प्रभातफेरी अनलाइन४४ पटक पढिएको | २०८३ भाद्र ३०, मंगलबार
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। भदौ २८ गतेदेखि परीक्षणका रूपमा सवारीसाधन सञ्चालनमा आइसकेको उक्त सडकमा असोज १ गतेदेखि पूर्ण रूपमा दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधन गर्दै बाढीबाट क्षतिग्रस्त कृष्णभीर सडकखण्ड भदौभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए। सोहीअनुसार पूर्वाधार विकास मन्त्रालय र सडक विभागले प्राविधिक अध्ययनपछि नयाँ ट्रयाक निर्माण अघि बढाएका हुन्।
सडक विभागका अनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरी कृष्णभीर क्षेत्रमा करिब ३५ मिटर उचाइ र पहाडभित्र २० मिटर काटेर नयाँ ट्रयाक निर्माण गरिएको हो। करिब ५० जना प्राविधिक तथा कामदारले दैनिक १२ देखि १६ घण्टासम्म काम गरेर १० दिनमै ट्रयाक तयार गरेका हुन्।
भदौ २८ गतेदेखि ग्यास बुलेटलगायत अत्यावश्यक सवारीसाधन परीक्षणका रूपमा सञ्चालनमा छन्। अहिले ग्राभेल, नाली निर्माण तथा सडक मजबुत बनाउने काम जारी रहेको र भदौ ३१ गतेसम्म ग्राभेलको काम सकिने सडक विभागले जनाएको छ।
नयाँ ट्रयाकमा पहिरो तथा लेदो खसेर यातायात अवरुद्ध हुन नदिन आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ। पहाडबाट पानीको सिपेज रोक्न सतहगत नालीको व्यवस्था गरिँदैछ भने माथिल्लो भागमा देखिएका चिराबाट पानी पस्न नदिन सिल गर्ने तथा प्लास्टिकले छोप्ने तयारी गरिएको छ।
कृष्णभीरलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न बेनीघाट–फिस्लिङ करिब २० किलोमिटर सडकखण्डमा पनि ट्रयाक खोल्ने काम अघि बढाइएको छ। रातिको यातायात सुरक्षित बनाउन सडक बत्ती, टल्किने स्टिकरलगायतका सुरक्षा सामग्री राख्ने तयारीसमेत गरिएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ १४ गतेको अर्को बाढीले पर्खाल भत्काएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।