प्रभातफेरी अनलाइन९ पटक पढिएको | मंसिर १, २०८३ | मंगलबार
पोखरा / पोखराको लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा आपसमा झैझगडा तथा कुटपिटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार गत कात्तिक २५ गते राति करिब २ बजे पोखरा महानगरपालिका–६ लेकसाइडस्थित ‘लेबल क्लब’ अगाडि देउसीभैलो हेर्ने क्रममा युवाहरूबीच विवाद उत्पन्न भई कुटपिट भएको थियो।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको खुलेपछि उनीहरूलाई कात्तिक ३० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पक्राउ पर्नेहरूमा धादिङका २८ वर्षीय आशिष मगर, कास्कीका ३० वर्षीय अरुण थापा, २४ वर्षीय सन्दीप गुरुङ, मोरङका २३ वर्षीय मनिष राई, पर्वतका २० वर्षीय अभिषेक गर्भुजा, म्याग्दीका २८ वर्षीय प्रभात पुन, २३ वर्षीय प्रसन गर्भुजा, २३ वर्षीय एनिस थापा र २४ वर्षीय सुन्दर पुन रहेका छन्।
पक्राउ परेका सबैलाई वडा प्रहरी कार्यालय बैदाममा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।