प्रभातफेरी अनलाइन४ पटक पढिएको | ३८ मिनेट अघि
काठमाडौं / गायिका अञ्जु श्रेष्ठले यस वर्षको तीज अवसरमा ‘एक वर्षमा एकचोटि’ बोलको तीज गीत सार्वजनिक गरेकी छन्।
प्रायः हरेक वर्ष तीजको अवसरमा आफ्ना गीतिसँगै आउने अञ्जुले यसपटक पनि तीजको कोसेलीस्वरूप नयाँ गीत ल्याएकी हुन्। गीतको तयारी र छायांकनसमेत पूरा भइसकेपछि रसुवामा गएको बाढीका कारण देश शोकमा डुबेको अवस्थामा गीत सार्वजनिक गर्ने विषयमा आफू पनि भावुक बनेको उनले बताएकी छन्।
गीत निर्माणमा खर्च भइसकेको र भिडियोसमेत तयार भइसकेकाले परिस्थितिका बीच बाध्यतावश गीत बजारमा ल्याएको अञ्जुको भनाइ छ। देशको संवेदनशील अवस्थाप्रति आफू पनि संवेदनशील रहेको बताउँदै उनले दर्शक तथा श्रोताबाट साथ र सहयोगको आग्रह गरेकी छन्।
अञ्जुको स्वरमा रहेको गीतमा उनी स्वयंले अभिनय तथा नृत्य गरेकी छन् भने डिम्पल नगरकोटीले नृत्यमार्फत साथ दिएकी छन्। गीतको कोरियोग्राफी तथा निर्देशन मौसम हिमालीले गरेका हुन्।
गंगामाया श्रेष्ठ निर्माता रहेको गीतको भिडियो छायांकन दिनेश पराजुलीले गरेका छन्। मनोज कार्कीले कलर तथा सम्पादन र संगीता मिजारले शृंगारको जिम्मेवारी सम्हालेकी छन्।
‘एक वर्षमा एकचोटि’ का शब्द दीपक शर्मा र निशान साउदले लेखेका हुन् भने संगीत दीपक शर्माको रहेको छ। नरेन्द्र वियोगीले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन्।