उनले फेसबुकमा एउटा तस्वीर पोष्ट गरेका छन् । तस्वीरमा लेखिएको छ । यस्तो काम गर, जसले पैसा हैन, नाम कमाइयोस् । आफ्नो जीवनलाई नै यही अनुरुप सञ्चालन गर्ने सोच बनाएर नै होला सायद, उनी पैसा हैन नाम कमाउने अभियानमा लागेका छन् ।
२०४४ साल जेठ १७ गते कोशिपारीको माँदनकुडारीमा जन्मेका डा. देवेन्द्र गौतम अहिले उमेरले २६ बर्ष भए । पेशाले चिकित्सक उनको यो उमेर काम गरेर पैसा कमाउने हो, तर उनी पैसा हैन समाजमा नाम कमाउने अभियानमा लागेका छन् । पैसा मानवीय आवश्यकता हो भन्ने उनले बुझेका छन्, तर सबैथोक पैसा नै हो जस्तो लाग्दैन उनलाई । मानिसहरु आर्शिवाद दिँदा समेत डाक्टर इञ्जिनियर भएस्, पैसा कमाएस् भन्छन्, कमाउन सक्ने पेसामा लागेका उनको मन भने सकेसम्म जीवनभर ग्रामिण भेगका जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने छ ।
कोशिपारीको माँदनकुँडारीमा जन्मेका उनले जिन्दगीमा धेरै दुख कष्ट बेहोरेका छन्, धेरै अभाव झेलेका छन् । गोजीमा चिउरा हालेर पानी र चिउरा खाएको धेरै अनुभव छन् उनीसँग । मिहेनत, धैर्यता, संघर्ष र सकरात्मक सोचले आज उनी जुन स्थानमा पुगेका छन्, आफुले जस्तै दुख अरुले भोग्नु नपरोस् भनेर उनी लागेका छन् , समाजसेवामा ।
आफ्नो घर अगाडी आएर गाडीले गियर चेञ्ज गर्दा उनी सोच्थे, किन यो गाडीले सधैँ मेरै घर अगाडी आएर गियर फेर्छ । उनको बाल मस्तिष्कमा सधैँ यो परिरह्यो । त्यसैले उनले गाडी चढ्ने आकंक्षा पाले । तत्काल त्यो सम्भव त थिएन, तर समय र परिस्थतीले उनलाई कार चढ्ने बनाइदिएको छ ।
उनले आफु र आफ्नो जन्म दिने बाबु जन्मेको कोशिपारीको कात्तिकेदेउरालीमा निशुल्क स्वास्थ्य शिविर गरे, आफ्नै नेतृत्वमा । १३ सय ३० जनाले स्वास्थय सेवा लिए शिविरमा अनि आर्शिवाद दिए , “बाबुको जय होस्, सबै काममा सफल भएस् । ” धेरैले सोचे, हाम्रो छोरो पनि देवेन्द्र जस्तै भैदिए भए हुन्थ्यो । उनी आफ्नो शिविरको सफलताबाट हौसिएका छन् । यसअघि वीर अस्पतालमा निशुल्क ६ महिनास्वास्थ्य सेवा गरेका यी डाक्टर फेरी छिट्टै निशुल्क सेवा गर्ने सोचमा छन् । उनले आजभोली नै कुनै अस्पतालमा निशुल्क स्वास्थ्य सेवा दिन थाल्नेछन् ।
डा. देवेन्द्रका जीवनका अनेकन पाटाहरु छन् । उनको दुखको, संघर्षको एउटा कथा नै बन्छ । उनको कथा कसैको लागि प्रेरणाको स्रोत पनि बन्न सक्छ । धेरै यु्वा जो अहिले प्रेम, यौन, धनसम्पतिलाई नै महत्व दिइरहेका छन्, यी सबैको लागि प्रेरणाको स्रोत बन्न सक्छन् , गौतम । एक मध्यान्न उनी आफ्नो संघर्षको कथा सुनाउँदै थिए, समाजसेवालाई आफ्नो आगामी बाटो बनाउने लक्ष्यमा रहेका गौतम धेरै पटक भावुक बने । जीवनका धेरै उत्तरार्धहरु सुनाउँँदा उनका आँखा कयन पटक रसाए । जीवनका भोगाई, जसले उसलाई प्रेरणा दियो, यो स्थितीमा ल्यायो, ती भोगाई उनले यसरी पोखेका छन् ः
दुखका ती दिनहरु
