logo
२०८३ आश्विन २४, शनिबार |
☰
📰
🔍
✕

प्रलेस काभ्रेको नियमित कवि गोष्ठीसँगै ‘विचारको ज्वालामुखी’ कविता सङ्ग्रह लोकार्पण

प्रभातफेरी अनलाइन० पाठक संख्या | १८ मिनेट अघि
प्रलेस काभ्रेको नियमित कवि गोष्ठीसँगै ‘विचारको ज्वालामुखी’ कविता सङ्ग्रह लोकार्पण

 

काभ्रेपलान्चोक/ प्रगतिशील लेखक सङ्घ (प्रलेस), काभ्रेको आयोजनामा नियमित कवि गोष्ठी तथा युवा कवि रामेश्वर आचार्यद्वारा लिखित कविता सङ्ग्रह ‘विचारको ज्वालामुखी’ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार बनेपा नगरपालिका–९ स्थित किटली क्याफेमा आयोजित कार्यक्रममा कवि आचार्यको कविता सङ्ग्रह लोकार्पण गर्नुका साथै समसामयिक साहित्यिक तथा वैचारिक विषयमा विमर्श गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घ, बागमती प्रदेशका पूर्वअध्यक्ष प्रा. डा. हरि सिलवालले गोष्ठीमा प्रस्तुत कविताहरूको समीक्षा गर्दै ‘विचारको ज्वालामुखी’ कविता सङ्ग्रहमाथि विस्तृत विवेचनात्मक समालोचना प्रस्तुत गर्नुभएको थियो। उहाँले सङ्ग्रहमा समेटिएका कविताहरूको भाव, विचार र साहित्यिक पक्षबारे चर्चा गर्दै कृतिको वैचारिक तथा सिर्जनात्मक विशेषतामाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रमका अध्यक्ष तथा प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले मार्क्सवादी–प्रगतिवादी साहित्यको वैचारिक आधार र सामाजिक रूपान्तरणमा यसको भूमिकाबारे धारणा राख्नुभएको थियो। उहाँले साहित्यलाई मनोरञ्जनमा मात्र सीमित नराखी समाजका वर्गीय अन्तर्विरोध, शोषण, उत्पीडन र विभेदलाई उजागर गर्दै न्यायपूर्ण समाज निर्माणको पक्षमा उभिनुपर्ने बताउनुभयो। साथै, श्रमजीवी वर्गका जीवन, सङ्घर्ष, आशा र परिवर्तनको आकाङ्क्षालाई साहित्यले सिर्जनात्मक रूपमा अभिव्यक्त गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्रष्टा विशेषका रूपमा सम्मानित कवि रामेश्वर आचार्यले आफ्नो सिर्जनायात्रा र ‘विचारको ज्वालामुखी’ कविता सङ्ग्रहको विषयवस्तुबारे विचार व्यक्त गर्नुभएको थियो।

कवि गोष्ठीमा मुरहरी रायमाझी, शारदाप्रसाद शर्मा, उपेन्द्र दाहाल, नवराज रायमाझी, बलराम बिष्ट, श्रीकृष्ण पाण्डे, केशव घिमिरे, सरस्वती चिमोरिया, दिनेशराज खरेल, भवानी पाण्डे, सुभद्र अधिकारी, अल्फिफोहिन फाक्लुक्पा, केशव ज्ञवाली, विजया शर्मा, शिला कुमारी खरेल र राधिका घिमिरेलगायतका स्रष्टाहरूले आ–आफ्ना कविता तथा साहित्यिक रचना वाचन गर्नुभएको थियो।

कार्यक्रममा नवराज दाहाल ‘उत्साही’ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन श्रीकृष्ण पाण्डेले गर्नुभएको थियो।

नियमित रूपमा आयोजना गरिएको कवि गोष्ठी तथा कृति लोकार्पण कार्यक्रमले प्रगतिशील साहित्यको महत्त्व, सिर्जनात्मक अभिव्यक्ति र स्रष्टाहरूबीचको अन्तरक्रियालाई थप सशक्त बनाएको आयोजकले जनाएको छ। कार्यक्रमले साहित्यका माध्यमबाट सामाजिक तथा वैचारिक विषयमाथि बहस गर्ने अवसरसमेत प्रदान गरेको छ।