प्रभातफेरी अनलाइन७० पटक पढिएको | २०८३ भाद्र १३, शनिबार
१. उद्धार र राहत वितरणमा असाध्यै सुस्त ढंगले काम भइरहेको छ। स्थानीय तहमा उद्धार र राहतको काम प्रभावकारी रूपमा हुन सकेको देखिँदैन। सेनाको ब्यारेकमा राहत सामग्री थुप्रिएको छ, तर वास्तविक पीडितसम्म पुग्ने अवस्था अत्यन्त कमजोर देखियो।
२. त्रिशूलीलाई केन्द्र बनाएर मात्रै काम भइरहेको छ। बाढीको ‘जिरो प्वाइन्ट’सम्म सरकार पुग्ने त परै जाओस्, त्यहाँसम्म पुगेर वास्तविक अवस्था बुझ्ने प्रयाससमेत पर्याप्त भएको देखिएन। जहाँ सबैभन्दा बढी आवश्यकता छ, त्यहीँ राज्यको उपस्थिति कमजोर छ।
३. देवघाट क्षेत्रको अवस्था अत्यन्त दयनीय छ। बाढीपछि थुप्रिएको फोहोर र क्षतविक्षत संरचनाका कारण पूरा क्षेत्र दुर्गन्धित बनेको छ। अहिले त्यहाँ केहीबेर उभिनसमेत कठिन हुने अवस्था छ। तत्काल सरसफाइ र व्यवस्थापन आवश्यक छ।
४. गृहमन्त्री सुधन गुरुङ आफैँ फिल्डमा हुनुहुन्छ। विपद्का बेला फिल्डमा खटिएर काम गरेको अनुभव भएकाले उहाँले परिस्थितिलाई केही हदसम्म सम्हाल्नुहुन्छ भन्ने अपेक्षा सुरक्षा निकाय र स्थानीय तहमा पनि देखिन्थ्यो। तर, आजको अवस्थालाई हेर्दा उहाँ स्वयं पनि परिस्थितिको व्यवस्थापनमा अलमलिएको जस्तो देखियो। विपद्को यो घडीमा व्यक्तिगत सक्रियताभन्दा पनि स्पष्ट कमान्ड, समन्वय र तत्काल निर्णय आवश्यक छ।
५. प्रधानमन्त्री हरेक दिन सामाजिक सञ्जालका स्टाटसमा देखिनुहुन्छ, आकाशमा हेलिकोप्टर उडेको उड्यै छ। तर, स्थानीय तहमा जनताले राज्यको उपस्थिति महसुस गर्न सकेका छैनन्। जनताको पीडा आफ्नै आँखाले देख्नुभयो भने यति निरीह प्रशासन पनि हुन्छ र भन्ने अनुभूति हुन सक्छ। विपद् व्यवस्थापन स्टाटस र हेलिकोप्टरको दृश्यमा होइन, पीडितको घरदैलोमा देखिनुपर्छ।
अन्तिममा—मैले जे देखेँ, त्यही लेखेको हुँ। कसैलाई खुसी पार्न वा कसैलाई दोषी देखाउन यो लेखिएको होइन। पीडितको आवाज राज्यसम्म पुगोस् भन्ने उद्देश्य मात्रै हो।
तर, सुविधासम्पन्न घर वा विदेशका सुरक्षित कोठामा बसेर विपद्मा पनि जयजयकार गर्नेहरू गालीमा उत्रिनेछन् भन्ने मलाई थाहा छ। अझ आफ्नो श्रीमान् खोजिदिनुस् भनेर अपिल गरिरहेकी पीडित ‘महिलाप्रति समेत ब’लात्का’रको धम्की दिने’ तहको अमानवीय सोच राख्नेहरूलाई भने यस विषयमा बोल्ने नैतिक अधिकार छैन।