प्रभातफेरी अनलाइन४९ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाज्यूले बागमती प्रदेश प्रहरी कार्यालय मातहतको विधि विज्ञान प्रयोगशालाको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा मुख्यमन्त्री थापाज्यूले अनुसन्धानलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउन अत्याधुनिक प्रविधि, नवीनतम सोच तथा दक्ष जनशक्तिको प्रयोग आवश्यक रहेको बताउनुभएको छ। उहाँले “ढिलो न्याय दिनु भनेको न्याय नपाउनु सरह हो” भन्दै अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।
मुख्यमन्त्री थापाज्यूले प्रदेश सरकारले विधि विज्ञान प्रयोगशालाको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रयोगशालालाई मुलुककै अत्याधुनिक तथा नमुना प्रयोगशालाका रूपमा विकास गर्न निर्देशन दिनुभएको छ।
अनुगमनका क्रममा उहाँले प्रयोगशालामा रहेका उपकरण, कार्यप्रणाली तथा जनशक्तिको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सुधारका विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल गर्नुभएको थियो।
प्रदेश प्रहरी कार्यालयका अधिकारीहरूले मुख्यमन्त्रीज्यूको निर्देशनअनुसार प्रयोगशालालाई थप व्यवस्थित, आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।