२०४४ सालमा जन्मिएको हुँ । २०४७ सालमा ३÷४ बर्षको उमेरमा नै पाँचखाल गयौँ । ४ कक्षासम्म नवप्रतिभा इंगलिस स्कुलमा पढेको हुँ । त्यसपछि एकैपटक गोल्डेन फ्युचर उमाविमा पढेँ । कक्षा जम्प गरेकाले ७ र ८ कक्षा दुवैमा फेल भएँ । हजुरआमाले स्कुलमा नै गएर आग्रह गरेपछि विद्यालयका आन्तरिक परिक्षामा फेल भए पनि पास गरिदिनुभयो सरहरुले । साथीहरुले फेल भएको भनेर खिस्याउथेँ । एक जना सरले त फेल भइस् भनेर मुखमा थुकिदिनु भएको पनि छ । यही कारण पढाईमा मिहेनत गरे लागियो । मलाई पढाईमा केही गर्नुुपर्छ जस्तो लाग्यो । एसएलसीमा भने विद्यालय भरीमा नै तृतीय भए ।
२०३४ सालमा नै बुुबा काठमाण्डौँ आउनुभयो । म, ममी, भाइ र हजुरआमा पाँचखालमा नै बस्यौँ । ती नै मेरा कष्टका दिनहरु थिए । स्कुलमा पानी बोकेर पकेटमा चिउरा बोकेर पनि खाएका छौँ । बुबा व्यापारको सिलसिलामा पाँचखाल हुँदै वाह्रविसे जानुहुन्थ्यो । बुबालाई भेट्न धेरै दिन कुरेर बसेको छु । कुन दिन बुबा आउनुहोला र आफुले लेखेका राम्रा अक्षरहरु देखाउ भनेर धेरै दिन कुरेर बसेको छु । (उनी यतिवेला भावुक देखिए । ) हामीलाई कतिपटक फि तिर्न समस्या पनि भयो । दुख र कष्टका साथ एसएलसी पास गरियो ।
आज म यो स्थानमा आउन यता ममीको ठूलो योगदान छ । एसएलसीको परिक्षाको नतिजा राम्रो भएको कारण मैले काठमाण्डौँ आउन पाएँ, मैले मेरो परिवारलाई म सही थिए भनेर बुझाउन सके । त्यसदेखि नै मैले बुबा र ममीको न्यानो माया पाएको छु ।
एसएलसीको नतिजा नै मेरो जीन्दगीको “टर्निङ प्वाइन्ट” बन्यो । उच्च मावि भने ह्वाइटहाउसमा पुर्ण छात्रवृतिमा पढेको हुँ । १ बर्ष अगाडी बंगलादेशबाट एमविविएसको पढाई पुरा गरेको छु । बुवाको अंकललाई डाक्टर बनाउने इच्छा थियो । अंकलले आर्थिक अभावकै कारण डाक्टर बन्न सक्नुभएन, बुबाको इच्छा मैले पुरा गरेकोमा उहाँ खुशी पनि हुनुहुन्छ । बुबाले धेरै आर्थिक कठिनाई पनि भोग्नुभयो, धेरै दुख र संघर्ष गर्नुभएके छ यो स्थितीमा आउनलाई । आजभोली हामी राम्रै आर्थिक हैसियतमा छौँ ।
ममी, बुवा र भाइ प्रज्वल, राजेन्द्र र बहिनी प्रनिशाको ठूलो सहयोगको कारण म पनि आज यो स्थानमा छु । परिवारको सपना साकार गर्न मैले अझै धेरै गर्नुछ । न्युरो सर्जन बन्ने धोको छ ।
साथीहरुका ती व्यवहारहरु
शहरीया भएकै कारण होला सायद, गाँउबाट भर्खर आएको मलाई धेरै साथीले हेप्थे । म सँग धेरै त्यस्ता अनुभवहरु पनि छन् । होस्टेलमा बस्दा १ जना साथीले २ हजार पर्ने जुत्ता किनेर ल्यायो । उनलाई ५ हजारको जुत्ता मन परेको थियो । पैसा अभावमा त्यो साथीले पनि २ हजारकै जुत्ता किन्यो । मैले साथीलाई जुत्ता हेर्न भने तर उसले मेरो बेइज्जत गर्यो । “त पाखेले किन हेर्नुपर्यो, तेरो हैसियत के छ ? ” साथीको यो बचन मेरो मनमा विझ्यो । पछि मैले साथीलाई मन परेको जुत्ता ५ हजारमा किनेर नै लगाए र त्यो साथीलाई मेरो हैसियत देखाइदिए ।
कलेजमा नै अर्को घटना भयो । साथीले सिविजेड बाइक ल्याएको थियो । मैले माँगे तर उनले फेरी हैसियतको कुरा गर्यो । “पछि मैले नेपालमै पहिलो पटक आएको करिज्मा बाइक किनेर कलेजमै लगेर उसकै अगाडी चलेर देखाइदिएँ । ” साथीको इखले गर्दा ममिलाई स्कुटर र मलाई बाइक किन्न गएका थियौँ, मलाई मात्रै २ लाख १० हजार पर्ने करिज्मा बाइक किनेर फर्र्कियौँ ।
साथीहरुले कन्सर्ट हेर्न जाऔँ भने । बल्खुमा कन्सर्ट थियो । गाडीको लागि भाडा समेत थिएन । कताबाट एउटा साथीले ५ रुपैँया त दियो तर मम खान म सँग पैसा नभएकाले साथीहरुले अलग्गै राखिदिए । तर आजभोली ती साथीहरुलाई मैले धेरै पटक पार्टी दिइसकेको छु । एक पटक एक जना केटी साथीको फोटो खिच्दा उनले मेरो क्यामेराको रिल नै पाmलिदिइन् । तर आजभोली हामी दुई जना राम्रा साथीका रुपमा छौँ । गितार सिकाउन भन्दा साथीले त जस्ताले के गितार सिक्छस् भनेर बचन लगायो । पछि त्यही साथी म सँग गितार सिक्न आउनुपर्यो ।
साथीहरुबाट चोट र ठेस पाएका कारण पनि मलाई मोवाइल, बाइक, खानेकुरामा शोख छ । ईखले गर्दा पनि मेरो जीवनमा यो परिवर्तन भएका हुन् जस्तो लाग्छ । म सधै सही थिए । म सही भएको कुरा सबैलाई बुझाउन सकेकै कारण म यो स्थानमा छु जस्तो लाग्छ ।
ती रमाइला बदमासी
सानो उमेरमा साह्रै चकचके थिए । जानी नजानी धेरै बदमासी समेत गरियो । बच्चामा १ हजार चोरेर फुपुको छोरा म भृकुटीमण्डपमा आएर दिउस भर रमाइलो पनि गर्यौ । घुँडामा घाउ पनि लागेको थियो । घर फर्कदा हजुरआमाले पाँचखालबाट तिनपिप्ले सम्म लखेट्नु भएको अझै सम्झन्छु । घरमा दराजमा थोरै भएपनि पैसा राखेको हुन्थ्यो । दराजको साँचोमा हुप पनि राखेको हुन्थ्यो । काँडा विजेको छ भनेर आमालाई भुक्याउँदै दराजको पैसा पनि चोरियो । साथीले टाई किन्नको लागि १५ रुपैँया ल्याएको रहेछ । उससँग अंगालो मारेको जस्तो गरेर साथीको गोजीमा रहेको १५ रुपैँया चोरेर भाइले र मैले खाजा खायौँ । विद्यालयमा पैसा हराएको चर्चा त भयो तर मैले चोरको भन्ने साथीले सम्म शंका गर्न सकेन । स्कुल पढ्दा खेलकुदमा कुनै रुचि थिएन । खेले पनि कुनैमा जितिदैनथ्यो । आफु पढेको स्कुलको हेडसरको हस्ताक्षर चोरेर प्रमाणपत्र बनाउँदा सजाय पाएको छु । टयाङकीमा खसेको र च्यातिएको दुई रुपैँया जोडेर ८ वटा पुस्टकारी किनेर खाएका छौँ ।
दयालु देवेन्द्र
आफ्नाृ बाल्यकालमा दुख कष्ट सहेकाले अरुको दुख देख्न सक्दिन । अरुलाई सहयोग गर्ने बानी छ । हालै स्वास्थ शिविरमा समेत प्रभा उच्च माविको विद्यालयललाई स्टेश्नरी, खेलकुदका सामाग्री सहयोग समेत गरेँ । “पहिला लेख्नलाई कपी कलम पाइन, आज मैले १ हजार ओटा त कलम नै बाँडे । दरवारमार्गमा एउटा सामान किनेर ५० को नोट दिँदा ३६ रुपैँया फिर्ता आयो, सडक बालबालिकालाई देखे, चक्लेट किने र खाने कोही