प्रभातफेरी अनलाइन६६ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
काठमाडौं / वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को १३औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।

साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा आगामी कार्यदिशाबारे समीक्षा गरिएको थियो। कार्यक्रममा साधारण सदस्य, स्थानीय तहका प्रतिनिधि, सरकारी विद्यालयका प्रतिनिधि, विकास साझेदार तथा सहयोगी निकाय, निजी क्षेत्र, साझेदार संस्था र कर्मचारीसहित करिब ४० जनाको सहभागिता रहेको थियो।
अध्यक्ष अमोद कर्माचार्यको अध्यक्षतामा सम्पन्न सभामा उपसचिव सुरेश विश्वकर्माले स्वागत मन्तव्य तथा सचिव प्रार्थना न्यौपानेले कार्यक्रम सहजीकरण गर्नुभएको थियो।
सभामा कोषाध्यक्ष सिमरन शेरचनले आर्थिक प्रतिवेदन, सुजन एस. एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सुजन सुवेदीले वित्तीय लेखापरीक्षण प्रतिवेदन, कार्यकारी निर्देशक रविन्द्र लामिछानेले संस्थाको प्रगति प्रतिवेदन तथा सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रतिवेदनमाथिको छलफलमा संस्थाको कार्यसम्पादन, वित्तीय अनुशासन, पारदर्शिता, सामाजिक प्रभाव, कार्यान्वयनका चुनौती तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे सदस्य तथा सरोकारवालाबीच छलफल भएको थियो।
कार्यक्रममा गैरसरकारी संस्था महासंघकी महासचिव देवी खड्का, ICIMOD की Intervention Manager Erica Udas, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरी तथा Community Information Network (CIN) का पत्रकार लिलप्रकाश चन्दले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा क्लिन अप नेपालले गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा स्थानीय सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र समुदायबीचको सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको थियो।
साधारणसभाका अवसरमा संस्थाका कार्यक्रम तथा गतिविधिमा निरन्तर सहयोग र सहकार्य गर्दै आएका विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
क्लिन अप नेपालले आगामी दिनमा संस्थागत पारदर्शिता, वित्तीय अनुशासन, जवाफदेहिता तथा उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्दै वातावरण संरक्षण, दिगो फोहोरमैला व्यवस्थापन र उत्थानशील समुदाय निर्माणका लागि विभिन्न सरोकारवालासँगको सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।