० मोहन दुवाल
करिव १३ वर्षले मभन्दा जेष्ठ शक्तिदाईसँग मेरो सम्पर्क र भेटघाट २०२५ सालतिरमात्र भएको हो । पत्रकारिता, साहित्य र प्रगतिशील विचारको झण्डा बोकेर कुदिरहँदा उहाँसँग मेरो भेट हुन गएको हो । उहाँसँग मेरो पहिलोचोटीको परिचय ‘मातृभूमि’ साप्ताहिक कार्यालय, घण्टाघरमा भएको मलाई याद छ । मातृभूमि साप्ताहिक कार्यालयबाट नै पछि ‘जनदूत’ दैनिक टि. आर. विश्वकर्माको सम्पादनमा निस्केको मलाई थाहा छ । दैनिक पनि प्रकाशित हुँदैताका शक्तिदाई त्यहाँ आइरहनु हुन्थ्यो । सायद उहाँले पनि ‘मातृभूमि’लाई र ‘जनदूत’लाई साथ दिइरहनु हुन्थ्यो ।
म पनि त्यसताका ‘मातृभूमि’ साप्ताहिकका सम्वाददाताजस्तै थिएँ । त्यसैले म पनि ‘मातृभूमि’मा पुगिरहन्थें र ‘जनदूत’ दैनिकको कोठमा चियाउने गर्थें । कहिलेकाँही त्यहीँ शक्तिदाईलाई भेट हुन्थ्यो । प्रष्ट वक्ता, खरो बोल्ने, मुलाहिजा नगर्ने शक्तिदाईको बानी नै थियो । त्यसताका म शक्तिदाईलाई मन–मनमा राखेर बुझ्ने प्रयत्न गर्थें । पछि २०२७ मा ‘विगुल’ प्रगतिशील सामयिक संकलन ‘मातृभूमि’ प्रेसबाट छाप्ने गर्यौं । २०२८ को दोस्रो अङ्क पनि २०२८ सालमा नै ‘मातृभूमि’ प्रेसमा छापिएको हो । तेस्रो अङ्कका रुपमा प्रकाशन हुन लागेको ‘विगुल’ मा उहाँको एउटा लेख पनि मागेको थिएँ । उहाँको लेख चेकोस्लोभाकियामा रसियन हस्तक्षेप हुँदाताकाको सन्दर्भको लेख थियो । उक्त लेखको शिर्षक थियो – ‘चेकोस्लोभाकियाका छात्तीमा रसियन सङ्गीन !’ उक्त लेख प्रकाशित भएको ‘विगुल’ प्रतिबन्धमा मात्र होइन न्हाय्कंतलाको तीर्थमान ज्यापूको प्रेसबाट १००० थान ‘विगुल’ जफत गरी प्रशासनले उठाएर लगेको मलाई याद आइरहन्छ । मलाई लाग्छ, उहाँको लेखले नै प्रतिवन्धमा पर्नुको एउटा कारण होजस्तो लाग्छ । राल्फालीहरुको क्रान्तिकारी गीतहरु पनि प्रकाशित भएको उक्त ‘विगुल’ प्रतिवन्धमा पर्नुको यो पनि एउटा कारण हुन सक्छ – निसाफै नहुने समयताकाको यो कुरो मेरा लागि सधैं सम्झिरहनुपर्ने घटना भयो ।
२०३० सालतिर बनेपा, तीनधारामा हुन लागेको ‘राँको’ परिवारको साहित्य सम्मेलनमा उहाँ पनि अतिथि वक्ताका रुपमा बनेपामा पुग्नुभएको थियो । प्रशासनको हामीमाथि वक्रदृष्टि भएकोले हामीले गर्न लागेको साहित्य सम्मेलनको मञ्च प्रहरीहरुले भत्काई दिए । मञ्चमा राखिएका ब्यानरहरु सबै खोसेर लगेको बेला थियो । यस खालको हामीमाथि नृशंसढङ्गले दमन गरेर साहित्य सम्मेलन गर्न नदिएको घटना उहाँले पनि प्रत्यक्षदर्शी भई हेर्नुभएको र म भूमिगत रहेकाले पद्मरत्न तुलाधर, प्रा. मणिलाल श्रेष्ठ, अश्वघोष भन्ते र शक्तिदाईहरुलाई भेट्न पाएका थिएनौं । म मेरो घरछेउको एकजना किसान मित्रको घरमा भूमिगत थियौँ ।
यस्तै खालका थुप्रै घटना–क्रमहरुमा उहाँसँग मेरो सामिप्यता बढ्दै गएका क्षणहरु बिर्सी पठाउन गार्हो छ । उहाँसँग मेरो मित्रता ‘विगुल’ मार्फत् ‘जनमत’ पाक्षिक पत्रिका भएर ‘योजना’ र ‘जनादेश’ सम्म सम्पर्क गाँसिदै गएको र मेरो मनमा यात्राकै क्रममा आत्मीय शक्तिदाईका रुपमा स्थापित हुँदै गएको घटनाहरु सम्झिरहन्छु ।
म आफूपनि सधैं खटिरहने र सम्पर्क खोजिरहने र काम÷विचारमा सक्रिय हुन पाउँदा गौरव गर्ने मन राखेर आफ्नो यात्रामा क्रान्तिकारी विचारका झण्डा बोकेर जनतामाझ पुगिरहने जुझारु स्वभावको युवा भएकैले उहाँसँग मेरो मित्रता बढ्दै गएको मलाई सम्झना छ ।
