प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र २०, शनिबार
काठमाडौँ / स्वयंसेवी अभियान ‘ग्रीन आर्मी नेपाल’का प्रमुख सविन शर्माले सरकार वा नागरिक तहबाट प्रश्न उठे संगठनको नाम परिवर्तन गर्न तथा नेपाल प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्न आफूहरू तयार रहेको बताएका छन्।
एक अन्तर्वार्ताका क्रममा शर्माले आफूहरू जनताको भावना र आवश्यकताअनुसार विपद्का बेला स्वयंसेवामा खटिएको उल्लेख गर्दै राज्यलाई कुनै आर्थिक भार नपारेको दाबी गरे। सरकारले हालको स्वरूपमा काम गर्न नमिल्ने बताए नाम परिवर्तन गरेर ‘ग्रीन नेपाल’ वा अन्य नाममा अघि बढ्न आफूहरू तयार रहेको उनको भनाइ छ।
उनले विपद्का समयमा नेपाली सेना र प्रहरीसँगै फिल्डमा खटिएर काम गरेको स्मरण गर्दै स्वयंसेवकहरूले आफ्नै खर्चमा सेवा गरिरहेको बताए। राज्यले औपचारिक रूपमा परिचालन गर्न चाहे ग्रीन आर्मीलाई नेपाल प्रहरीको जिम्मा दिनसमेत आफूहरू तयार रहेको उनले स्पष्ट पारे।
विपद्को समयमा सेना र प्रहरीसँगै नागरिकस्तरको स्वयंसेवाले पनि महत्वपूर्ण भूमिका खेल्ने भन्दै शर्माले राज्यले नागरिक स्वयंसेवालाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखेका छन्।