मेथिनकोट ÷ जिल्लाको मेथिनकोट गाविसको वडा नं.५, ६ र ७ स्थित भेंडाबारीमा विगत डेढ वर्ष देखि नरभक्षी बाघको आतंकले गाउँलेहरु त्रस्त बनेका छन् ।
त्यस यता २ जना बालकहरुलाई बाघले खाएपछि अहिले गाउँलेहरु त्रस्त भएका हुन् । तीन महिना अगाडी भेंडाबारीका केशव भुर्तेलका २ वर्षिय छोरा आँगनमा खेलिरहेको बेला सँसाँझै बाघले लगेर नजिकैको जंगलमा खाएको थियो । गाउँलेहरु खोजीको क्रममा जाँदा आधा शरिर खाईसकेको अवस्थामा भेटिएको थियो । गएको वर्ष पनि सोहि ठाउँका एक ५ वर्षिय बालकलाई बाघले खाएको थियो । स्थानियवासि बुद्धी प्रसाद भुर्तेलका अनुशार अहिले पनि यस ठाउँमा दिउसै बाघ कराउने गरेकोले कुनैपनि बेला मानिसहरुलाई आक्रमण गर्नसक्ने डर रहेको छ ।
पहिले–पहिले यहाँ बाघले घरपालुवा जनावरहरुलाई खाने गरेको थियो । तर अहिले त मानिसमा पनि विशेषगरि बालबालिकाहरुलाई बाघले आक्रमण गर्ने गरेको बताईएको छ । पछिल्लो डेढ दशक यता गाउँ वरिपरि जंगल बढेकाले बाघ लगायतका जंगली जनावरहरुको संख्या पनि वढेको र गाउँमा बाघ आतंक फैलिएको हुनसक्ने गाउँलेहरुको अनुमान छ । केहि बुढापाकाहरुका अनुशार गाउँ नजिकैको देवीमन्दिरमा पहिले–पहिले जस्तो पुजा–आजा हुन छोडेकाले यस्तो भएको बताउँछन् ।
गाउँका घरपालुवा जनावरका साथै मानिसहरु पनि सुरक्षित नभएको र कुनै पनि बेला जो सुकै पनि बाघको शिकार हुन सक्ने स्थानिय सिता भुर्तेलले बताइन् । पहिले–पहिले राती अबेर सम्म खेतबारीमा काम गर्नमै व्यस्त रहने गरेका कृषकहरु अहिले साँझ नपर्दै घरका ढोका थुनेर बस्ने गरेको उनको भनाई छ ।
गाउँमा बाघले धेरै नै सताउन थालेका कारण गाउँलेहरुले स्थानिय प्रहरीचौकीहरुमा गस्तिका लागि अनुरोध गरेका थिए । उनीहरुको अनुरोध अनुशार नै इलाका प्रहरी कार्यालय पाँचखाल, वालुवा र भकुण्डेवेंसिबाट हतियार सहितका प्रहरी टोलीहरुले गाउँमा सुरक्षा दिदैं आईरहेका छन् । तर गस्ति प्रहरीको टोली गाउँमा रहेसम्म बाघले कुनै दुःख दिंदैन र टोली चौकी फर्किए लगत्तै पुनः गाउँमा बाघले आफ्नो राज फैलाउने गरेको गाउँलेहरुले सुनाए ।
यसरी अनपेक्षीत रुपमा गाउँमा फैलिएको बाघ आतंकले अहिले मेथिनकोटमा ठूलै चर्चा पाएको छ । यसको नियन्त्रणको केहि उपाय नहुदा गाउँलेहरुले देवी रिसाएर यस्तो भएको अनुमानमा गाउँमा रहेको पुरानो देवी मन्दिरमा क्षमा पुजा गर्ने तयारी गरिरहेका छन् । यसरी पुजा गर्दा पनि बाघले सताउन छोडेन भने के गर्ने भन्ने अन्यौलमा रहेका गाउँलेहरु सँग नियन्त्रणको कुनै उपाय छैन । जसले गर्दा यसभेगका सयौं मानिसहरुलाई बाघ आक्रमणको चिन्ताले सताएको छ । गाउँमा अहिले पाटेबाघ र चितुवाले धेरै नै सताएको गाउँलेहरुले यस प्रतिनिधीलाई जानकारी गराएका छन् । यहाँ एकै समयमा विभिन्न ठाउँमा बाघ कराउने गरेका कारण बाघहरुको संख्या धेरै भएको हुनसक्ने बुद्धीप्रसाद भुर्तेल बताउँछन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |