logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

युवाहरु सिप सिक्दै तालिममा प्रवेशिका परिक्षा अनुतिर्ण, सामाजिक तथा आर्थिक रुपले विपन्न

प्रभातफेरी अनलाइन१६१२ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २९, आईतबार(१३ साल अघि)
युवाहरु सिप सिक्दै तालिममा प्रवेशिका परिक्षा अनुतिर्ण, सामाजिक तथा आर्थिक रुपले विपन्न

युवाहरु सिप सिक्दै
तालिममा प्रवेशिका परिक्षा अनुतिर्ण, सामाजिक तथा आर्थिक रुपले विपन्न १६ देखि ३५ उमेरसमुहका २० जना सहभागी छन् ।
नगेन्द्र अधिकारी ÷ बनेपा
उग्रतारा ६ का २८ बर्षीय शिवप्रसाद शर्माले २०६२ सालमा प्रवेशिका योग्यता परिक्षा (टेष्ट) दिए तर अनुतीर्ण भए । वैदेशिक रोजगारीमा कोरियाको इपिएस कोटा जान प्रयास पनि गरे तर नाम निकाल्न सकेनन् । त्यसपछि उनी घरमा नै बसेर खेतबारीको काम गर्दै आएका थिए । “हातमा सिप नभएपछि कतै अवसर पनि पाइदो रहेनछ” उनले भने “सिप सिकेर अब रोजगारी खोज्छु । ”
उनी अहिले विश्व बैँक, स्विस विकास नियोग र वेलायती सहयोग नियोगको सहयोगमा स्थानीय स्तरमा दिइने सिप तथा प्राविधिज्ञता (स्किल नेपाल) नामक संस्थाले बनेपामा सञ्चालन गरिरहेको “विल्डिङ्ग इलेक्ट्रिसियन ” को साढे २ महिनाको निशुल्क तालिममा सहभागी छन् ।
बेरोजगार युवाहरुले सिप सिकेर आयआर्जन गर्न सकुन् भन्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको संस्थाका प्रवन्ध निर्देशक महेश हाडाले जानकारी दिए । तालिममा प्रवेशिका परिक्षा अनुतिर्ण, सामाजिक तथा आर्थिक रुपले विपन्न १६ देखि ३५ उमेरसमुहका २० जना सहभागी भएको तालिमका स्थानीय संयोजक राजेश पोटेले जानकारी दिए । हाडाका अनुसार, संस्थाले सिप सिकेर व्यवसाय गर्न चाहनेका लागि संस्थाको सिफारिसमा विनाधितो समुह जमानीमा एनएमबी बैँकले २० देखि २५ हजारसम्म ऋण समेत उपलव्ध गराउनेछ । वैदेशिक रोजगारीको लागि अभिमुखिकरण र सहजिकरण समेत संस्थाले गर्ने उनले जानकारी दिए । “सिप सिकेर आयआर्जन गरुन् भन्ने हाम्रो उद्धेश्य हो, भरपर्दो र नाम चलेका म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीको लागि अभिमुखिकरण र सहजिकरण समेत हामी गछौँ । ”  उनले भने ।
२१ बर्षदेखि स्वरोजगारीको क्षेत्रमा काम गरिरहेको संस्थाले हेल्भेटास इन्टरकोअपरेशन नेपालको समन्वयमा विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरिरहेको छ । पहुँचभन्दा बाहिरका मानिसलाई घरदैलोमा नै बजारको माग अनुसारको निशुल्क तालिम दिने संस्थाको काम रहेको पनि उनले जानकारी दिए ।
तालिम पुरा गर्नेले राष्ट्रिय सिप परिक्षण समिति तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट “विल्डिङ्ग इलेक्ट्रिसियन ” को १ तहको प्रमाणपत्र समेत पाउनेछन् । प्रशिक्षक धनबहादुर राउत यसको बजार माग पनि उच्च भएकाले सहजै रोजगारी र आयआर्जन समेत गर्न सकिने बताउँछन् । “घरहरु बन्ने क्रम तिव्र छ, यसको माग उच्च भएकाले सिप हुनेले राम्रो आम्दानी गर्न सक्छन् , वैदेशिक रोजगारीमा पनि यसको राम्रो सम्भावना छ । ” उनले भने ।
तलिमका सहभागि पनि पछि व्यवसाय गर्ने सोच रहेको सुनाउँछन् । “सिप सिकेर अव व्यवसाय शुरु गर्छु भन्ने लागेको छ । ” बनेपा ४ का विनोद खत्रीले भने ।
वैशाख ९ गतेबाट शुरु भएको तालिम असार २५ गतेसम्म चल्नेछ ।