logo
२०८३ कार्तिक २८, शनिबार |
☰
📰
🔍
✕

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन दलहरूसँग छलफल जारी

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | १२ मिनेट अघि
मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन दलहरूसँग छलफल जारी

जनकपुरधाम / मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने तयारी रहेको बताएका छन्। विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको र मतदान हुनुअघिसम्म पनि छलफल जारी रहने उनको भनाइ छ।

नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए। त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव सरकारको निरन्तरताका लागि आवश्यक बहुमत जुटाउने प्रयासमा छन्।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्।

त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य रहेका छन्।