प्रभातफेरी अनलाइन१९ पटक पढिएको | १ घण्टा अघि
रुपन्देही / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी कुनै एक देशको सीमाभित्र सीमित सम्पदा नभई विश्वकै साझा आध्यात्मिक तथा सांस्कृतिक धरोहर भएकाले यसको संरक्षण र विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।
लुम्बिनीमा सुरु भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ को उद्घाटन गर्दै मन्त्री पौडेलले बृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।
उनले सम्पदा संरक्षणसँगै तीर्थयात्री तथा पर्यटकका लागि गुणस्तरीय सुविधा, सुधारिएको कनेक्टिभिटी, वातावरणीय दिगोपना तथा स्थानीय समुदाय र युवाका लागि रोजगारी र आर्थिक अवसर सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
मन्त्री पौडेलले लुम्बिनीको विकास गर्दा यसको सम्पदा मूल्यलाई सम्मान गर्दै युनेस्को, विश्व सम्पदा समिति तथा प्राविधिक विज्ञका सिफारिसलाई मार्गदर्शनका रूपमा लिनुपर्ने बताए। उनले लुम्बिनीलाई सम्पदा, तीर्थयात्रा, बौद्ध शिक्षा, स्थानीय जीवनयापन, प्रकृति र दिगो विकासलाई एकसाथ अघि बढाउने नमुना क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
तीनदिने सम्मेलनमा नेपाल सरकार, लुम्बिनी विकास कोष, युनेस्को, विश्व बैंक, बौद्ध समुदाय, स्थानीय तह, सम्पदाविद्, पर्यटनविद् तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको छ। सम्मेलन असोज ४ गते साझा घोषणापत्र जारी गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ।