logo
२०८३ आश्विन ३०, शुक्रबार |
☰
📰
🔍
✕

सरकारले विभिन्न निकायमा गर्‍यो ६११ जनाको नियुक्ति

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ आश्विन ३०, शुक्रबार
सरकारले विभिन्न निकायमा गर्‍यो ६११ जनाको नियुक्ति

काठमाडौँ । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न सरकारी तथा सार्वजनिक निकायमा ६११ जनाको नियुक्ति भएको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विभिन्न मन्त्रालयअन्तर्गतका स्वायत्त निकाय, बोर्ड, काउन्सिल, संस्थान, आयोग तथा विश्वविद्यालयलगायतमा नियुक्ति र पदपूर्ति गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार ८० वटा निकायमा ४१९ जनाको नियुक्ति तथा पदपूर्ति भएको छ। त्यस्तै, मन्त्रिपरिषद्को निर्णयबाट १४ जना र विश्वविद्यालय, आयोग तथा प्रतिष्ठानमा १७८ जनाको नियुक्ति भएको उहाँले बताउनुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका १३ निकायमा १५९ जना, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका १५ निकायमा ८२ जना र शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतका १८ निकायमा ७० जनाको नियुक्ति भएको छ।

सरकारले विभिन्न निकायमा योग्य, व्यावसायिक तथा विषयगत विज्ञलाई पारदर्शी रूपमा नियुक्त गरिएको जनाएको छ। यी नियुक्तिले जनस्वास्थ्य, शिक्षा, आर्थिक नियमन तथा सांस्कृतिक क्षेत्रका सेवा प्रभावकारी बनाउन सहयोग पुग्ने सरकारको भनाइ छ।