logo
२०८३ आश्विन १४, बुधबार |
☰
📰
🔍
✕

सामाजिक सञ्जालबाट हुने ठगी र भ्रामक सूचना नियन्त्रण गर्न कानुनी सुधार गर्दैछौँ : सञ्चारमन्त्री तिमिल्सिना

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ आश्विन १४, बुधबार
सामाजिक सञ्जालबाट हुने ठगी र भ्रामक सूचना नियन्त्रण गर्न कानुनी सुधार गर्दैछौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत ठगी तथा उत्पीडनका घटना बढ्दै गएकाले नियन्त्रणका लागि आवश्यक कदम चालिने बताए। उनले सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममा फैलिने गलत र भ्रामक सूचनालाई सम्बोधन गर्न आमसञ्चार विधेयक, प्रेस काउन्सिलसम्बन्धी विधेयकलगायत कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिए।

उनका अनुसार सामाजिक सञ्जाललाई थप व्यवस्थित तथा नियमन गर्न छुट्टै कानुनी व्यवस्था गर्ने तयारी भइरहेको छ। साथै, प्रेस काउन्सिल नेपाललाई थप अधिकार र जिम्मेवारीसहित प्रभावकारी बनाउने उद्देश्यले विधेयक तयार पारिएको उनले बताए।

साइबर ठगी नियन्त्रणका लागि सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो र नेपाल दूरसञ्चार प्राधिकरणबीच समन्वय भइरहेको मन्त्री तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार अनलाइन बेटिङसँग सम्बन्धित ३ लाख ५ हजारभन्दा बढी युनिक साइट तथा नयाँ एप पहिचान गरी बन्द गरिएको छ।

मन्त्री तिमिल्सिनाले फेक अकाउन्टमार्फत चरित्र हत्या, झुठा सूचना तथा भ्रम फैलाउने गतिविधिलाई कानुनी दायरामा ल्याइने बताए। संविधानको धारा २८ ले सुनिश्चित गरेको गोपनीयताको हक संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अनधिकृत रूपमा व्यक्तिगत तस्बिर वा भिडियो सार्वजनिक गर्ने कार्यमा समेत कानुनी कारबाही गरिने स्पष्ट पारे।

बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन विभिन्न देशका उमेरगत प्रतिबन्ध तथा नियामकीय अभ्यास अध्ययन गरी नेपालको सन्दर्भमा आवश्यक नीति तथा व्यवस्था अघि बढाइने पनि उनले बताए।