logo
२०८३ भाद्र २२, सोमबार |
📰
🔍

कृष्णभिरमा सडक अवरुद्ध भए पनि तीन दिनमा काठमाडौं भित्रियो ८८ हजार सिलिन्डर ग्यास

प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ भाद्र २२, सोमबार
कृष्णभिरमा सडक अवरुद्ध भए पनि तीन दिनमा काठमाडौं भित्रियो ८८ हजार सिलिन्डर ग्यास

काठमाडौँ / पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान एलपी ग्यास सिलिन्डर भित्रिएको छ।

नेपाल आयल निगमका अनुसार भदौ १८ देखि २० गतेसम्म ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको हो। सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै निगमले तराईका उद्योगबाट ग्यास रिफिल गराएर वैकल्पिक मार्गमार्फत काठमाडौं ल्याउने व्यवस्था मिलाएको जनाएको छ।

निगमका अनुसार भदौ १८ गते २४ हजार ४ सय ९४, १९ गते ३४ हजार १ सय ३४ र २० गते २९ हजार २ सय ४९ सिलिन्डर काठमाडौं आइपुगेका छन्।

काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डरलाई अर्को व्यवस्था नभएसम्म बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीस्थित उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ।

यसरी आपूर्ति भइरहेका ग्यासमा एभरेस्ट सुगम, नेपाल, एचपी (हिमालयन), एसटीसी (मेट्रो काठमाडौं), सिद्धार्थ, हिमाल (गौरीशंकर), सीताश्री र नमस्तेलगायत ब्रान्डका सिलिन्डर छन्। निगमका अनुसार विभिन्न १६ उद्योगबाट ग्यास निरन्तर काठमाडौं भित्रिरहेको छ।

कृष्णभिर खण्डको सडक नियमित सञ्चालनमा नआएसम्म यही वैकल्पिक प्रक्रियामार्फत ग्यास आपूर्ति तथा बिक्री–वितरणलाई निरन्तरता दिइने नेपाल आयल निगमले जनाएको छ।