logo
२०८३ भाद्र २०, शनिबार |
📰
🔍

मिडियामार्फत सम्बन्धित निकायको ध्यानाकर्षण

प्रभातफेरी अनलाइन० पाठक संख्या | ४३ मिनेट अघि
मिडियामार्फत सम्बन्धित निकायको ध्यानाकर्षण

नुवाकोट / लायन्स क्लब अफ काठमाडौं गुल्मोरको पहल तथा सहयोगमा, लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई अन्तर्गत रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा बाढी/पहिरोबाट प्रभावित नागरिकहरूका लागि राहत वितरण कार्यक्रम सम्पन्न गरिएको थियो। स्थानीय पालिकासँगको समन्वयमा कार्यक्रम सम्पन्न गर्न पाउँदा हामी खुशी पनि भएका छौँ भन्दै अभियन्ता हरुले केहि गुनासो पोखेका छन् ।

तर राहत वितरणका क्रममा एउटा गम्भीर र दुःखद प्रश्न हाम्रो मनमा उठेको छ।

पीडितहरू बसोबास गर्ने ‘सेल्टर’ मा राहत सामग्री लिएर पुग्दा त्यहाँ वास्तविक पीडितहरूलाई प्रत्यक्ष भेट्न सकेनौँ। जुन स्थानलाई पीडितहरू बस्ने ठाउँ भनेर देखाइएको थियो, त्यहाँ राहत वितरण गर्ने क्रममा पीडितको उपस्थिति नदेखिनु अत्यन्तै चिन्ताको विषय हो।

हामीले राहत सामग्री सेल्टरमा थुपार्न मात्र होइन, वास्तविक पीडितको हातसम्म पुर्‍याउन दिएका हौँ। राहतको उद्देश्य नै विपद्बाट प्रभावित परिवारलाई तत्काल सहयोग गर्नु हो। त्यसैले राहत सामग्री कहाँ पुग्यो, कसले बुझ्यो र वास्तविक पीडितसम्म कति पुग्यो भन्ने विषयमा पारदर्शिता र जवाफदेहिता आवश्यक छ।

यस विषयमा सम्बन्धित स्थानीय तह, प्रशासन तथा सरोकारवाला निकायले निष्पक्ष छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्छ भन्ने हाम्रो माग छ।

अभियन्ताहरु भन्छन कसैलाई आरोप लगाउन चाहँदैनौँ। तर राहतका नाममा प्राप्त सामग्री वास्तविक पीडितसम्म नपुगी कतै ‘डम्प’ मात्र गरिएको हो कि भन्ने प्रश्न उठेको छ भने त्यसको स्पष्ट जवाफ सम्बन्धित निकायबाट आउन आवश्यक छ।

राहत दाताको नामका लागि होइन, पीडितको आवश्यकताका लागि हो। राहत सामग्री गोदाममा होइन, वास्तविक पीडितको हातमा पुग्नुपर्छ।

यस विषयमा सञ्चारमाध्यमले पनि सत्यतथ्य बाहिर ल्याउन आवश्यक छ। हाम्रो उद्देश्य कसैलाई बदनाम गर्नु होइन; विपद्मा परेका नागरिकका लागि आएको सहयोग सही व्यक्तिसम्म पुगोस् ।