छ भनेर सोधेँ । सबै जना म भएको ठाँउमा आएर झुम्मिए, ती सडक बालवालिकाले घेरे । खाजा खान एक होटेलमा गएर मम र फिंगर चिप्स अर्डर गरेको थिएँ । के सोचेँ, बाहिर आएर सडक बालवालिकालाई बाँडिदिएँ । वंगलादेशमा पढाईको सिलसिलामा पनि एक परिवारलाई सहयोग गरेको छु । ५० बर्षीय एक बृद्ध महिलाको ४ बर्षको छोरा थियो । उनको श्रीमान्लाई गोली हानी हत्या गरिएको थियो । बसुञ्जेल उनलाई छात्रबृतिमा सहयोग गरँे । परिवारको आर्थिक स्थितीका लागि पनि मैले सहयोग गरेँ । उनको सहयोगी भावनाकै कारण धेरैले बंगलादेशमा उनलाई सोध्थे । नेपालमै रहँदा साथीहरुको आग्रहमा उनी एक रेष्टुरेन्टमा पुगेको थिएँ । त्यहाँ कुनै खराव नियत देखाएनन्, बरु सिन्धुपाल्चोकको चौतारा घर बताउने एक महिलालाई उद्धार गरे । उसलाई कस्मेटिक पसल राख्न सहयोग गरिदिएँ उनको आर्थिक स्थिती कमजोर भएको कारणले । पछि ती महिलाले उनको खुट्टामा नै ढोग्न खोजिन् । अहिले पनि उनले आफ्नो व्यवसाय सञ्चालन गरिरहेकी छिन् होला । एक आर्थिक विपन्न महिलालाई सहयोग गर्न पाएकोमा म अझै पनि गर्व महशुस गर्छु ।
प्रतिभावान पनि
४ वाट एकै पटक कक्षा ७ मा जम्प गरेका कारण त्यो कक्षामा केही समय कमजोर देखिएँ । तर मैले फेरी पनि मिहेनत गरेँ । अन्य कुरामा पनि चासो र रुची छ ।
वंगलादेशमा हुँदा एक म्यागेजिनको प्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्तिय अधिकृत भएर काम समेत गरेँ । त्यहाँ अध्ययनरत्त नेपाली विद्यार्थी संघको प्रकाशन “संगम”, जुन २५ बर्षदेखि १३ अंक प्रकाशित भएको थियो, त्यसलाई विभिन्न कलरमा ५ सय प्रति निकाल्यौँ । यसका लागिे १ लाख रुपैँया संकलन पनि गरियो । वंगलादेशमा नै रहँदा आफु भन्दा जुनियर ४ बर्षका विद्यार्थीलाई एनाटोमी विषय पढाएँ । वंगलादेशमा मलाई “भिसेरा किंग” को रुपमा चिन्छन् । गितारको लाइभ पर्फमेन्स दिएको छु । कक्षा १० मा पढेको सबै साहित्यकारको जन्म र मुत्यु मिति कण्ठै छ । धेरैका मोवाइल नम्वर कण्ठै छ ।
अवको बाटो समाजसेवा
वाल्यअवश्थामा धेरै दुख कष्ट बेहोरेकाले आफ्नो जस्तो दुख अरुले नभोगुन् भनेर समाजसेवामा लागेको हुँ । “मैले पाएको जस्तो दुख अरुले भोग्न नपरोस् ” समाजसेवामा नै लाग्ने उनको सोच उनले यसरी सुनाए । अव उनी स्वास्थ्य, शिक्षाको क्षेत्रमा सहयोग जुटाउने अभियानमा लाग्ने बताउँछन् । यसका लागि उनलाई सबै पक्षको सहयोगको आवश्यता छ । उनी परिवारको सहयोग र साथको अपेक्षा समेत गर्छन् । भन्छन्, “म जुन ठाँउमा छु, यो परिवारकै कारण हो, यसमा ममीको देन म भुल्न पनि सक्दिन । ” उनलाई यो अवश्थामा पु¥याउन खेलेको योगदान सम्झेर होला सायद, छुट्टिने बेलामा उनले भने, “ममी त मेरो लागि भगवान हो भनेर लेखिदिनुस् है । ”
(नगेन्द्र अधिकारीसँगको कुराकानीमा आधारित )
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |