logo
२०८३ आश्विन ३, शनिबार |
📰
🔍

एउटा हृदयविदारक सत्य घटना

प्रभातफेरी अनलाइन३ पटक पढिएको | १ घण्टा अघि
एउटा हृदयविदारक सत्य घटना

– सुदर्शन पराजुली

कुहिएको शव परीक्षणका क्रममा पेटभित्रको भ्रूण बाहिर निस्किएको देखेपछि फरेन्सिक चिकित्सक डा. सालमली यादव भावुक भइन्। त्यो दृश्यले उनलाई अहिले पनि झस्काइरहन्छ।फरेन्सिक चिकित्सकका लागि शव नयाँ दृश्य होइन। अस्पतालको मर्चरीमा दैनिकजसो आउने शव, दुर्घटनामा मृत्यु भएका मानिस, हत्या वा शंकास्पद मृत्युका घटनासँग उनीहरू अभ्यस्त हुन्छन्। तर रसुवाको बाढीपछि भेटिएका शवका दृश्य भने अस्पतालमा देखिनेभन्दा निकै फरक थिए। कतिपय शव सग्ला थिएनन्। कतै शरीरका टुक्रा मात्र थिए। कसैको हात, कसैको खुट्टा त कतै हड्डीका टुक्रा मात्र भेटिन्थे। कतिपय शवका टाउकोसमेत थिएनन्। शरीरमा लुगा भेटिन मुस्किल थियो। बाढीले मानिससँगै उनीहरूको पहिचानका आधारहरू पनि बगाएर लगेको थियो।

भदौ १० गतेको बाढीपछि रसुवाको टिमुरे, स्याफ्रुबेँसी र आसपासका क्षेत्रमा मृत्यु भएका मानिसको पहिचानका लागि डा. सालमली यादवसहितको फरेन्सिक टोली खटिएको थियो। टिमुरे पुग्नुअघि डा. यादवले सोचेकी थिइन् बाढीमा भेटिएका शव अस्पतालसम्म ल्याइन्छन्, त्यहीँ पहिचान गरिन्छ र आवश्यक प्रक्रिया पूरा हुन्छ। तर धुन्चे पुगेपछि अवस्था त्यस्तो रहेन। शव अस्पतालसम्म ल्याउने बाटो नै थिएन। बाढीले सबैभन्दा ठूलो क्षति पुर्‍याएको टिमुरे पुगेर घटनास्थलमै काम गर्नुपर्ने भयो। भदौ १४ गते बिहान टोली धुन्चे पुग्यो। केहीबेरमै हेलिकप्टरबाट टिमुरेतर्फ उड्यो। हेलिकप्टरबाट तल हेर्दा देखिएको दृश्यले डा. यादवलाई स्तब्ध बनायो। ‘टिमुरे पुग्दा फिल्मको दृश्य देखेजस्तो लाग्यो,’ उनी सम्झिन्छिन्, ‘मान्छे त परको कुरा, भवनसमेत केही बाँकी रहेनछ।’

टिमुरेमा ओर्लिएपछि टोलीसामु अर्को ठूलो चुनौती थियो शवको पहिचान गर्नु। अस्पतालको पोस्टमार्टम कक्षमा गरिने काम अब बाढीले तहसनहस बनाएको त्यही भूमिमा गर्नुपर्ने थियो। फरेन्सिक चिकित्सक, प्रहरी, मुचुल्का तयार गर्ने टोली र डीएनए नमुना संकलन गर्ने जनशक्तिले मिलेर काम सुरु गरे। तर जमिन अस्थिर थियो। कतिबेला भा’सिने हो, ठेगान थिएन। बाढीले बगाएर ल्याएको माटो र भग्नावशेषबीच सेना तथा प्रहरीले शव खोजिरहेका थिए।

बाढीले जमिनको स्वरूप नै बदलिदिएको थियो। कतै घरका भग्नावशेष थिए, कतै सिसा र फलामका टुक्रा। कतिपय ठाउँमा टेक्ने जमिनसमेत थिएन। त्यसमाथि भोटेकोशी नदी त्यहीँबाट बगिरहेको थियो। फेरि पानीको बहाव बढ्ने हो कि भन्ने त्रास छुट्टै थियो। अस्पतालको पोस्टमार्टम कक्षमा पानीको धारा हुन्छ, आवश्यक उपकरण हुन्छन् र शव राख्ने निश्चित ठाउँ हुन्छ। सफा गर्ने, परीक्षण गर्ने र नमुना संकलन गर्ने प्रक्रिया पनि व्यवस्थित हुन्छ। टिमुरेमा त्यस्तो सुविधा केही थिएन। शव भेटिएको ठाउँसम्म बाल्टिनमा पानी बोकेर लैजानुपर्थ्यो। त्यहीँ पानी लगेर शरीर सफा गर्नुपर्थ्यो। ‘केही ठाउँमा पानीको धारा बचेको रहेछ। त्यहाँबाट बाल्टिनमा पानी ल्याएर शव धोयौँ,’ डा. यादव भन्छिन्, ‘जसोतसो काम चलाउँदै भएका प्रमाण सुरक्षित गर्‍यौं।’

शव सफा गर्नुको उद्देश्य सामान्य थिएन। अनुहारबाट पहिचान गर्न नसकिने अवस्थामा शरीरमा रहेका स–साना चिन्ह नै मृतकलाई परिवारसम्म पुर्‍याउने महत्वपूर्ण आधार बन्न सक्थे। ट्याटु कहाँ छ र कस्तो छ? शरीरमा कुनै दाग वा चोटको चिन्ह छ कि छैन? कोठी छ कि छैन? औँठी वा गहना छन् कि छैनन्? लुगाको कुनै अंश बाँकी छ कि छैन? यी सबै विवरण टिपोट गर्नुपर्थ्यो।

बाढीले शवलाई धेरै टाढासम्म पुर्‍याएको थियो। लामो समय पानीमा डुबेका कारण शरीर कुहिन थालेका थिए। कतिपय शवको अनुहारबाट पहिचान सम्भव थिएन। यस्तो अवस्थामा लुगा, ट्याटु, दाग, कोठी वा गहनाजस्ता चिन्ह महत्वपूर्ण आधार बन्न सक्थे।

टोलीले पहिलो दिन सातवटा केसमा काम गर्‍यो। पहिचानका सम्भावित चिन्ह टिपोट गरियो र डीएनए परीक्षणका लागि नमुना संकलन गरियो। सीमित स्रोतसाधनबीच फिल्डमै काम गर्नु निकै कठिन थियो। शवको पहिचानसँग सम्बन्धित एउटा सानो विवरण छुट्दा पनि पछि ठूलो समस्या निम्तिन सक्थ्यो। दोस्रो दिन अवस्था झन् भयावह बन्यो। थप शव भेटिँदै गए। टोलीले करिब एक सय शवसम्म पुगेको खबर पायो।

शव खोज्ने क्रमसँगै अर्को चुनौती थपियो भासिएको जमिनमा हिँड्नु। भत्किएका घरका सिसा र अन्य सामग्रीमाथि टेक्दै टोली शव भेटिएको ठाउँसम्म पुग्थ्यो। ‘हिँड्दा जमिन नै भा’सिन्थ्यो। त्यस्तो अनुभव कहिल्यै गरेका थिएनौँ,’ यादव भन्छिन्, ‘कति ठाउँमा खुट्टा अड्कियो। धन्न आर्मी र पुलिस हुनुहुन्थ्यो, हामीलाई निकाल्नुभयो।’ टोलीको काम भने एउटै थियो जहाँ शव भेटिन्छ, त्यहाँ पुग्ने; शवलाई सकेसम्म सुरक्षित तरिकाले परीक्षण गर्ने; पहिचान हुन सक्ने हरेक चिन्ह टिपोट गर्ने र डीएनएका लागि नमुना संकलन गर्ने।

सयौँ शवको पहिचानमा खटिएकी डा. यादवलाई टिमुरेमा देखेको एउटा दृश्यले भने सबैभन्दा बढी भा’वुक बनायो। त्यो एउटी गर्भवती महिलाको शव थियो। बाढीले उनको शरीर क्षतविक्षत बनाइसकेको थियो। शरीर कुहिँदै जाने क्रममा पाठेघरमा रहेको करिब पाँच महिनाको भ्रूण बाहिर निस्किएको थियो। ‘त्यो दृश्य देख्दा मन भारी भयो,’ यादवले भावुक हुँदै भनिन्, ‘अहिले पनि त्यही दृश्य झझल्को आइरहन्छ र बेला–बेलामा विक्षिप्त बनाउँछ।’