२०४० असोजमा प्रकाशित ‘जनमत’ विचारप्रधान पाक्षिकमा उहाँलाई प्रगतिशील लेखकका रुपमा भेटवार्तामा समेट्न उहाँको निवासघरमा पुगेको मलाई सम्झना छ । विचारमा प्रष्टता राख्दै माक्र्सवादी दृष्टिले साहित्यको व्याख्या गर्न रुचाउनुहुने उहाँले यस अङ्कमा जनमतबाट सोधिएका प्रश्नहरुमा एउटा प्रश्न “(१) आजको सन्दर्भमा ‘प्रगतिशील लेखक कलाकार संघ’ को गठनको आवश्यकता कतिको महसूस गर्नुहुन्छ र पहिले गठन भएको प्रगतिशील लेखकहरुको संघ निष्क्रिय र विलीन भएर जानुमा तपाईंको अध्ययन र प्रतिकृया के छ ?” जवाफमा उहाँले आफ्नो विचार यसरी राख्नुभएको थियो – “कुनै पनि भौतिकवादी, द्वन्द्वात्मक विचारमा विश्वास राख्ने वर्गीय सङ्घर्षमा आस्था भएको लेखक–कलाकार जोसुकै होस् त्यसको आफ्नो निजी केही अस्तित्व हुँदैन । संगठनविनाको उसको महत्व पानीविनाको माछाझैँ रहन जान्छ । व्यक्तिगतरुपमा कुनै पनि लेखक–कलाकार आदिले कसरी बाँँच्ने र जीवनयापन गर्ने भन्ने कुरा छ त्यो ऊसँगै पूर्णतः सम्बन्धित कुरा हुन् । जहाँसम्म चिन्तन, मनन, विश्लेषण र कार्यशैली आदिका कुराहरु छन् त्यसमा जो आफूलाई प्रगतिशील लेखक सम्झन्छन्, प्रगतिशील विचारधाराप्रति समर्पित छन् ती कोही पनि लेखक–कलाकारहरु आफ्नो संगठनविना बाँच्न सक्तैन । एउटा माक्र्सवादी लेखकका लागि ‘लेखक कलाकार संघ’ धेरै नै ठूलो महत्वको कुरा हो । अतः आजको सन्दर्भमा ‘प्रगतिशील लेखक–कलाकार संघ’ को गठनलाई म ठूलो प्राथमिकता दिन चाहन्छु । हिजोभन्दा आज यस प्रकारको संगठनको आवश्यकता झन् बढी हुन गएको महसूस गर्दछु ।”
प्रष्ट विचार राख्नुहुने माक्र्सवादी विश्लेषक लेखक तथा ख¥हो विचारका धनी पत्रकार शक्तिदाईले आफू बाँचेसम्म अन्तिम समयसम्म आफ्नो निष्ठा र विचारलाई किंचित पनि तलमाथि पार्नु भएन । ‘मातृभूमि’, ‘जनदूत’ हुँदै ‘योजना’ र ‘जनादेश’ मा समेत आफ्नो सफा अनुहार पत्रकारिताजगत्मा देखाएर जानुभयो । कवितामा कार्ल माक्र्सले आफ्नो जीवन दृष्टि कवितामा लेखेजस्तै शक्ति लम्साल पनि त्यही बाटोमा हिँडीरहनुभएको जस्तो छ । मलाई लाग्छ, यी कविताका हरफहरु कार्ल माक्र्सले उहाँकै लागि लेखेको होजस्तो सम्झिएर यहाँ उच्चारण गर्न खोजें –
कठिनाइहरुबाट रुने होइन
मेरो लागि होइन
होइन, मेरो आँधीजस्तो मनलाई
यो स्वीकार्य छैन
मलाई त एउटा महान र अग्लो
लक्ष्य चाहिन्छ
र त्यसको लागि आजीवन संघर्षको
अटुट सिलसिला चाहिन्छ ।
००
अग्लो लक्ष्य बोकेर आजीवन संघर्षको अटुट सिलसिलामा मन, तन र कर्म राखेर शक्तिदाई कतै आराम गर्न बसिराखेको छ कि जस्तो भान भइरहेछ मलाई । कवितामा शक्ति लम्साललाई मैले यसरी राखेर नियालें :–
शक्ति लम्साल
जनताको पक्षमा
बोल्न जानेर उनी बोलिरहे ।
००
जनताको समर्थनमा
लेख्न चाहेर उनले समाचारमा लेखिरहे ।
००
सामन्तहरुले उनलाई घृणा गरिरहे
मठाधिसहरुले वक्रदृष्टिले हेरिरहे
निरंकुश शासकहरुको आँखामा कसिंगर रहिरह्यो ।
००
तर उनले कहिल्यै त्यस्ताहरुका अगाडि
समर्पण गर्न आफूलाई चाहेनन् –
उनी त जनताका ‘शक्ति’ भएर उठिरह्यो
उनी त जनता भएर शक्तिमा जुटिरह्यो
प्रिय शक्तिदाई ! मलाई तपाईंको पन
तपाईंको इस्पातजस्तो दर्हो मन
आजपर्यन्तसम्म मेरो मनमा पनि
श्रद्धाका प्रतीक भइरहनु भयो ।
००