logo
२०८३ आश्विन १६, शुक्रबार |
☰
📰
🔍
✕

राष्ट्रिय चलचित्र दिवसमा ‘आमा’का अग्रणी नायिकालाई विशेष सम्मान

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
राष्ट्रिय चलचित्र दिवसमा ‘आमा’का अग्रणी नायिकालाई विशेष सम्मान

काठमाडौं / राष्ट्रिय चलचित्र दिवसको अवसरमा नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्रको पहिलो कथानक चलचित्र ‘आमा’लाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा ‘आमा’ चलचित्रका तीन अग्रणी नायिका भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई विशेष सम्मान गरिएको हो। संघका अध्यक्ष उत्तम केसी र महासचिव सुनिल कटुवालले अग्रज कलाकारलाई खादा, माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा नेपाली चलचित्रको इतिहास, प्रारम्भिक पुस्ताका कलाकार तथा चलचित्रकर्मीको योगदान र चलचित्रका गीत–सङ्गीतको भूमिकाबारे चर्चा गरिएको थियो। सोही अवसरमा विमल भौकाजीको सम्पादनमा प्रकाशित ‘शारदा’ पत्रिकाको विशेष सामग्री समेत विमोचन गरिएको थियो।

कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, कलाकार लय संग्रौला, चलचित्र कलाकार संघका पूर्वअध्यक्ष मोहन निरौला, चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थलगायतले नेपाली चलचित्रको इतिहास र ‘आमा’ चलचित्रको योगदानबारे धारणा राखेका थिए।

वक्ताहरूले नेपाली चलचित्रका पुराना गीत–सङ्गीत तथा सिर्जनालाई अभिलेखीकरण र संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। ‘आमा’ चलचित्र नेपाली चलचित्रको इतिहासको महत्वपूर्ण आधार भएकाले यससँग जोडिएका कलाकार तथा सिर्जनाकर्मीको योगदान नयाँ पुस्ताले पनि स्मरण गर्नुपर्ने उनीहरूको भनाइ थियो।

नेपालमा राष्ट्रिय चलचित्र दिवस यस वर्षदेखि असोज १५ गते मनाउन थालिएको हो। यसअघि असोज १ गते मनाइँदै आएको दिवस नेपालको पहिलो कथानक चलचित्र ‘आमा’को प्रदर्शन मितिलाई आधार बनाएर असोज १५ गते मनाउन थालिएको हो।