प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन ३०, शुक्रबार
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको सबै पदको मतगणना सम्पन्न भएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शुक्रबार बिहान मधेस र बागमती प्रदेशको अन्तिम मतपरिणाम आएसँगै मतगणना सकिएको हो।
असोज २३ गते रातिदेखि सुरु भएको मतगणना झण्डै एक हप्तामा सम्पन्न भएको हो। यसपटक सात हजार ३९२ मतदाताको करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको निर्वाचन समितिले जनाएको छ।
कटुवालका अनुसार मतगणना सुरु भएदेखि नै दिन र रातमा गरी करिब २५ समूह परिचालन गरिएको थियो। यसपटक २२९ पदका लागि निर्वाचन भएको थियो भने प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए।
मतगणना सम्पन्न भए पनि सबै परिणामको रुजु गर्ने काम भइरहेको र केहीबेरमा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार मतदान तथा मतगणनाका क्रममा कुनै विवाद नभई सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ। निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण दसैँपछि गरिनेछ।