प्रभातफेरी अनलाइन२ पटक पढिएको | १ घण्टा अघि
नुवाकोट / नुवाकोटको लच्याङदेखि रसुवाको पार्च्याङ आसपासको सडकखण्ड हिलाम्मे, खाल्डाखुल्डी तथा साँघुरो भएका कारण सवारी आवागमनमा समस्या भएपछि उक्त सडकखण्डमा अस्थायी रूपमा एकतर्फी सवारी सञ्चालन गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार काठमाडौं–रसुवा चल्ने सवारीलाई बाहुनबेंसी आसपासमा रोकी दिउँसो १२ बजेपछि मात्रै रसुवातर्फ पठाइने व्यवस्था गरिएको छ। त्यस्तै, विदुर–चोगदे–लच्याङ हुँदै रसुवा जाने सवारीले चोगदेमै रोकिएर १२ बजेपछि मात्रै लच्याङतर्फ जानुपर्नेछ।
रसुवाबाट काठमाडौं आउने सवारी भने दिउँसो १२ बजेसम्म उक्त सडकखण्ड पार गरिसक्नुपर्ने जनाइएको छ। सडकको अवस्थालाई ध्यानमा राख्दै सम्भव भएसम्म फोर–ह्विल ड्राइभ (4WD/4×4) सवारी प्रयोग गर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ।
एकतर्फी सञ्चालनको अवधिमा ओभरटेक नगर्न, विपरीत लेनमा प्रवेश नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न चालक तथा यात्रुहरूलाई अनुरोध गरिएको छ।