‘स्याफ्रुबेँसी पुग्दा ज्यान जोगाउने चिन्ता भयो’

यादवको टोली टिमुरेमा मात्र सीमित रहेन। टोली टिमुरे हुँदै स्याफ्रुबेँसी पनि पुग्यो। स्याफ्रुबेँसी पुग्ने क्रममा उनीहरूले अर्को जोखिम सामना गरे। त्यहाँको जमिन दलदलजस्तो थियो। हेलिकप्टरबाट ओर्लिने ठाउँसमेत सुरक्षित थिएन। जमिनमा टेक्नेबित्तिकै उनीहरू भित्रसम्म भा’सिए! स्याफ्रुबेँसीमा घर थिएनन्। मानिस थिएनन्। आफन्त खोज्दै आएका परिवार पनि थिएनन्। चारैतिर भग्नावशेष, माटो, पानी र बाढीले छाडेका अवशेष मात्र थिए।
‘मान्छे भन्ने नै कोही थिएन,’ उनी भन्छिन्, ‘त्यो वातावरणले काम गर्न नै एकदम गाह्रो बनाएको थियो।’

धेरै शव पहिचान गर्न सकिने अवस्थामा थिएनन्। त्यसपछि अन्तिम विकल्प डीएनए परीक्षण नै थियो। तर शव घटनास्थलमै कुहिँदै थिए।त्यहाँ शवलाई चिस्यानमा राख्ने ठूलो कोल्ड स्टोर थिएन। शव व्यवस्थापन गर्ने स्थायी संरचना पनि थिएन। कतिपय ठाउँमा जमिन खन्दा फेरि पानी आएर बगाउने जोखिम थियो भने कतै ढुंगैढुंगा मात्र थियो।
त्यसैले शवलाई सुरक्षित राख्ने विषय फरेन्सिक टोलीका लागि अर्को चुनौती बन्यो।

अन्ततः स्थानीय सरकार, नेपाली सेना र सुरक्षाकर्मीको समन्वयमा टिमुरे, स्याफ्रुबेँसी र धुन्चेमा पहिचानका लागि संकलन गरिएका शवलाई काठमाडौं पठाउने व्यवस्था गरियो।तर घटनास्थलबाट फर्किएपछि पनि डा. यादवको मन भने त्यहीँ अड्किएको छ। उनीसँग प्रश्न छ,संकलन गरेका विवरणले ती मानिसका शवलाई परिवारसम्म पुर्‍याउला त?

फरेन्सिक टोलीको काम प्रमाण संकलन गर्नु हो। तर विपत्तिको अवस्थामा त्यस कामसँग एउटा ठूलो जिम्मेवारी पनि जोडिन्छ। कुनै परिवारलाई वर्षौँसम्म ‘मेरो मान्छे कहाँ छ?’ भनेर भौतारिन नदिनु।

रसुवाको बाढीमा डा. यादवले आफ्नो जिम्मेवारी पूरा गरिन्। त्यस क्रममा उनले सामान्य अवस्थामा अस्पतालभित्र पर्याप्त उपकरण र स्रोतसाधनबीच गरिने फरेन्सिक काम र विपत्तिको अग्रपंक्तिमा पुगेर गरिने कामबीच आकाश–जमिनको फरक हुने अनुभव गरिन्। ‘हामीले सजिलो ठाउँमा काम गर्ने बानी परेको हुन्छ,’ उनी भन्छिन्, ‘एकैचोटी यस्तो ठाउँमा गएर सीमित स्रोतसाधनमा काम गर्नुपर्दा धेरै गार्‍हो हुँदो रहेछ।’
रसुवाबाट फर्किएपछि डा. यादवको मनमा दुईवटा प्रश्न छन्।

पहिलो त्यहाँबाट आफू कसरी बाँचेर फर्किएँ?

दोस्रो संकलन गरेका प्रमाणले ती बेनामे शरीरलाई फेरि एउटा नाम दिनेछन् कि छैनन्?

अहिले रसुवाको बाढीमा परेका १ हजार ३८८ जनाको शव फेला परेको छ। तीमध्ये सय हाराहारी शवको पहिचान भएको छ। बाँकी शव गाडेर पहिचानका लागि डीएनएको नमुना संकलन गर्ने काम भइरहेको छ। अझै ५ हजार १३० जना बेपत्ता छन्। हराएकाहरु भेटिने सम्भावना छैन ।