logo
२०८३ मंसिर २, बुधबार |
☰
📰
🔍
✕

एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

प्रभातफेरी अनलाइन२६ पटक पढिएको | मंसिर २, २०८३ | बुधबार
एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौँ / नेकपा एमालेको राष्ट्रिय भेला आज (बुधबार) देखि काठमाडौँमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको एमालेले जनाएको छ । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न तथा आगामी स्थानीय तहको निर्वाचनको तयारी गर्ने उद्देश्यले भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने र पार्टीले गर्नुपर्ने १५ वटा कामका विषयमा छलफल हुनेछ । भेलाका एजेन्डालाई सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ ।

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।

भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन् ।

भेलाले पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्नुका साथै स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आवश्यक रणनीति निर्माण गर्ने अपेक्षा गरिएको छ ।