आग्रह गरिएको छ।
स्थानीय युवा क्लब, आमा समूह तथा टोल सुधार समितिसँग सहकार्य गरी रातको समयमा समेत सम्भावित जोखिमको निगरानी बढाउनुपर्नेमा लायन्स क्लबले जोड दिएको छ।
क्लबका क्याबिनेट सेक्रेटरी श्रेष्ठले विपद्को यस घडीमा धैर्यता, संयम र पारस्परिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रभावितहरूको सेवामा लायन्स परिवार निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।