प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
काठमाडौँ / पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। ग्यास बुलेट काठमाडौँ आउन नसक्ने भएपछि नेपाल आयल निगमले तत्काल व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक लगाउँदै घरायसी तथा अत्यावश्यक उपभोक्तालाई मात्र ग्यास उपलब्ध गराउने निर्णय गरेको छ।
निगम र ग्यास विक्रेता महासंघबीचको बैठकले उपत्यकामा ग्यास अभाव हुन नदिन तराईका उद्योगबाट सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाउने निर्णय गरेको छ। कठिन अवस्थामा ल्याइएको ग्यास समानुपातिक रूपमा वितरण गर्न विक्रेतालाई निर्देशन दिइएको छ।
विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, आश्रम, अपाङ्गता भएका व्यक्ति तथा बाढीपीडितका लागि सञ्चालनमा रहेका केन्द्रलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइनेछ। व्यावसायिक प्रयोजनका ठूला उपभोक्ताले भने सम्बन्धित डिलर वा उद्योगसँग समन्वय गरी खाली सिलिन्डर तराईमा रिफिल गराएर ल्याउनुपर्नेछ।